नेपाल सात विकेटले विजयी


विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत काठमाण्डूमा भएको पाँचौ चरणको दोस्रो खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ।

जितसंगै नेपालले लिग माध्यमबाट सन् २०१९ मा हुने विश्वकपको छनोट चरणका खेलहरु खेल्ने संभावना गणितिय रुपमा खुला राखेको छ।

आठ राष्ट्र सम्मिलित लिगमा नेपाल ८ अंकका साथ छैटौं स्थानमा छ भने १० अंकका साथ केन्या पाँचौं स्थानमा छ।

अब नेपालले हङकङ र युनाइटेड अरब ईमिरेट्स संग खेल्न बाँकी छ।

पहिले फिल्डिङ

कीर्तिपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ४६.१ ओभरमा १५५ रनमा समेटेको थियो।

ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरीको अर्ध शतक सहित नेपालले तीन विकेटको क्षतिमा नै उक्त लक्ष्य भेटेको थियो।

पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका मल्लले ९३ बलमा ६४ रन बनाए। जसमा उनले ८ चौका र एक छक्का प्रहार गरेका थिए।

राम्रो ब्याटिङ

राष्ट्रिय टोलीबाट दोस्रो खेल खेलीरहेका दिपेन्द्र ऐरीले ६२ रनको योगदान दिए।

१४ रनमा दुई विकेट गुमाइ सकेको अवस्थालाई सुधार्दै मल्ल र ऐरीले तेस्रो विकेटको लागी १११ रनको साझेदारी गरेका थिए।

तेस्रो विकेटको क्षतिपछि क्रिजमा आएका शरद भेषावकरले आक्रमक ब्याटिङ गर्दै चार चौका र एक छक्का सहित अविजित २४ रन बनाए।

स्पिनर हावी

यसअघिको इनिंगमा स्पिनर भेषावकरले ७.१ ओभरमा २४ रन दिएर ४ विकेट लिएका थिए। यो विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाली बलरले लिएको सबैभन्दा बढि विकेट हो।

बसन्त रेग्मी र महबुब आलमले दुई / दुई विकेट लिएका थिए।

सन्दीप लामिछाने र सागर पुनले एक/ एक विकेट लिएका थिए।

ओपनर सुनिल धमलाले एक रन र दोस्रो नम्बरमा आएका सागर पुनले पाँच रन बनाए।

शनिबार वर्षाले प्रभावित पारेको पहिलो खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको थियो।

अब नेपालले हङकङ र युनाइटेड अरब ईमिरेट्ससंग खेल्न बाँकि छ।

साभारः विविसीले