४ करोड लिएर पदाधिकारी फरार


कोहलपुर- जिल्लाका पाँच स्थानमा शाखा कार्यालय रहेको बाँके बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी, संकलनकर्ता र सञ्चालक समितिको मिलेमतोमा बचतकर्ताको चार करोड रुपैयाँ हिनामिना भएको छ। पाँच सयभन्दा बढी बचतकर्ताको रकम लिएर सञ्चालक समिति, कर्मचारी र संकलनकर्ता फरार छन्।
सहकारीको प्रधान कार्यालय नेपालगन्ज, शाखा कार्यालय कोहलपुर, खजुरा, राँझा, अगैयाका बचतकर्ताको रकम हिनामिना भएको हो। रकम डुबेपछि बचतकर्ताले इलाका प्रहरी कार्यालय कोहलपुरमा माघ १९ गते उजुरी दिएका छन्। सहकारीका पूर्वअध्यक्ष पवन बोहरा, नेपालगन्जका कार्यालयप्रमुख खिमु श्रेष्ठ, राँझा शाखाप्रमुख समीक्षा श्रेष्ठ, खजुराप्रमुख शेषमणि सापकोटा, अगैयाप्रमुख चन्द्रवती चौधरी, कोहलपुरप्रमुख कमला नेपाली, कर्मचारी सुशील श्रेष्ठ, सीता शाही, ज्ञानेन्द्र गुप्ता, संस्था अध्यक्ष टेकराज डाँगीले रकम हिनामिना गरेको भेटिएको छ। पैसा लिएर उनीहरू अहिले फरार छन्। बचतकर्ताले संयुक्त रूपमा सहकारीका बचत संकलनकर्ता टीका केसी, यमुना थापा, अप्सरा वली, वादली खत्री, प्रतिभा राना, लीला वली, टीका विक, मन्जु रोका, निर्मला पुन, अनिता वलीविरुद्ध जाहेरी दिएका छन्।

जाहेरीपछि इलाका प्रहरी कार्यालय, कोहलपुरले सहकारीका नेपालगन्ज प्रमुख खिमु श्रेष्ठ, पूर्वअध्यक्ष पवन बोहरा र खजुरा शाखाप्रमुख शेषमणि सापकोटालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध अनुसन्धान र छानबिन भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी राजिवबहादुर बस्नेतले बताए। सहकारीका पाँचवटा शाखा कर्मचारी, संकलनकर्ता र सञ्चालक समिति पदाधिकारीको मिलमतोमा ४ करोड रुपैयाँ ठगी भएको बताउँदै उनले विस्तृत जानकारीका लागि सहकारी डिभिजनबाट तथ्यांक लिने कार्य भइरहेको बताए। पाँचै शाखाका बचतकर्ताले रकम फसेको भन्दै प्रहरीमा उजुरी दिएको उनको भनाइ छ।
सहकारीमा बचत रकम लिन जाँदा ऋण लगानी गर्ने रकम नभएको, उक्त रकम जम्मा नगरी हिनामिना गरेको थाहा पाएपछि उजुरी हालिएको बचतकर्ता टीका केसीले बताइन्। उनले आफ्नो दुई लाख रुपैयाँभन्दा बढी रकम फसेको र बचतकर्ता, कर्मचारीले रकम उठाएर खातामा जम्मा नगरेको पाइएको जानकारी दिइन्। …बचत रकम माग गर्दा ऋण लगानी गरेका छौं भनी बहाना बनाए, ऋण लगानीको कागजात माग्दा आलटाल गरिरहे, हुँदाहुँदा हिसाबकिताब खोजी गरे ज्यान लिनेसम्मको धम्की दिए,’ उनले भनिन्। 
सहकारीका कर्मचारी, संकलनकर्ता र सञ्चालक समितिले आपसी मिलेमतोमा ४ करोड रकम ठगी गरेको कोहलपुरकी बचतकर्ता निर्मला पुनले बताइन्। उनीहरूलाई यथाशीघ्र पक्राउ गरी कारबाही हुनुपर्ने, आफूहरुको रकम फिर्ता हुनुपर्ने उनको माग छ।
यसैबीच बचतकर्ताको रकम ठगी भएपछि पीडितले सहकारीको हरहिसाबको खाता, कम्प्युटर, सिडी, हार्ड डिस्क, सफ्टवयर नियन्त्रणमा लिएका छन्। उनीहरूलेे रकम हिनामिना गर्नेलाई पक्राउ गरी मुलुकी ऐन ठगी महलअन्तर्गत हदैसम्म सजाय गरी बचत रकम बचतकर्तालाई फिर्ता दिलाइदिन माग गरेका छन्। प्रहरीले सहकारीका अन्य फरार कर्मचारी, संकलनकर्ता र सञ्चालक समितिको खोजी जारी रहेको जनाएको छ।
साभारः नागरिक न्यूज