भारतीय बालगृहमा छट्पटाउँदै ३२ नेपाली बालक


nepali-child-580ac2230859d9.99458809सुर्खेतः भारत बिहार राज्यस्थित मुजफ्फरपुरको एक बालगृहमा पुर्‍याइएका ३२ जना नेपाली बालकले आफूहरूलाई घर फिर्ता गरिदिन आग्रह गरेका छन् । घरबाट भागेर र आफन्तको प्रलोभनमा भारत पुगेका पाँचदेखि १५ वर्षका बालकलाई त्यहाँको बालगृहमा राखिएको छ ।

आफन्तले मजदुरीका लागि लगेका नेपाली बालकलाई भारतको मुजफ्फरपुर जिल्लाको सिकन्दरपुरस्थित निर्देश नामको बालगृहमा राखिएको छ । विभिन्न होटेल र कारखानामा मजदुरी गर्दै आएका ती बाल श्रमिकलाई प्रहरीले संरक्षणका लागि बालगृहमा बुझाएको थियो ।

घरको ठेगाना बताउन नसक्ने उनीहरू अभिभावक पनि सम्पर्कमा नआएपछि बालगृहमै बस्न बाध्य छन् । तीन महिनासम्म उक्त बालगृहमा रहेका दैलेखका तीनजना बालकको भने उनीहरूका आफन्तद्वारा उद्धार गरिएपछि ३२ जनाको अवस्था सार्वजनिक भएको हो ।

आफन्तबाट ललाइफकाई भारत पुर्‍याइएका दैलेख दुल्लुका १४ वर्षीय सुन्दर वन, १५ वर्षीय सुरत गिरी र १५ वर्षीय टीकाराम पुरीलाई एक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरिएको हो । उनीहरूलाई शुक्रबार घर ल्याइएको छ । उनीहरूसँगै थुनिएका ३२ नेपाली बालक भने अहिले पनि बालगृहमै छन् ।

भारतीय बालगृहमा छट्पटाइरहेकाहरुके उद्वारका लागि आवश्यक कागजात नहुँदा समस्या ।

दैलेख, बाँके, पर्सासहित देशका विभिन्न जिल्लाका बालक बालगृहमा छट्पटाइरहेको र उनीहरूको उद्धारका लागि आवश्यक कागजात नहुँदा समस्या भएको छ ।

दैलेखका बालकको भारतबाट उद्धार गरी फर्किएका सामाजिक सेवा केन्द्र (सोसेक) का संस्थापक अध्यक्ष हीरासिंह थापाले भने, ‘अहिले पनि त्यो बालगृहमा ३२ नेपाली बालक बन्धक छन् । उनीहरू घर फिर्तीका लागि हारगुहार गरिरहेका थिए । आवश्यक कागजात नहुँदा हामीले उद्धार गर्न सकेनौं ।’

वीरगन्ज घर बताउने पाँच वर्षका एक बालकले आफूलाई हास्यकलाकार दीपकराज गिरीको भतिजका रूपमा चिनाउँदै घर फिर्तीका लागि हारगुहार गरेको थापाले बताए ।

अभिभावक, घरको ठेगाना र आवश्यक कागजात नहुँदा आफूहरूले उनीहरूलाई उद्धार गर्न नसकेको थापाको भनाइ छ । आवश्यक प्रमाण जुटाएर उनीहरूलाई पनि उद्धार गर्नका लागि आफूहरूले पहल थाल्ने उनको भनाइ छ ।

आर्थिक अभाव, प्रलोभन र आफन्तबाटै फकाएर लगिएका बालकहरू बालगृहमा छन् । होटेल र कारखानामा काम गर्दै आएका बालकलाई पक्राउ गरी प्रहरीले बालगृहमा बुझाएको हो ।

मध्यपश्चिमका पहाडी जिल्लाबाट आफन्तले नै विभिन्न प्रलोभन देखाएर बालबालिकालाई भारत ओसार्ने गरेका छन् । यसअघि पनि यस क्षेत्रबाट भारततर्फ लैजाँदै गर्दा बालबालिकालाई बीच बाटोबाटै उद्धार गरिएको थियो । यस क्षेत्रका पहाडी जिल्लाबाट आर्थिक अभावको फाइदा उठाउँदै आफन्तले नै बालबालिका ओसार्ने गरेका छन् ।

बालगृहबाट उद्धार गरिएका दैलेखका बालक टीकाराम पुरीले भने, ‘म होटेलमा काम गर्दै थिएँ । उमेर नपुग्दै काम गरेको भन्दै प्रहरीले बालगृहमा लग्यो । तीन महिनासम्म भित्रै थुनिएँ । बल्लबल्ल घरमा खबर पुगेपछि मुक्ति पाइयो ।’

उनले आफ्नो उमेरका अन्य बालक पनि बालगृहमा रहेको र घर फर्कन चाहेको बताए । तर अधिकांशलाई अभिभावक र घरका बारेमा जानकारी नै नभएको उनको भनाइ छ ।

बालगृहबाट उद्धार भएर छोरो घर आएपछि सुन्दरका बाबु दलबहादुर वनले छोराले नयाँ जीवन पाएको भन्दै खुसी व्यक्त गरे । आफन्तले नै आफ्नो छोरालाई ललाइफकाई भारत पुर्या‍‍एको उनको भनाइ छ ।

साभारः अन्नपूर्णपोष्ट