सुर्खेतमा आजबाट ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप हुँदै


१४ असार, सुर्खेत । ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप आजबाट सुर्खेतमा हुँदैछ । ई स्पोर्टस् संघ नेपालको आयोजना र कर्णाली प्रदेश ई स्पोर्टस् संघको सह–आयोजनामा असार १४ र १५ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा यो प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा पब्जी मोवाईल, मोबाइल लेजेण्ड्स र ई फुटबल खेल समावेश गरिएको ई स्पोर्टस् संघ नेपालले जनाएको छ । प्रतियोगिताको छनोट चरणमा पब्जीमा १ सय ३६ टिम, मोबाईल लेजेण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडी सहभागि भएका थिए । छनौट चरणबाट अन्तिम चरणमा पुगेका पब्जी मोबाइलका १५ टिम सुर्खेत आएका छन् । स्थानीय टिमको रुपमा टिम कर्णालीले सिधै अन्तिम १६ मा प्रवेश पाएको छ ।  पब्जीको फाइनल शुक्रबार र शनिबार राति सुर्खेतको कौशिक भेन्युमा सञ्चालन हुनेछ । यस्तै मोबाइल लेजेण्ड्स र फुटबलको फाइनल बिहिबार राती र शुक्रबार अनलाइनमा हुनेछ ।

ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको कुल प्राईज १२ लाख रुपैयाँ रहेको छ । जसमा पब्जीमा ९ लाख, मोबाइल लेजेण्ड्समा २ लाख र ई फुटबलमा १ लाख रुपैयाँ राखिएको छ । यस बर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा सहयोग पु¥याउने उदेश्यले ई स्पोर्ट्सको पहिलो राष्ट्रिय प्रतियोगिताको लागि सुर्खेतलाई छनौट गरिएको हो । आधुनिक प्रबिधिको खेलको रुपमा विश्वभर उदाएको ई स्पोर्टसको राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट कर्णाली प्रदेशमा ठुलो प्रभाव छाड्ने अपेक्षा आयोजकले लिएको छ ।