भूकम्पपछि ताइवानमा उद्धार कार्य जारी


कम्तीमा १४ जनाको ज्यान जाने गरी ताइवानको दक्षिणी भेगमा गएको भूकम्पपछि त्यहाँ उद्धारकर्मीहरु ठूला भवनहरु रहेको क्षेत्रमा भग्नावशेष खोतलिरहेका छन्।
शनिबार बिहानै गएको ६.४ परिमाणको भूकम्पको केन्द्रविन्दु रहेको ताइनान शहरमा एउटा १७ तले घर भत्किएको थियो, जसमा अझै ३० जना मानिसहरु हराइरहेको बताइएको छ।
भूकम्पमा ज्यान गुमाउनेमा एक नवजात शिशु पनि छन्।

घाइते

झण्डै ५ सय घाइते मध्ये कम्तीमा ९२ मानिसहरु अस्पतालमा उपचाररत छन्।
राष्ट्रपति मा यिङ जिउले मानिसहरुको उद्धारका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन्।
सयौं सुरक्षाकर्मीहरु उद्धार कार्यमा खटिएका छन्।
२० लाख जनसंख्या रहेको ताइनान शहर पुगेपछि राष्ट्रपतिले भूकम्पका कारण बास गुमाएकाहरुलाई अस्थायी बासको व्यवस्था गरिने बताए।
उद्धारकार्यका लागि १६ वटा हेलिकप्टर र २३ वटा कुकुरहरुको प्रयोग गरिएको छ।
८ सय भन्दा बढी सुरक्षा फौजहरु उच्चस्तरको उपकरणसहित उद्धारकार्यमा जुटेका छन्।

उद्धार

टेलिभिजनमा प्रसारित दृश्यहरुमा उद्धारकर्ताहरुले भ-याङको प्रयोग गरेर व्यग्रतापूर्वक उद्धारको पर्खाइमा रहेका मानिसहरुलाई उक्त भवनबाट निकालिरहेको देखिन्छ।
अहिलेसम्म २ सय भन्दा बढी मानिसको उद्धार भइसकेको छ।
तर एकजना नवजात शिशु, एउटी बालिका र दुईजना वयस्क मानिसहरु भने बाँच्न नसकेको अधिकारीहरुले बताए।
भूकम्प जाँदा ती भवनहरुमा रहेका बाँच्न सफल मानिसहरुले उनीहरु भ-याङ र अन्य सामग्रीहरुको प्रयोग गरेर कसरी उक्त भवनबाट बाहिर निस्किएका थिए भनेर बताएका छन्।
एकजना महिलाले एउटा टेलिभिजनलाई आफूले ह्यामरको प्रयोग गरेर ढोका फुटाएको र त्यहाँबाट बाहिरिएको बताइन्।
अर्का एकजना मानिसले भने आफूले कपडाहरुको साँङ्लो बनाएर नवौं तलाबाट छैटौं तलामा झरेको बताए।
सो शहरबाहेक अन्यत्र भूकम्पका कारण कम्तीमा दुईजनाको ज्यान गएको छ।
कम्तीमा ३० जना मानिसहरु अझै उक्त भवनमा रहेको अनुमान गरिएको छ।
तर चिनियाँ नयाँ वर्षको अवसरका कारण मानिसहरु पारिवारिक जमघटका लागि भेला भएका हुँदा उक्त भवनमा मानिसहरुको संख्या अनुमान गरिए भन्दा बढी पनि हुनसक्ने अधिकारीहरुले बताएका छन्।
साभारः विविसी नेपाली