मृतक धेरै भएकाले क्षतिपूर्ति व्यहाेर्न सक्दैनाैं : अरनीकाे यातायात


काठमाडौँ, भदाै । काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिको कुरा नमिल्दा पीडितले शव बुझ्न मानेको छैनन् ।

क्षतिपूर्तिबारे मंगलबार दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भए पनि क्षतिपूर्तिको कुरा नमिलेकाले आफन्तले शव बझ्न नमानेका हुन् ।

मृतकका आफन्तले तेस्रो पक्ष बिमाबाहेक आफूहरूले समितिको तर्फबाट थप एक÷एक लाख क्षतिपूर्ति पाउनुपर्ने माग राखेपनि समितिले स्पष्ट उत्तर नदिँदा सहमति हुन नसकेको हो । वार्ता अाज बिहान पुनः बस्ने जनाइएको छ ।

समितिका अध्यक्ष जितबहादुर भारतीले तेस्रो पक्ष बिमाबाहेक समितिको तर्फबाट पीडितलाई थप क्षतिपूर्ति उपलब्ध गराउन नसकिने बताउँदै अाएका छन् । उनले भने “मृतक धेरै भएकाले हामीले थप क्षतिपूर्ति दिन सक्दैनौ, अबको हाम्रो लक्ष्य भनेको घाइतेको उपचारमा विशेष ध्यान केन्द्रित गर्नु हो । घाइतेको उपचारमा जति खर्च भए पनि समितिले बेहोर्छ ।”

वार्तामा समितिका सल्लाहकार एवम् वरिष्ठ उपाध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष नृपध्वज महत, उपाध्यक्ष केशवराज भारती, कोषाध्यक्ष राजकमार बस्नेत र पीडितका तर्फबाट सांसद तीर्थ लामा, विदुर सापकोटालगायत सहभागी थिए ।

मृतकका आफन्तले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मंगलबार दिउँसो धुलिखेल र बनेपामा सडक अवरुद्ध पारे पनि प्रहरीले बल प्रयोग गरी करिब आधाघण्टापछि बाटो खुलाएको काभ्रेका प्रहरी नायब उपरीक्षक नवीन राईले बताए ।
मृतकमध्ये २६ को शव सिरमेमोरियल अस्पताल बनेपा र एकजनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । दुर्घटनामा घटनास्थलमै २६ र उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण घटनास्थलमै गर्ने तयारी गरिएको भएपनि व्यवसायी र मृतकका आफन्तबीच क्षतिपूर्तिका विषयमा कुरा नमिलेपछि बनेपा ल्याइएको हो ।

साभारः नेपालीपत्र अनलाइन