भरतपुर प्रकरणमा एक साता भित्र च्यातिएका मतपत्र झिकाउन आदेश


चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा शुरु भएको बहसमा च्यातिएका मतपत्र एक साता भित्र झिकाउने आदेश भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलाशले मंगलबार त्यस्तो आदेश दिएको हो । बहसमा रिट निवेदकका तर्फबाट दुई जना वकिलले बहस गरेपछि सरकारी वकिलको धारणा लिएर इजलाशले त्यस्तो आदेश दिएको हो । इजलाशले निर्वाचन अधिकृतको कार्यालयको निर्णय पनि झिकाउने आदेश दिएको छ ।

इजलाशमा रिट निवेदकका तर्फबाट शम्भु थापा,टिकाराम भट्टराई र हरि उप्रेतीले बहस गर्नु भएको थियो भने निर्वाचन आयोगका तर्फबाट हरिहर दाहालले बहस गर्नु भएको थियो ।

सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले पुनमतदान गराउने निर्णय गरेको थियो । यसअघि न्यायधीश चोलेन्द्र शम्सेर राणाको इजलाशले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएमा पुनमतगणना हुनेछ भने राणाको अन्तरिम आदेशलाई खारेज गरेको अवस्थामा पुनमतदान हुनेछ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको थियो ।

आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो । यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ ।

दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको थियो । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए ।

साभारः अन्नपूर्णपोष्ट अनलाइन