फोहर व्यवस्थापन गर्ने ठाउँ बन्यो वन


%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a4%b0सुर्खेत, २६ पुस । फोहर व्यवस्थापनका लागि स्थायी ‘डम्पिङ साइट’को व्यवस्था नहँुदा वीरेन्द्रनगरका अधिकांश वन प्रदूषित बनेका छन् । शहर बजारबाट निस्कने फोहरलाई वन क्षेत्रमा लगेर व्यवस्थापन गर्ने गरेका कारण यहाँका धेरैजसो वन प्रदूषित बन्न पुगेका हुन् । बजार क्षेत्रबाट दैनिक रुपमा निस्कने फोहरमैलाको व्यवस्थापन गर्ने स्थान वन क्षेत्र बनाइँदा स्वच्छ हावा पाइने वन दुर्गन्धित बन्न पुगेका छन् । अहिले बजार क्षेत्रका फोहरमैला वनको आसपासमा लगेर व्यवस्थापन गर्ने गरिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको फोहरमैला व्यवस्थापन गर्ने कुरा सधैं टाउको दुखाइको विषय बनिरहेको छ ।

मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगर नगरपालिकासँग अहिलेसम्म स्थायी डम्पिङ साइटको व्यवस्था भएको छैन । नयाँ नगरपालिकाले डम्पिङ साइटको योजना बनाउन समेत भ्याएका छैनन् । यसैको सिधा असर वन क्षेत्रमा परेको हो । संस्थागत निर्णय गरेर कुनै पनि नगरपालिकाले वन क्षेत्रमा फोहर फालेका छैनन् । तर अघोषित रुपमा शहरी क्षेत्रको फोहर वनमा आउने गरेको छ । खासगरी रत्नराजमार्गसँग जोडिएको वन क्षेत्र र राजमार्ग छेउछाउका इलाका फोहरमैलाबाट बढी प्रदूषित भएका छन् ।

शहरी क्षेत्रमा फोहरमैलाको संकलन र व्यवस्थापन प्रणाली विकास नहुँदा त्यसको प्रभाव वन क्षेत्रमा परेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयक बताउँछिन् । अव्यवस्थित तरिकाले फालिने फोहरका कारण वन क्षेत्र कुरुप बन्दै गएको छ भने आम नागरिकमा समेत समस्या निम्तिएको छ । उनी भन्छिन,’ सुव्वाकुनादेखि भेरीपुलसम्म जाने रत्न राजमार्ग छेउछाउका वन क्षेत्र अहिले डम्पिङ साइट जस्तै बनेका छन् । यो वन क्षेत्र अहिले विभिन्न संघ÷संस्था, व्यक्ति र व्यवसायीको फोहर फाल्ने ठाउँ बनेको छ ।’ यहाँ जथाभावी फालिएका टुटेफुटेका काँच, ब्लेड, धातु, सिरिन्जलगायतले वन क्षेत्रमा जाने जो कोही पनि घाइते बन्ने अवस्था छ । फोहरकै कारण कतिपय वनमा त जानै नसक्ने अवस्था समेत छ ।

‘सडक छेउमा सिसालगायतका फोहर फालेको प्रस्टै देखिन्छ, फोहरका कारण जंगलभित्र जान पनि मन लाग्दैन,’ भेरी सामुदायिक वन उपभोक्ता समितिकी कोषाध्यक्ष चन्द्रकुमारी धामीले भनिन, ‘कतै सिसाले खुट्टा काट्छ कि भन्ने डर छ भने फोहरको दुर्गन्धले बिरामी हुने डर पनि यथावतै छ ।’ जथाभावी फोहर फालिँदा वनमा घाँस, दाउरा गर्न जाने र पशुचौपाया पनि निकै समस्यामा परेका छन् । सडक किनारको वन क्षेत्रमा सवारीसाधनले फोहर ल्याएर फाल्ने गरेको उनी बताउँछिन् ।
त्यसो त शहरी क्षेत्रमा उत्पादित फोहर व्यक्तिले बोरामा उठाएर वनमा फाल्ने प्रवृत्ति कुनै नौलो होइन । यो नियमित प्रक्रिया जस्तै देख्न पाइन्छ । सडकको दायाँबायाँ बोरा र प्लास्टिकमा फोहरको थुप्रो देखिन्छ ।ww

वनमा फोहर बढेपछि यो क्षेत्रका सामुदायिक वनहरुले नफाल्न आग्रह गरेपनि फोहर फाल्ने क्रम रोकिएको छैन । भेरी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष सुमित्रा कोइरालाले,’ ‘हामीले वनमा फोहर नफाल्न वीरेन्द्रनगर नगरपालिकालाई पटक–पटक आग्रह गर्दा समेत रोकिएको छैन् ।’ फोहरमा लगाईएको आगोले वातावरण प्रदुर्षित भई रुख विरुवा सुक्दै जाँदा ठूलै क्षति पुगेको उनी बताउँछिन् । यद्यपि वीनपाले उक्त वनमा फोहर फाले वापत बोट विरुवाको पुर्नःताजगी तथा वन हेरालुका लागि भनेर मासिक नौ हजार रुपैयाँ दिँदै आएको उनको भनाइ छ ।

जंगलमा फोहर फाल्नेलाई कारवाही हुने

जिल्ला वन अधिकृत हेमराज विष्टले वन क्षेत्रमा फोहर फाल्नेलाई कारवाही हुने बताएका छन् । उनले फोहर फाल्नु गैर कानुनी भएको भन्दै यसले क्रमश सरोकारवाला निकायबीच द्वन्द्व सृजना हुन सक्ने चिन्ता व्यक्त गरे । वन क्षेत्रमा फाल्ने फोहरका कारण वातावरणीयसँगै पर्यावरण र वन्यजन्तुमा समेत नकारात्मक असर पारेको विष्ट बताउँछन् । वन क्षेत्रमा फोहर फाल्नु वन क्षेत्र अतिक्रमण भित्र पर्ने भन्दै तत्काल यो कार्य नरोकिए जिल्ला वन कार्यालयले आवश्यक कदम चाल्छ,’ जिल्ला वन अधिकृत विष्टले भने । वन ऐन २०४९ अनुसार वन क्षेत्रको जग्गा सम्बन्धित निकायको सहमति विना अन्य प्रयोजनमा उपयोग गर्न नपाई कानून रहेको छ ।
यता वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले भने वन क्षेत्रमा शहरको फोहर फाल्नु रहर नभई बाध्यता रहेको बताए । उनले चालु आर्थिक वर्षभित्रै नपाले ‘ल्याण्डफिल साईट’ बनाइसक्ने दावी गरे । उनका अनुसार ल्याण्डफिल्ड साइट निर्माणका लागि हालसम्म तीन करोड बढी खर्च भईसकेको छ ।

‘आखिर फोहर फाल्ने कहाँ त ?’
वीरेन्द्रनगर नगरपालिकाका–१७, का दिलबहादुर खत्रीले भने, ‘विकल्प दिए वनमा फोहर आउने थिएन । फोहर फाल्ने ठाउँको अभावमा आम नागरिक यसो गर्न बाध्य भएका हुन् ।’ फोहरमैला व्यवस्थापनको स्थायी समाधानको उपाय नहुँदासम्म वनको खाली भागमा खाडल बनाउने र त्यसमा फोहर थुपारेर पुर्ने एउटा विकल्प हुन सक्ने एकथरिको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ स्थित कृष्ण सामुदायिक वन क्षेत्रमा फोहरमैला प्रशोधन केन्द्र बनाउने तयारी गरिरहेको छ । चर्चा धेरै भएको भएपनि यो परियोजनाले अहिलेसम्म मूर्तरुप लिन सकिरहेको छैन् । सुर्खेतमा सबैभन्दा बढी फोहर वीरेन्द्रनगरमा संकलन हुन्छ । नगरपालिकाले संकलित फोहर भेरीजाने बाटोको जंगलमा अघोषित रुपमा फोहर फाल्ने काम गर्दै आएको छ । रत्नराजमार्गका दायाँबायाँ वनमा फोहरका डङ्गुर देखिन्छन् । तीव्र गतिमा शहरीकरण भइरहेको वीरेन्द्रनगरमा फोहरमैला व्यवस्थापनको समस्या बढी भएको हो ।
केही वर्षअघिसम्म घरमै व्यवस्थापन हुने ठोस फोहर अहिले सडकमा देखिन थालेका छन् । जताततै घर बनेपछि खाली ठाउँको अभाव हुँदा यसअघि स्थानीयस्तरमै व्यवस्थापन हुने फोहर अहिले सार्वजनिक ठाउँमा देखिने गरेको हो । सीमित जग्गामा घर बनाउने र घरका कोठाहरु भाडामा दिने प्रचलन बढ्दै गएपछि फोहरमैलाको उत्पादन बढ्दै गएको स्थानीयवासीको भनाइ छ । तीव्र शहरीकरण र साँघुरो क्षेत्रमा घर बनाइनु नै फोहरमैला व्यवस्थापनका मुख्य चुनौती हुन् । ननगरपालिकामा अहिले कुला, खोल्सा, सार्वजनिक जग्गा, व्यक्तिका खाली जग्गामा फोहर थुपार्ने प्रवृत्ति बढेको छ । सीमित जग्गामा घर बनेकाले उत्पादित फोहर कुहाउने ठाउँसमेत कतिपय व्यक्तिको छैन । फोहर कुहिए पनि त्यसलाई प्रयोग गर्ने करेसाबारी छैन । यस्तो अवस्थामा व्यक्ति÷व्यक्तिले घरमा संकलन भएको फोहर विकल्पै नभएर वनमा ल्याएर फाल्ने गरेका हुन् ।

साभारः राराखबर अनलाइन