वीरेन्द्रनगर नगरपालिकाको बजेट सार्वजनिक

वीरेन्द्रनगरको नीति तथा कार्यक्रम पनि सार्वजनिक


१० असार, सुर्खेत ।  कर्णाली प्रदेश राजधानीकाे राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकाे छ ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १५ औं नगर सभामा उप-प्रमुख निलकष्ठ खनालले आगामी आर्थिक वर्षका लागि ३ अर्व ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ बजेट सार्वजनिक गर्नुभएको हो ।

त्यस्तै १५औं नगरसभामा नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) वीरेन्द्रनगरको नीति तथा कार्यक्रम २०८१/०८२ सार्वजनिक गर्नुभएको छ ।

बजेटको पूर्णपाठ

आदरणीय नगर सभाका अध्यक्ष तथा सदस्यज्यूहरु,

         मुलक संघीय संरचनामा गए पश्चात सम्बत २०७९ साल बैशाख ३० गते स्थानीय तहको दोश्रो कार्यकालको लागि हामी निर्वाचित भएको २ वर्ष  पुरा भएको छ ।यसै सन्दर्भमा राष्ट्रिय एकता र अखण्डता कायम गरी सिंगो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राष्ट्रिय हितका खातिर देशको विभिन्न राजनैतिक तथा सामाजिक आन्दोलन सहित कर्णाली प्रदेशको प्राप्तिमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात सम्पूर्ण वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । साथै विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनको अग्रस्थानमा रहनुहुने सम्पूर्ण अग्रजहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छु।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १५ औं यस गरिमामय नगरसभाको बैठकमा नगर उप प्रमुखको हैसियतले आ.ब २०८१/०८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गर्न चाहन्छु ।

  • कोभिड १९ को महामारीले आक्रान्त पारेको अर्थ ब्यवस्थालाई नगरपालिकासंग भएको वित्तीय तथा संस्थागत क्षमताका आधारमा नगरपालिकालाई समृद्ध गराउन र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरुत्थान गर्न सकिन्छ भन्‍ने दृढ विश्‍वासका साथ म आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय व्यको विवरण सम्मानित सभासमक्ष प्रस्तुत गर्न चाहन्छु ।
  • यस नगरपालिकाका लागि चालू आर्थिक बर्ष २०८०।०८१ का लागि विनियोजित वजेटवाट २०८१ जेष्ठ मसान्तसम्म ६३.२७ प्रतिशत चालू र १९.२१ प्रतिशत पूजीगत खर्च गरी वजेटले परिलक्षित गरेका अधिकांश आयोजनाहरु कार्यान्वयनको अवस्थामा रहेता पनि नगर महत्वको भेरी पम्पीङ्ग आयोजना लगायत केही ठूला आयोजनाहरुको विभिन्न प्राविधिक कारणले समयमा वित्तिय प्रगती हुन नसक्दा कूल पूँजीगत खर्च प्रतिशत न्यून देखिएता पनि वडा तथा नगर स्तरका  ९० प्रतिशत पूर्वाधार आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन अवस्थामा रहेको जानकारी गराउन चाहन्छु ।
  • बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, नेपाल सरकारको पन्ध्रौँ योजना, संघीय सरकार तथा कर्णाली प्रदेश सरकारो बजेट वक्तव्य, कर्णाली प्रदेशको प्रथम आवधिक योजना, दिगो विकासका लक्ष्य,  विभिन्न ऐन नियम तथा स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ लगायतका कार्यविधिहरु, चुनावी घोषणापत्र र वीरेन्द्रनगर नगरपालिकाको नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारको रुपमा लिएको छु । यस नगरको दीर्घकालीन सोंच “शैक्षिक प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, समुन्‍नत वीरेन्द्रनगर” बाट निर्देशित हुँदै जनप्रतिनिधि, वुद्धिजिवी, पेशाविद् र आम नगरवासीबाट प्राप्त सुझावलाई समेत यथोचित महत्व दिएको छु ।

आदरणीय अध्यक्षज्यू एवं सदस्यज्यूहरु,

अब म नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ का लागि राजश्व तथा व्ययको अनुमान प्रस्तुत गर्न चाहन्छुः

सीमित स्रोत साधनले असीमित माग र बढ्दो आकांक्षालाई एकै पटक सम्बोधन गर्न नसकिने यथार्थमा नगरपालिकालाई नेपाल सरकार तथा प्रदेश सरकारवाट प्राप्त बजेट सिलिङ्ग र नगरको आन्तरिक आय  समेतलाई आँकलन गरी नगर प्रमुखवाट जारी भएका नीति तथा कार्यक्रमहरु प्राथमिकताका आधारमा कार्यान्वयन गर्नका लागि आर्थिक वर्ष २०८१/०८२ का लागि निम्नानुसार बजेट तर्जुमा गरिएको छ ।

बजेटको लक्ष्यः

     शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ अघि बढी वीरेन्द्रनगरलाई आर्थिक रुपले सम्पन्न,  भौतिक रुपले योजनावद्ध शहरी सुविधायुक्त, लैंगिक रुपमा महिला मैत्री,  सामाजिक रुपले समावेशी/सहभागितात्मक,  वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रुपमा निर्माण गर्दै कर्णाली प्रदेशको ब्यवस्थित राजधानीका रुपमा विकास गर्ने लक्ष्य लिईएको छ ।

बजेटका उद्देश्यहरुः

अब म आर्थिक वर्ष २०८१/८२ को बजेटका उद्देश्यहरु उल्लेख गर्न चाहन्छु ।

  • पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि र शहरी सौन्दर्यताका साथ जीवनयापन सहजता ल्याउने ।
  • स्वच्छ खानेपानी तथा सरसफाईमा नगरबासीको सहज पहुँचमा वृद्धि गर्दे नगरमा भएको खानेपानी समस्यालाई दीगो ब्यवस्थापनको थालनी गर्ने ।
  • कृषि तथा पशुपालन पेशा व्यवसायिक रोजगारमूलक तर्फ उन्मुख गराउनुका साथै महिलाहरुको संलग्नतामा विभिन्न उत्पादनमा नगरलाई आत्मनिर्भर उन्मुख वनाउने ।
  • नगरपालिकालाई प्रदेशकै प्रमुख शैक्षिक गन्तब्य बन्ने आधार तयार गर्ने ।
  • गुणस्तरीय विद्यालय शिक्षामा सवै बाल बालिकाहरुको समतामुलक पहुँच सुनिश्चित गर्ने ।
  • युवाहरुमा अनुशासन, सक्षमता र स्वाबलम्बनको विकास गर्न युवा प्रतिभा पहिचान तथा प्रबर्द्धनका कार्य गर्ने ।
  • राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक शहरका रुपमा व्यवस्थित आथित्यता प्रदान गर्दे स्थानीय पर्यटन प्रवर्धनको अवसरका रुपमा लिने ।
  • आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि र सुलभता ल्याउनुका साथै महिला र बालबालिका विशेषज्ञ अस्पतालको व्यवस्थित सञ्चालन गर्ने ।
  • विद्युतीय सुशासनको क्रमशः विस्तार गर्दै लैजाने ।
  • आगलागी नियन्त्रणका लागि थप क्षमताका लागि संस्थागत विकास गर्दे विपदजन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारीमा रहने ।
  • उद्यम व्यवसाय विकासमा महिलाहरुको अर्थपूर्ण सहभागितामा बृद्धि गरी आय आर्जनमा क्रियाशील गराउने ।
  • राजस्वको दायरा फराकिलो बनाउदै घर दैलो सेवा तथा विद्युतीय राजस्व संकलन प्रणाली मार्फत नगरको आन्तरिक आय वृद्धि गर्ने ।
  • श्रोतमा नै फोहरको वर्गीकरण गर्दे वातावरण मैत्री ढंगले फोहर मैला व्यवस्थापनको आधार तयार गर्ने ।
  • नगरको हरियाली प्रवर्धन कार्यलाई शहरी सौन्दर्य र आय आर्जनसंग जोडिने गरी योजनाबद्ध रुपमा अगाडी वढ्ने ।
  • समक्ष सापेक्ष संगठन तथा संस्थागत सुधार गर्दे उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्ने ।
  • संघीय सरकार र प्रदेश सरकारका नीति तथा कार्यक्रमसंग सहकार्य गरी विभिन्न योजना तथा कार्यक्रम संचालन गर्ने ।

सभाध्यक्षज्यू तथा सभा सदस्यज्यूहरु

माथि प्रस्तुत भएका उद्देश्यहरु पूरा गर्नका लागि देहाय बमोजमका क्षेत्रगत नीति अबलम्बन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

) राजश्व तथा वित्त व्यवस्थापन तर्फ

१.  आर्थिक वर्ष ०८१/०८२ का लागि स्वीकृत कर दस्तुरलाई समय सापेक्ष संशोधन सहित र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुट एवं सहुलियत दिने नीति लिईनेछ । आगामी आर्थिक वर्ष २०८१/०८२ मा कर प्रणालीमा सुधार गरी रु. ३६ करोड ८३ लाख ४ हजार (घर जग्गा रजिष्टेशन तथा दहत्तर वहत्तर वाहेक) संकलन गरिने लक्ष्य लिइएको छ ।

२.  नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सूचीभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडिबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किंङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभुति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिईनेछ ।

३.  नगरपालिकाले कानुन बमोजिम लिने घरवहाल कर, ब्यवसायकर जस्ता नगरका प्रमुख श्रोतका रुपमा रहेका करहरु प्रत्येक वडा कार्यालयवाट टोल विकास संस्था तथा निजी क्षेत्रसंगको सहकार्यमा कर संकलन गरिनेछ । यसरी संकलित ब्यवसाय कर र घरवहाल करवाट प्राप्त रकमको १५ प्रतिशत रकम वडा कार्यालयलाई कर असुलीमा सहयोग गर्ने टोल तथा नीजि क्षेत्रलाई माग अनुसारका आवश्यक पूर्वाधार, सडक वत्ती,  सरसफाई,  विपद् व्यवस्थापन र अत्यावश्यक सार्वजनिक सेवा ब्यवस्थापन तथा राजस्व असुलीका कार्यक्रम संचालन गर्न प्रोत्साहन अनुदान उपलब्ध गराइने छ । राजस्व वृद्धिका लागि कर्मचारी,  टोल विकास संस्था र नीजि क्षेत्र परिचालनका लागि लागि रु. ५१ लाख बजेट विनियोजन गरिएको छ ।

  ख) पूर्वाधार विकास तर्फ

४.  उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरीको पानी लिफ्टिङ्ग आयोजना अगाडि वढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरुसंग सहकार्य गर्न आवश्यक रु. १० करोड म्याचिङ फण्डको ब्यवस्था गरिएको छ ।

५.  वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ,  खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तार तथा खानेपानी प्रणाली सुधारको लागि वडास्तरीय कार्यक्रम मार्फत यथोचित बजेट विनियोजन गरिएको छ ।

६.  कर्णाली प्रदेशको राजधानीको अस्तित्वलाई विशेष ध्यान दिंदै राजधानी केन्द्रित शहरी सौन्दर्यताका पूर्वाधारहरुलाई विशेष जोड दिदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकावाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किड स्थल निर्माणका लागि रु. ७ करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासका लागि २५ करोड ८५ लाख ५० हजार वजेट विनियोजन गरेको छु ।

७.   शहरी पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा,  सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउन विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडामा कम्तिमा एक वटा ५० लाख भन्दा ठूला नगर गौरव पूर्वाधार आयोजना हुने गरी प्रत्येक वडामा ९० लाख भन्दा वढीका पूर्वाधार विकासको वजेट ब्यवस्था मिलाएको छु ।

 

) सामाजिक विकास तर्फ

८.  यस नगरपालिकालाई शैक्षिक हबको गन्तव्यका रुपमा विकास गर्दै गुणस्तरीय विद्यालय शिक्षामा सवै बालबालिकाहरुको समतामुलक पहुँच सुनिश्चित गर्न सशर्त बाहेक ६ करोड ४७ लाख ९२ हजार विनियोजन गरेको छु ।

९.  नगरपालिकाका युवाहरुको क्षमता विकास गर्न तथा युवाहरुलाई नगर समृद्धिको अभियानमा परिचालन गर्नका लागि नगर उपप्रमुख युवा विकास कार्यक्रम सञ्चालन गर्नका लागि रु. ४० लाख विनियोजन गरेको छु । समग्र खेलकुद क्षेत्रको प्रबर्धनसहित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने कार्यक्रमसहित युवा तथा खेलकुद क्षेत्रमा कुल १ करोड ४२ लाख ७५ हजार विनियोजन गरेको छु ।

१०. आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि र सुलभता ल्याउनुका साथै विभिन्न महामारीसंग सामना गर्न सक्ने स्वास्थ्य संस्था वनाउन सशर्त बाहेक २ करोड ५५ लाख ५८ हजार र महिला बालबालिका नगर अस्पताल सञ्चालन गर्न रु १ करोड १० लाख बजेट विनियोजन गरेको छु ।

११. विकास प्रकृयामा महिला, दलित, जनजाति, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा बृद्धि गर्दै अर्थपूर्ण सहभागितामा बृद्धि गराउन, युवाहरुमा अनुशासन, सक्षमता, स्वावलम्वन, भविष्यप्रति सम्वेदनशीलताको विकास गर्न विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालनका लागि सशर्त बाहेक नगरस्तरीय वजेट १ करोड १६ लाख ३० हजार सहित वडा स्तरमा समेत यस प्रकारका कार्यक्रम संचालन गर्न यथोचित वजेटको ब्यवस्था मिलाएको छु ।

१२. कर्णाली प्रदेशका सबै स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीहरुको प्रदेशस्तरीय सम्मेलन आयोजना गर्नका लागि रु. १० लाख विनियोजन गरेको छु ।

) आर्थिक विकास तर्फ

१३.  कृषि व्यवसायमा महिलाहरुको सहभागितामा बृद्धि गर्दै कृषि तथा पशुपालन पेशा व्यावसायिक रोजगारमूलक तर्फ उन्मुख गराउनुका साथै देशमा उत्पन्न हुन सक्ने खाद्य संकटसंग सामना गर्दे नगरलाई विभिन्न उत्पादनमा आत्मनिर्भर वनाउन मेयरसंग महिला किसान कार्यक्रम संचालन गर्न रु. १ करोड ६० लाख सहित कृषि तथा पशु विकासतर्फ नगर र वडातहवाट कार्यक्रम संचालन गर्न यथोचित वजेट ब्यवस्था  गरेको छु ।

१४. युवाहरुलाई उद्यम ब्यवसायमा उत्प्रेरित गर्दे युवा उद्यमी तथा ब्यवसायी तयार गर्न नगर प्रमुख उद्यम दायित्व साझेदारी कार्यक्रम सञ्चालन गर्न समेत यथोचित वजेट ब्यवस्था गरिएको छ ।

१५.  चालु आर्थिक बर्षभित्र नगरभित्रका भूमीहिनहरुलाई पूर्जा वितरणको कार्य गर्न सो को व्यवस्थापनका लागि रु. १ करोड ११ लाख विनियोजन गरेको छु ।

१६.  सहकारी, घरेलु, उद्योग, पर्यटन प्रवर्द्धन र युवा उद्यमजस्ता कार्यक्रमका लागि नगर स्तरीय बजेटवाट रु. ६१ लाख ५० हजार व्यवस्था गर्दे प्रत्येक वडामा यस क्षेत्रमा लगानी गर्न यथोचित बजेटको विनियोजन गरेको छु ।

) वन, वातावरण तथा विपद् व्यवस्थापन

१७. श्रोतमा नै फोहरको वर्गीकरण गर्दे वातावरणमैत्री ढंगले फोहर मैला व्यवस्थापनको आधार तयार गर्न रु. ८८ लाख ८७ हजार विनियोजन गरेको छु ।

१८. नगरको हरियाली प्रवर्धन कार्यलाई शहरी सौन्दर्य र आय आर्जनसंग जोडिने गरी योजनाबद्ध रुपमा अगाडी वढाउन रु. ६२ लाख विनियोजन गरेको छु ।

१९.   आगलागी नियन्त्रणका लागि थप संस्थागत क्षमता विकास गर्नका लागि दमकल खरिद गर्न रु. ८० लाख सहित विपदजन्य जोखिम न्यूनिकरणका लागि पूर्व तयारीमा रहन थप रु. ३३ लाख ५० हजार विनियोजन गरेको छु ।

२०.   वन वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरु संग समन्वय एवं सहकार्य गर्ने गरी वडा तथा नगर स्तरवाट कार्यान्वयन हुने गरी यथोचित बजेट विनियोजन गरेको छु।

) सार्वजनिक सेवा तथा क्षमता विकास

२१.   समय सापेक्ष संगठन तथा संस्थागत सुधार गर्दे उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्न रु. ९८ लाख ९५ हजार विनियोजन गरेको छु ।

२२.   नगरको स्थानगत आवधिक योजना, प्रोफाईल निर्माण, सुशासन प्रवर्द्धन, कर्मचारी पदाधिकारीहरुको क्षमता विकास, सञ्चारकर्मीको प्रोत्साहन तथा मिडिया परिचालन गर्न  र न्यायिक सेवा व्यवस्थापन गर्न यथोचित बजेटको व्यवस्थापन गर्दै सार्वजनिक सेवा तथा क्षमता विकास क्षेत्रमा वडा तथा नगर स्तरवाट कार्यान्वयन हुने गरी सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ यथोचित वजेटको विनियोजन गरेको छु ।

२३.   नगरको सेवालाई नियमन गर्न नगर प्रहरी नियक्ति गरी परिचालन गर्न चालूतर्फको बजेटबाट समेत यथोचित बजेट ब्यवस्था गरेको छु ।

२४. कर्णाली प्रदेशका सबै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको प्रदेश स्तरीय सम्मेलन गर्नका लागि रु १० लाख विनियोजन गरेको छु ।

आदरणीय नगर सभाका सभा अध्यक्षज्यू तथा सदस्यज्यूहरु,

अव म आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कार्यान्वयको लागि स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत निम्न अनुसार रहेको छ ।

१.   संघीय वित्तीय सामानीकरण अनुदान रु. २४ करोड १२ लाख

२.   संघीय सर्शत अनुदान रु. १ अर्व ६९ करोड २८ लाख ५१ हजार ३६

३.   संघीय राजश्व बाँडफाँड रु. १८ करोड ९८ लाख ८१ हजार ९०

४.   संघीय सरकार विशेष अनुदान पूँजीगत रु. १ करोड ५० लाख

५.   संघीय सरकार समपूरक अनुदान पूँजीगत रु. १ करोड,

६.         संघिय सरकार रोयल्टी रु. ८ लाख १८ हजार  ८ सय ७३

७.   प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु. २ करोड ९९ लाख १४ हजार

८.   प्रदेश सशर्त अनुदान रु. २८ करोड १३ लाख ३८ हजार

९.   प्रदेश राजश्वव बाँडफाँड रु. ६४ लाख ७५ हजार १ सय ४८

१०.      घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन रु. १४ करोड ३६लाख ५८ हजार ८ सय ५२

११.      दहत्तर वहत्तर शुल्क रु. २ करोड ५० लाख

११.  नगरपालिकाको आन्तरिक आय रु. ३६ करोड ८३ लाख ४ हजार

१२.  आर्थिक बर्ष २०८०/०८१ को खर्च नभई मौज्दात रहने रकम बाट रु. १८ करोड ७४ लाख २८ हजार

१३.  सामाजिक सुरक्षा अनुदान रु. ४० करोड

 कुल बजेट ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ मात्र आगामी आर्थिक बर्षका लागि प्रस्ताव गरिएको छ ।

सभाध्यक्ष एवम् नगर सभा सदस्यज्यूहरु,

अब म आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कार्यान्वयनको लागि स्रोत व्यवस्थापनको विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु. ३१ करोड ५० लाख
  • खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि रु. १० करोड
  • वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु. १७ करोड २० लाख
  • मेयरसंग महिला किसान कार्यक्रमका लागि रु. १ करोड ६० लाख
  • वडास्तरीय नगर गौरव आयोजनाका लागि रु. ८ करोड
  • नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु
    • कृषि विकास कार्यक्रम तर्फ रु.५६ लाख ५० हजार
    • पशुपन्छी विकास कार्यक्रम तर्फ रु. ४५ लाख ६० हजार
    • उद्यम सहकारी तथा उपभोक्ता हित तर्फ रु. ६१ लाख ५० हजार
    • जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पताल तर्फ रु. ४ करोड ५ लाख ५८ हजार
    • महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गतर्फ रु. १ करोड १६ लाख ३० हजार
    • शिक्षा, युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार
    • वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापन तर्फ २ करोड ६४ लाख २० हजार
    • सार्वजनिक सेवा तथा सुशासन तर्फ २ करोड १७ लाख ४५ हजार
    • नगर स्तरीय विविध पूर्वाधार विकास तर्फ २५ करोड ८५ लाख ५० हजार
  • कृर्षि, पशु, खानेपानी, शुसासन तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार, झोलुङ्गे पुल जस्ता कार्यक्रमका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रु. १ अर्व ६९ करोड २८ लाख ५१ हजार,
  • संघीय सरकारबाट प्राप्त विशेष अनुदान रु. १ करोड ५० लाख
  • संघीय सरकारबाट प्राप्त आयोजना तथा कार्यक्रमहरुका लागि समपूरक अनुदान रु १ करोड
  • प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रु. २८ करोड १३ लाख ३८ हजार
  • संघीय सरकारबाट प्राप्त सामाजिक सुरक्षा कार्यक्रमका लागि रु. ४० करोड

यसरी आर्थिक बर्ष २०८१/०८२ का लागि चालू तथा पूँजीगत खर्च गर्नका लागि कुल बजेट रु. ३ अर्व ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ विनियोजन गरेको छु।

जसमा आर्थिक बर्ष २०८१/०८२ मा चालू, पूँजीगत र वित्तीय व्यवस्था यस प्रकार रहेको छ ।

क्षेत्र बजेट रकममा रु. प्रतिशत
चालू १,७५,७३,६८,९९९ ४८.९३
(एक अर्ब पचहत्तर करोड त्रिहत्तर लाख अठसट्ठी हजार नौ सय उन्नसय मात्र)
पूँजीगत 1,8३,४५,०००००। ५१.०७
(एक अर्व त्रियासी करोड पैतालिस लाख मात्र)
वित्तीय ब्यवस्था

आदरणिय नगर सभाका सभा अध्यक्षज्यू तथा सभा सदस्यज्यूहरु,

यस बजेटको कार्यान्वयनबाट विगतको अथक प्रयासबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै, सबै नगरबासीका लागि अति आवश्यक पूर्वाधार निर्माण,  सामाजिक न्याय,  आधारभुत शिक्षा एवं स्वास्थ्य सेवामा पहुँच लगायत शहरी सौन्दर्यमा टेवा पुगी नगरपालिकाको सबै क्षेत्रको दिगो एवम् सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास लिएको छु ।

अन्तमा,

बजेट कार्यान्वयनमा विगतमा झै सबै जनप्रतिनिधिज्यूहरु, राजनीतिक दल,  निजी व्यावसायिक क्षेत्र, संघ संस्था एवं नगरबासी सम्पूर्ण दिदीबहिनी र दाजुभाईहरुबाट सहयोग हुने अपेक्षा लिएको छु। बजेट तर्जुमा गर्ने क्रममा महत्वपूर्ण सल्लाह सुझाव दिनुहुने सबै राजनैतिक दल, जनप्रतिनिधि, निजी व्यावसायिक क्षेत्र, संघ संस्था सम्पूर्ण नगरवासी दाजुभाई दिदी बहिनी, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण कर्मचारी साथीहरु लगायत पत्रकार जगत सवैलाई हार्दिक धन्यबाद व्यक्त गर्दै बजेट कार्यान्वयनमा समेत सबैबाट पूर्ण रुपमा सहयोग हुने अपेक्षा लिएको छु ।

धन्यवाद ।

मितिः २०८१/०३/१० गते सोमवार

                                              निलकण्ठ खनाल

                                              उप-प्रमुख

नगरप्रमुख ढकालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम २०८१/०८२

आदरिणय नगर सभाका सदस्यज्यूहरु,

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएको नगरपालिका हो । यस नगरपालिकाको दोश्रो निर्वाचन पश्चात पाँचौ तथा हालसम्मको पन्ध्रौं नगर सभामा सम्बोधन गर्न पाउदा गौरवान्वित भएको छु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राष्ट्रिय हितका खातिर देशको विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात सम्पूर्ण वीर शहिदहरु तथा कर्णाली प्रदेश स्थापनाका लागि ज्यान आहुति दिने शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनको अग्रस्थानमा रही योगदान पुर्याउनुहुने सम्पूर्ण अग्रजहरुप्रति सम्मान व्यक्त गर्दछु ।

कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको यस नगरपालिकालाई प्राप्त श्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रलाई अगाडि बढाएका छौं । नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पुर्याउन सफल यो नगरपालिका भएको हुँदा यस नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने हाम्रो योजना रहेको छ । राजधानीको रुपमा रहेको यो नगरपालिका प्रचुर सम्भावना भएको क्षेत्र हो । दिनप्रति दिन उच्च जनसंख्या बृद्धिको अवस्था रहेको यस नगरपालिकामा सिमित श्रोत र साधनका कारण समुदायको आकांक्षालाई पूर्ण सम्बोधन गर्न सकिएको छैन । तर पनि नगरपालिकाका सामु उपलब्ध सिमित श्रोत र साधनबाट आशातित नतिजा हासिल गर्नुको विकल्प छैन ।

समृद्ध वीरेन्द्रनगर, सुखारी वीरेन्द्रनगरवासीको आम आकांक्षालाई आत्मसाथ गर्दै यस नगरसभाबाट आर्थिक बर्ष २०८१/०८२ मा नगरपालिकाले अबलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमहरुलाई प्रस्तावको रुपमा यस सम्मानित सभा समक्ष स्वीकृतीका लागि पेश गर्न चाहन्छु ।

राजश्व तथा वित्त व्यवस्थापन

  • गत विगतका लागि स्वीकृत कर दस्तुरलाई आधार मानी बर्तमान अवस्थामा समयसापेक्ष वृद्धि गरी करदाता र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुट एवम् सहुलियत दिने नीति लिइएको छ । करको दरभन्दा पनि दायरालाई फराकिलो वनाउने गरी आर्थिक ऐनलाई परिमार्जन गरिनेछ ।
  • राजस्व सुधार अभियानलाई प्रभावकारी बनाउदै नगरलाई आत्मनिर्भर तर्फ लगिनेछ ।
  • नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सूचीभित्र पर्ने विभिन्न करको क्षेत्रलाई फराकिलो पार्दै कर संकलन कार्यलाई अभियानकै रूपमा अगाडि बढाइनेछ ।
  • नगरपालिका क्षेत्रभित्रका घरहरुको मापदण्ड तयार गरी न्यूनतम कोठा तथा घर भाडा दर तोकी घरवहाल कर प्रचलित कानून अनुसार वडा तथा टोल विकास संस्थाहरुलाई समेत परिचालन गर्दै कर संकलन कार्यलाई थप प्रभावकारी बनाईनेछ ।
  • व्यापार व्यवसाय कर संकलनलाई प्रभावकारी बनाउन हाल सम्म ब्यवसाय कर नवुझाएका ब्यवसायीलाई करको दायरामा ल्याउनका लागि प्रभावकारी नीति अबलम्बन गरिनेछ ।
  • घरवहाल कर, व्यवसाय कर जस्ता महत्वपूर्ण अधिकार क्षेत्र भएको कर असुली दरमा प्रभावकारीता ल्याउन राजश्व संकलन सुधार कार्ययोजनालाई समय सापेक्ष बनाई सोही अनुरुपका कार्यहरु गरिनेछ ।
  • कर संकलन कार्यलाई प्रविधिमैत्री बनाउदै नगर तथा वडामा कार्यरत कर्मचारीहरुलाई विभिन्‍न क्षमता विकास तथा प्रविधिमैत्री तालिमहरु सञ्चालन गरिनेछ ।
  • नगरपालिकालाई तिर्नुपर्ने कर दस्तुर तिरेका व्यवसायीहरुबाट मात्र वस्तु तथा सेवाहरु खरिद गरिने कार्यलाई निरन्तरता दिइनेछ ।
  • अपाङ्गमैत्री व्यक्तिगत भवन निर्माणको नक्शापास दस्तुरमा २५ प्रतिशत छुट दिने तथा घरको पानी आफ्नै घर परिसर व्यवस्थापन गर्ने घरधनीलाई समेत १० प्रतिशत नक्शापासमा छुट सहित सम्मानको नीति लिइनेछ ।
  • अपाङ्ग/गरीव/असहाय/विपन्‍न/आर्थिक अवस्था कमजोर भएकालाई उपचार सहुलियत, गरीव तथा जेहन्दार छात्रवृत्ति जस्ताको सिफारिस निःशुल्क गरिनेछ ।
  • महिला दलित अपाङ्ग यौनिक अल्पसंख्यक व्यक्तिद्वारा स्थानीय कच्चा पदार्थमा आधारित व्यापार व्यवसाय तथा घरेलु उद्योगमा १० प्रतिशत कर छुट दिने नीति लिइएको छ ।
  • सामुदायिक वन उपभोक्ता समितिहरुले वन पैदावार विक्रीवापत गर्ने आयको १० प्रतिशत पालिकामा वुझाउन लगाउंदै उल्लेखित आयबाट हरियाली प्रवर्द्धनका गतिविधि गर्न सामुदायिक वन उपभोक्ता समितिहरुसंग सहकार्य गरिनेछ ।
  • नगरपालिकाले लिंदै आएको सम्पत्तिकरलाई बैज्ञानिक र वस्तुपरक वनाई प्रगतिशील करको मान्यतालाई आत्मसाथ गर्दै कर प्रणालीलाई प्रभावकारी वनाउंदै छुटेका सम्पत्तिहरुलाई समेत समावेश गरी अनिवार्य रुपमा कर असुलीलाई प्रभावकारी वनाइनेछ ।

) पूर्वाधार विकासतर्फ

  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका एक मात्र सुगम नगरपालिका हो । राजस्व पूर्वाधार र जनसंख्याको आधारमा उपमहानगरपालिका सरह भएको र सबै मापदण्ड पूरा भएको हुँदा यसलाई उपमहानगरपालिकामा स्तरन्नोति गर्न कर्णाली प्रदेश सरकारमार्फत नेपाल सरकारलाई अनुरोध गरिनेछ ।
  • उपत्यकाको खानेपानी दिगो व्यवस्थापन गर्न राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना निर्माण प्रक्रिया प्रारम्भ भएको छ । आगामी तीन बर्षमा कार्यसम्पन्न गरी खानेपानी व्यवस्थापन गर्न तीब्रताका साथ कार्य अघि बढाइनेछ । साथै तत्काल खानेपानीको वैकल्पिक माध्यम, मुल सुधार, पानी वितरण प्रक्रियामा सुधार र डिप बोरिङ व्यवस्थापन गरिनेछ ।
  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई राजधानी केन्द्रित पूर्वाधार विकास आयोजना लागू गरिनेछ ।
  • वीरेन्द्रनगरका मुख्य बजार पार्किङ व्यवस्थापन घण्टाघर पार्क निर्माण र घण्टाघर पश्चिम खुल्ला पार्क निर्माण घण्टाघर दक्षिण पार्क निर्माण यसै बर्ष कार्य प्रारम्भ गरी व्यवस्थित सहर निर्माण गरिनेछ ।
  • नगरपालिकाका मुख्य सडकहरुको फुटपाथ अतिक्रमण हटाई व्यवस्थित फुटपाथ निर्माण गरिनेछ ।
  • हालको सिटि बसपार्क पश्चिमपछि रहेको घेराबार गरेको खुल्ला ठाउँलाई पार्किङ निर्माण गरी वसपार्क विस्तार गरिनेछ ।
  • वीरेन्द्रनगरको मुख्य बजार ट्राफिक व्यवस्थापनको लागि मंगलगढी चौकमा आकासे पुलको निर्माण कार्य अगाडि बढाइनेछ ।
  • नगरभित्रका ऐतिहासिक चौतारीलाई थप सुन्दर बनाई संरक्षण गर्न चौक सुधार अभियान निरन्तर अघि बढाइनेछ ।
  • वडा नंबर ८ मा अतिक्रमण हटाई निर्माणाधीन पार्कहरुलाई यस बर्ष पूर्णरुपमा निर्माण कार्य सम्पन्न गरी शहरी सौन्दर्यता बढाइनेछ ।
  • नगरपालिकाको नगर गुरुयोजनाले समेटिएका र नगर गुरुयोजना नभएका बाटोहरु पनि समेटी सडक गुरुयोजना तयार गरी सडक लगत कट्टा सहित निर्माण कार्य अघि बढाइनेछ ।
  • पर्यटकीय क्षेत्रहरु घण्टाघर बुलबुले काक्रेविहार देउती बज्यै गढी जर्बुटा र रानीघाटलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन पूर्वाधार विकास अघी बढाइनेछ ।
  • नीजि क्षेत्रसंग साझेदारी गर्दै पूर्वाधार विकास तथा व्यावसायिक योजना निर्माण गरी अघि बढाइनेछ ।
  • नगरपालिकाका १६ वटै वडाहरुको सन्तुलित विकास गर्नका लागि सबै वडाहरुमा ५० लाख बराबरका वडा गौरवका आयोजनाहरु सञ्चालन गरिनेछन् ।
  • यस नगरपालिकामा बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै घनावस्ती भएका वडाहरुमा खानेपानी ढल यातायात सार्वजनिक शौचालय लगायतका भौतिक पूर्वाधारको विकासलाई विशेष प्राथमिकतामा राखिनेछ ।
  • कर्णाली प्रदेशको राजधानी भएसंगै यस नगरपालिकामा आन्तरिक बसाइँसराइका कारण बढेको जनसंख्यालाई व्यवस्थित गर्दै त्यसलाई मानव पूँजीको रुपमा प्रयोग गर्न नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्नेछ ।
  • धुलियाविट वांगेसिमल सडक लगायत सवै वडाका प्रमुख चोकहरुमा सोलार सडक वत्ति जडान गरी उज्यालो नगर अभियान अगाडी वढाइनेछ ।
  • कर्णाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको कार्य अगाडि बढाइनेछ ।
  • एरिचोक र विरेन्द्र चोकमा ट्राफिक लाइट समेत ब्यवस्थापन गरिनेछ ।
  • नगरभित्र सवारी चाप भएका सडकहरुको ट्राफिक म्यापिङ गरी ट्राफिक संकेतहरु राखिनेछ ।
  • जग्गा खरिद गर्ने जनतालाई सम्पूर्ण सूचनाहरु ब्यापक रुपमा सम्प्रेषण गरिने छ । जग्गाको मोहडालाई (चौडाईलाई) मुख्य बाटो मानी लम्बाई तर्फकोमा ०.५० मि. मात्र सेटव्याक मात्र छाडी घर निर्माण स्वीकृति प्रदान गरिने नीति अवलम्बन गरिनेछ ।
  • वहुतले भवन (Multistory Building) हरुको स्वीकृतिका लागि संघिय कानूनलाई आधार मानी कार्यविधि तयार गरिने छ ।
  • सडक गुरुयोजना (MTMP) को प्रतिवेदन र चलनचल्तीको बाटोलाई समेत आधार मानी सो नछुट्ने गरी बाँकी रहेका जग्गाहरुमा घर निर्माण सम्बन्धी स्वीकृति दिने र नगरपालिकाको मापदण्ड अनुसार हुन नगएमा गल्लीको रुपमा व्यवस्थापन गरिने छ ।
  • ६ मिटरभन्दा कम चौडाई भएका चलनचल्तीका सडकहरुलाई गल्ली बाटोको रुपमा विकास गरिने छ ।
  • यस आर्थिक बर्षदेखि बार्षिक रुपमा सिपयुक्त डकर्मीहरु सूचीकृत गरी सूचीकृत भए बमोजिमका डकर्मीहरुलाई मात्र घर निर्माणको जिम्मा दिईने नीति अंगिकार गरिनेछ ।
  • आवासीय घरहरुमा निर्माण स्वीकृति दिंदा महिला/ बालबालिका/ बृद्ध/ अपाङ्ग मैत्री भवन निर्माण गर्न उत्प्रेरणा जगाईने छ ।
  • आकाशे पानी, भान्सा कोठाको पानी र बाथरुपको पानी ब्यवस्थापनको लागि कम्तिमा १*१*१ को Water Recharge गर्न ब्यवस्थापन गरिने छ ।
  • घरहरुमा आधुनिक वायरिङ र तलाहरुमा कम्तिमा १ वटा आगो नियन्त्रक यन्त्र राखेपछि मात्र निर्माण अनुमति प्रमाण पत्र दिईने नीति लागू गरिनेछ ।
  • UNOPS लगायत विभिन्न विकास साझेदारहरुसंगको सहकार्य र समन्वयमा लैंगिक तथा अपांगमैत्री सार्वजनिक पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ लागू गरिनेछ ।
  • दशौं राष्ट्रिय खेलकुदलाई अवसर मानी सडक सुधार लगायत शहरी सौन्दर्यमूलक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिनेछ ।
  • गुरुयोजना अनुसार नखोलेका सडकहरु नगर विकास समिति, नापी तथा मालपोत कार्यालयसंग समन्वय गरी गुरुयोजना अनुसार खोलिने छ । र लगतकट्टाको प्रकृया अगाडी बढाईने छ । साथै गुरुयोजना सडक लगतकट्टा गरी खोलेमा त्यस्ता सडकहरुलाई उच्च प्राथमिकतामा राखी स्तरवृद्धि गराईने छ । गुरुयोजनामा नपरेका तर चलनचल्तीमा भै पूर्वाधार निर्माण भएका सडकहरुलाई समेत लगत कट्टाकाको प्रकृया अगाडी वढाइनेछ ।
  • वडा नंबर १३, १४,१५ र १६ का वडाहरुमा सदरमुकामसम्म बाह्रै महिना यातायात नियिमत रुपमा सञ्चालन हुने गरी सडक सुधार एवम् स्तरोन्नतीका कार्य गरिनेछ ।
  • संघ र प्रदेश सरकारसंगको सहकार्यमा भेरी – बामेखोला – वीरेन्द्रनगर (रत्न राजमार्गको बैकल्पिक मार्गको रुपमा) सडक सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
  • रिङ रोडको सडक अधिकार क्षेत्रको रेखाङ्कन गर्नुका साथै सो सडकको स्तरउन्नतीका लागि प्रदेश र संघिय सरकारसंग समन्वय गरिनेछ । रिङ रोडसंग जोडिएका अन्य मुख्य सहायक सडकहरु पनि स्तर उन्नती गरिनेछ ।
  • एक वडा एक समावेशी सार्वजनिक खुला पार्कको निर्माण प्रक्रिया अघि बढाइनेछ ।
  • उपत्यकाभित्र व्यवस्थित गुरुयोजना नभएको ठाउँमा जग्गा एकीकरण गरी व्यवस्थित शहर निर्माण प्रक्रिया अघ बढाइनेछ । नगरपालिकाको वडा नं ११ र ९ मा भईरहेको जग्गा एकीकरण तथा नमुना वस्ती विकास योजना यसै बर्ष कार्यान्वयनमा ल्याइनेछ ।
  • नगरपालिकाको वडा नंबर १३ र पारेगाउँ जोडने झुप्राखोलामा पक्की पुल निर्माण गर्न प्रदेश सरकारसंग समन्वय गरिनेछ ।
  • बिल्डिङ बाइ लज (Building By laws) बनाउनका साथै खोलाको इन्भेन्टरी (Inventory) तयार गरिनेछ ।
  • उपत्यका भित्रका खोलाहरुमा करिडोर निर्माण गर्न खोला क्षेत्राधिकार एकिन गरी तटबन्धन गर्न सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय गरिनेछ ।
  • नगरपालिकाको आन्तरिक व्यवस्थापनमा सर्वसुलभ र सुलभ रुपमा नगर यातायात संचालन गरिनेछ ।
  • नगरपालिकाको वडा नंबर ६ लगायतका अति महत्वपूर्ण र अति व्यस्त स्थानहरुमा पार्किङ स्थलहरुको लागी आवश्यक व्यवस्था मिलाईनेछ ।
  • उत्तरी जलाधार क्षेत्रहरुमा वाटर रिचार्ज (Water Recharge) पोखरीहरु निर्माण गरिने छ ।
  • पुराना सिंचाई कुलो, पानीका मुहान, जलाधार क्षेत्रको मर्मत संभार र संरक्षण गरिनेछ ।
  • कर्णाली वसपार्क निर्माणको लागि आवश्यक प्रकृया अगाडि बढाईनेछ ।
  • बजार क्षेत्र लगायत वडा नंबर ६ मा व्यावसायिक भवन निर्माण गर्दा अण्डर ग्राउण्ड पार्किङ निर्माण गर्न घरधनीहरुलाई प्रेरित गरिनेछ र अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने घरधनीलाई नक्सापास दस्तुरमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाईनेछ ।
  • नगरपालिका क्षेत्रभित्रका सडक अधिकारक्षेत्र भित्रका अव्यवस्थित रुपमा रहेका विजुली तथा टेलिफोनका पोलहरुलाई तत्काल हटाउन लगाई व्यवस्थित गरिनेछ ।
  • सार्वजनिक जग्गाहरुको व्यवस्थापन गर्दै पार्क र पार्किङको व्यवस्थापन गरिनेछ ।
  • नगरपालिका क्षेत्रभित्रका ‌ऐलानी र सार्वजनिक जग्गाहरुको खोजी गरी संरक्षण गरिनेछ ।
  • काँक्रेविहार, बुलबुले र देउती बज्यैजस्ता धार्मिक तथा ऐतिहासिक पर्यटकीय ठाउँलाई पर्यटक बृद्धि गर्न आवश्यक संरचना एवम् पूर्वाधार तयार गरिनेछ ।
  • बुलवुले उद्यानको सौन्दर्यलाई ध्यान दिदै बुलबुले तालको ऐतिहासिक महत्वको संरक्षण गर्दे सुरक्षित स्नान गृहसहित पुर्ननिर्माण र उद्यान सजावटका कार्य गरिनेछ ।
  • हाईवेभन्दा दक्षिणतर्फका वस्तीहरुमा खानेपानी आपुर्ति गर्नका निमित्त डिप बोरिङ निर्माण गरी सो पानीलाई वितरण गर्नका निम्ति ओभर हेड ट्यांक (Over Head Tank) निर्माण गरी वितरण गर्ने नीति लिइएको छ ।

) वन, वातावरण तथा विपद्

  • आफ्नै फोहर, मेरो लागि मोहर अभियानका साथ फोहर ब्यवस्थापनमा नागरिकलाई जिम्मेवारी वनाउंदै सुर्खेत उपत्यका भित्रका सवै वडाहरुमा जैविक तथा कुहिने फोहरलाई घरधुरीमै ब्यवस्थापन गर्न प्रत्येक आवासीय घरधुरिमा मल उत्पादनका लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न टोल विकास संस्थाहरुलाई सहयोग गरिनेछ । बढी जैविक फोहर उत्पादन हुने ब्यावसायिक स्थलहरुको जैविक फोहरलाई नगरपालिकासंगको साझेदारीमा निजि क्षेत्रवाट संचालित वायोग्याश प्लान्ट सम्म पुर्याउन आवश्यक सहयोग एवं सहजीकरण गरिनेछ ।
  • वडा कार्यालयको समन्वयमा कौसीमा रमाउने, फोहरवाट कमाउने अभियानका साथ भान्साको फोहर घरमै ब्यवस्थापन गर्न वजार क्षेत्रमा गृहिणी लक्षित कौशी खेती कार्यक्रम संचालन गरिनेछ ।
  • उपत्यका भित्रका सवै वडाहरुमा फोहर सेग्रीगेशन र प्लाष्टिक नियन्त्रणको अभियान तथा जनचेतनात्मक कार्यक्रमलाई निरन्तरता दिदै अभियान संचालनमा विभिन्न गैर सरकारी संघ संस्था तथा क्लवहरु परिचालन गरिनेछ ।
  • उपत्यका भित्रका सवै वडाका प्रत्येक टोलमा कम्तिमा १५ दिनमा अजैविक फोहर संकलन गर्न फोहर ढुवानी साधन पुग्ने सुनिश्चत गर्ने गरी वडा कार्यालयले सेवा प्रदायकलाई नियमित नियमन गर्ने गरीफरक फरक सेवा प्रदायक मार्फत फोहर संकलन गर्ने ब्यवस्था मिलाइनेछ ।
  • प्लाष्टिकका कारण नगरको सहरी सौन्दर्य तथा हावा, माटो र पानीमा हुन सक्ने प्रदूषण नियन्त्रणका लागि प्लाष्टिक जलाउने कार्यलाइ निरुत्साहित गर्दे विद्यालय तथा टोल तहमा प्लाष्टिक कैद तथा पुनः प्रयोग अभियान संचालन गरिनेछ ।
  • वडाकार्यालय र नीजि क्षेत्रसंगको समन्वयमा फोहर संकलन कार्यतालिका सार्वजनिक गर्दै समयमा फोहर संकलन नगर्ने र तोकिएको समयभन्दा अन्य समयमा फोहर निष्कासन गरी फाल्ने दुवैलाई कानुनी कार्वाहीको दायरामा ल्याइनेछ ।
  • फोहर ब्यवस्थापनमा संलग्न युवा तथा पिछडिएका वर्गहरुलाई फोहरमैला व्यवस्थापनका श्रृजनशील क्षेत्रमा काम गर्न प्रेरित गर्दे फोहरमैला व्यवस्थापनलाई आय आर्जनसंग जोड्न नीजि क्षेत्र, साझेदार संस्था लगायत, गैर सरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ ।
  • फोहरमैला ब्यवस्थापन तथा वातावरण संरक्षणमा योगदानका आधारमा घर, टोल तथा वडाहरुलाई निश्चित सूचक तोकी सफा, स्वच्छ र वातावरणमैत्री घोषणाका अभियानहरु गरिने छ ।
  • स्वास्थ्य संस्थाजन्य फोहरलाई व्यवस्थित गर्नका लागि गैर सरकारी संघ संस्था र नीजि क्षेत्रसंग सहकार्य गरी अगाडी बढाइनेछ ।
  • ल्याण्डफिल साईट प्रभावित क्षेत्रको वातावरण, सरसफाई तथा स्वास्थ्य प्रवर्द्धनका लागि स्थानीयवासीसंग सहकार्य गरी विभिन्न गतिविधिहरु संचालन गरिनेछ ।
  • नगरपालिका भित्र संचालित सार्वजनिक शौचालयहरुको व्यवस्थित रुपमा सञ्चालन गराउन अनुगमनको संयन्त्र बनाइने र उपत्यका भित्रका अन्य महत्वपूर्ण स्थानहरुमा थप सार्वजनिक शौचालय निर्माणमा प्रदेश सरकार तथा अन्य विकास साझेदार निकायहरुसग पहल गरिने छ ।
  • हाल संचालनमा आएको दिशाजन्य लेदो ब्यवस्थापन प्लान्ट ब्यवस्थित ढंगवाट सञ्चालन गर्दे थप विस्तारका लागि दातृ निकायहरुसंग सहकार्य गरिनेछ । पालिकावाट स्वीकृत गरी दीशाजन्य लेदो ब्यवस्थापन मापदण्ड बमोजिम नीजि क्षेत्रसंग सहकार्य गरी प्रभावकारी सेवा प्रदान गरिनेछ । काम गर्ने जनशक्तिको क्षमता विकास र सुरक्षा मापनलाई अनिवार्य गराउन विकास साझेदारहरुसंग सहकार्य गरिनेछ ।
  • नगरपालिकाको ल्याण्डफिल साइट गुरुयोजना बमोजिम निर्माण र कार्यान्वयनका लागि संघीय सरकार एवम् विकास साझेदारहरुसंग सहकार्य गरिनेछ ।
  • फोहर ब्यवस्थापनमा संलग्न अभियन्ता, फोहर ब्यवस्थापनका लागि विश्वविद्यालय/ विद्यालयका विद्यार्थी, युवा क्लव र टोल विकास संस्थाहरुको व्यवस्थित परिचालन गरिनेछ ।
  • नगरभित्रका सार्वजनिक खोलाहरुको सरसफाई तथा खोलाको दुबै किनारमा हरियाली प्रबर्द्धन गर्ने कार्य वडा समितिको नेतृत्वमा अभियानकै रुपमा अगाडि वढाइनेछ ।
  • आयमूलक वन नागरिकको धन भने भन्ने नाराका साथ नागरिकलाई आय आर्जनमा सघाउ पुर्‍याउने गरी आयमूलक वन वनाउने कार्ययोजना स्वीकृत गरेका वन उपभोक्ताहरु समूहहरुसंग सहकार्य गरिनेछ ।
  • उत्तरी जलाधार क्षेत्रका सामुदायिक वनहरुमा जल पुनर्भरण पोखरी निर्माण गर्न सहकार्य गरिनेछ । जलाधार क्षेत्रमा भएका खानेपानी मूलहरुको संरक्षण गरिने छ ।
  • नगर भित्रका पार्कहरु मध्ये एउटा पार्कलाई वोटानिकल पार्कका रुपमा विकास गरिनेछ ।
  • हरित शहर वनाउने रहर, सफा सुन्दर हाम्रो वीरेन्द्रनगर अभियानका साथ नगर भित्रका कालो पत्रे भै सकेका सडकहरुमा सौन्दर्य वा वहुउपयोगी फुल विरुवा रोपण तथा संरक्षण कार्यक्रम गर्न टोल विकास संस्थाहरु संग सहकार्य गरिनेछ ।
  • नगरलाई हरित शहरका रुपमा विकास गर्न प्रत्येक सडकका लागि उपयूक्त फुल विरुवा छनोट गर्न अध्ययन प्रतिवेदन तयार गरी नगरभित्रका भिन्ना भिन्नै सडकहरुमा वार्है महिना फूल फूल्ने गरी शहरी सौन्दर्य कार्यक्रमलाई योजनावद्धरुपमा अगाडी वढाइनेछ ।
  • आकासे पानी तथा भान्सा तथा वाथरुमको पानी घर परिसरमै ब्यवस्थापनका लागि घरधनीमा ज्ञान, सिप र क्षमताको विकासमा सहयोग गरिनेछ ।
  • ग्रामिण वडाका सडकहरुमा फलफूल तथा बहुवर्षे डालेघाँसवाट सडक सजावट गर्ने स्थानीयबासीलाई प्रेरित गरिनेछ ।
  • समजीघाटमा व्यवस्थित शवदाह स्थल निर्माणका लागि योजना वनाई निर्माणका लागि प्रदेश र संघीय सरकारसंग सहकार्य गरिनेछ ।
  • प्रत्येक वडामा रहेको विपद ब्यवस्थापन कोषलाइ समेत एकीकृत गरी नगरमा रहेको विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै सोको परिचालन विपद कोष परिचालन कार्यविधि बमोजिम गरी नगर भित्र हुने विपद्का लागि तत्काल राहतको प्रवन्ध गर्ने ब्यवस्था मिलाईनेछ ।
  • नगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्दे, विपदको समयमा प्रतिकार्य गर्न प्रतिकार्य टोली गठन गरी क्षमता विकास गर्न विकास साझेदार तथा गैर सरकारी संघ सस्थासंग सहकार्य गरिनेछ ।
  • संभावित विपद्संग सामना गर्न आवश्यक औजार सहितको संयन्त्र निर्माण गर्नका साथै विभिन्‍न स्थानमा विपद्को पूर्व सूचना प्रणाली जडान गर्न प्रदेश सरकार, लगायत सरोकारवाला संघ, सस्थाहरुसंग समन्वय गरिनेछ ।
  • आपतकालीन केन्द्रलाई ब्यवस्थित गराउंदै राहत सामग्री भण्डारण केन्द्र स्थापना गर्न प्रदेश सरकारलगायत सहयोगी निकायहरुसग पहल गरिनेछ ।
  • भान्साको आगो नियन्त्रणलाई विशेष जोड दिदै गृहणीहरु र टोल विकास संस्थाहरुको क्षमता अभिबृद्धि गर्नका लागि नगरपालिकाको वारुणयन्त्र टोलि प्रत्येक वडामा परिचालन गरिनेछ । साथै थप अग्नी नियन्त्रण उपकरणका लागि संघ, प्रदेश सरकार र अन्य साझेदार संस्थाहरुसंग सहकार्य गरिनेछ ।
  • विपदका लागि उत्थानशील नगर निर्माणका लागि आवश्यक नीति तथा योजना निर्माण र विद्यालय, टोल, वडा तथा नगर तहका विपदसंग सम्वन्धित संरचनाहरुको कृयाशीलता वढाई यसमा संलग्न पदाधिकारी तथा स्वयंसेवकहरुको क्षमता विकासका काम गर्न साझेदार संस्थाहरुसँग सहकार्य गरिनेछ ।
  • विपद् ब्यवस्थापनमा सहयोग पुग्ने उत्थानशील पूर्वाधार आयोजना निर्माणमा साझेदार संस्थाहरुसँग सहकार्य गरिनेछ ।
  • नगर भित्रका पानीका मूलतथा सिमसार संरक्षण गर्दे प्राकृतिक श्रोत तथा जलाधार व्यवस्थापन र जलवायु सम्बन्धी कार्ययोजना तयार गरी जनलावयुमैत्री नगर बनाउने कार्यलाई निरन्तरता दिइनेछ ।
  • सुरक्षित वस्ति वनाउन खोला तथा पहिरो तट्वन्धन कार्यलाई अभियानकै रुपमा अगाडी वढाइनेछ ।
  • सडकमा छोडिएका पशु चौपाया नियन्त्रणका लागि गौशालाको प्रभावकारी संचालन तथा ब्यवस्थापनमा धार्मिक, सामाजिक तथा गैर सरकारी संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
  • विद्युतीय चुलो, सौर्य ऊर्जा र वायोग्यास विस्तारमा विशेष जोड दिइनुका साथै नगरका महत्वपूर्ण सडकका रुखहरुलाई छटान तथा सजावटका कार्य गर्दै सडक सौन्दर्य प्रर्वद्धन कार्य गरिनेछ ।
  • नगरभित्र लगाइएका विरुवाहरुको संरक्षण तथा गोडमेल गर्न आवश्यक जनशक्तिको परिचालन तथा संरक्षणको जिम्मेवारी हस्तान्तरण गर्न स्थानीय संघ, संस्था तथा नीजि क्षेत्रसंग सहकार्य गरिनेछ ।
  • वीरेन्द्रनगर भित्र विभिन्न वडामा रहेका प्रमुख चोकहरुमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि जोखिममुक्त चोकहरु सडक मापदण्ड अनुसार वनाइ चोक सजावट तथ चोक नामाकरण छ ।
  • ट्राफिक लाईटको लागि संभाब्यता अध्ययन गर्देसडक बत्ती लगायत शहरी सौन्दर्य एवं ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी, टोल विकास संस्था र नीजि क्षेत्रसंग सहकार्य गरिनेछ ।
  • नगर क्षेत्रका सर्वजनिक स्थलहरु जस्तै खुल्ला चौर, खोला, सडक र नालाको अवरोध हटाउने जस्ता कार्यहरुलाई विशेष सरसफाई कार्यक्रम संचालन गर्ने ।

) सूचना, सञ्चार तथा प्रविधि

  • नगरपालिका वडा स्वास्थ्य केन्द्र विद्यालय आदि संस्थाहरुमा विद्युतीय हाजिरीको विकास र प्रयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ ।नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन जोड दिइनेछ ।
  • हाम्रो नगर राम्रो नगर अभियान अन्तर्गत चौमासिक रुपमा नगरका गतिविधिहरु समावेश भएको बुलेटिन प्रकाशन, रेडीयो कार्यक्रम तथा टेलिभिजन कार्यक्रम उत्पादन गरी नागरिकको सूचनाको हकको प्रवर्द्धन गरिनेछ । नगरपालिकाका गतिविधिहरु नियमित संचार माध्यमबाट प्रकाशन तथा प्रसारणको व्यवस्थापनका लागि संचार क्षेत्रसंग सहकार्यका साथै लोक कल्याणकारी सूचनाहरु स्थानीय संचारमाध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने नीति लिइनेछ।
  • नगरपालिकाको विकास गतिविधि आम सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने कार्यलाई उच्च प्राथमिकता दिइनेछ ।
  • एकिकृत डिजीटल सेवा प्रवाह प्रणाली लागू गरी नागरिकले घरैबाट सेवा लिन सक्ने प्रणालीको सुरुवात गरी सूचना प्रविधीको प्रयोग मार्फत नगरपालिका कार्यालय एवंम वडा कार्यालयबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शि बनाउँदै शिघ्र सेवा तिब्र बिकासको मान्यतालाई आत्मसाथ गरिनेछ ।
  • बजार क्षेत्र लगायत नगरका प्रमुख स्थानहरुमा सिसिटिभी क्यामराको विस्तार तथा नियमित मर्मत सम्भार गर्ने कार्यलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउदै लगिनेछ ।
  • वडा नंबर १३, १४, १५ र १६ मा दूर संचार सेवालाई प्रभावकारी वनाउन आवश्यक कार्य गरिनेछ ।
  • सबै शाखा तथा वडा कार्यालयबाट विद्युतीय पत्राचारलाई लागु गर्दै क्रमशः विद्युतीय सुशासनको अवधारणा अनुसार कार्य अघि बढाइनेछ । कार्यालयका नियमित बैठक, गोष्ठी र तालिममा विशेषज्ञ सेवाको प्रयोग गर्न तथा भौगोलिक दुरी कम गर्दै लागत कटौती गर्नका लागि अनलाईन प्रणालीको क्रमशः प्रयोगलाई बढाईनेछ ।
  • कार्यालयमा सिकाई केन्द्रको संस्थागत विकास गरी सेवा प्रवाहमा नविनता सँगै जीवनपर्यन्त सिकाइको अवसर सुनिश्चित गर्न सूचना तथा अभिलेख केन्द्र स्थापना गरिनेछ ।

) कृषि विकास

  • वीरेन्द्रनगरको अठोट, पकेट क्षेत्रमा जोड भन्ने नारा अनुरुप नगरपालिकाले निर्धारण गरेका विभिन्न बालीका पकेट क्षेत्र अनुसार उत्पादन हुने बालीलाई प्राथमिकतामा राखी सोही बमोजिम कार्यक्रम संचालन गरिनेछ।
  • जमिनलाई पानी, कृषकलाई आम्दानी भन्ने नाराका साथ कृषि पूर्वाधार अन्तर्गत सिँचाई सुविधा नपुगेको जमिनमा सिंचाई सुविधाको लागी साना सिँचाई कार्यक्रम संचालन गरी कम्तिमा २० प्रतिशत सिंचित क्षेत्रफल बढाउने निती अवलम्बन गरिनेछ।
  • कर्णालीलाई विरेन्द्रनगरको भर खाद्यान्नमा आत्मनिर्भर भन्ने नाराका साथ वीरेन्द्रनगरका सम्भाव्य रैथाने बालीलाई प्रर्बद्धन गर्दै खाद्यान्न बाली (धान, गहुँ, मकै) प्रर्बद्धन कार्यक्रम संचालन गरिनेछ।
  • कृषकको पहिचान वर्गीकरण अनुसार अनुदान भन्ने नारा अनुरुप कृषि क्षेत्रको पुँजी तथा प्रबिधीमा प्रदान गरिने अनुदानलाई प्रभावकारी बनाउनका लागी साना कृषक, मध्यम कृषक तथा व्यवसायिक ठूला कृषक गरी तीन प्रकारमा कृषक वर्गिकरण गरी सोही अनुरुप भिन्न प्रकृतीको अनुदान प्रतिशत निर्धारण गरी अनुदान उपलब्ध गराईनेछ।
  • वीरेन्द्रनगरको रहर विषमुक्त शहर भन्ने नारा अनुरुप प्राङ्गारीक खेती प्रोत्साहन तथा जमिनको उत्पादकत्व बढाउनका लागि जैविक मल अनुदानमा उपलब्ध गराउनुका साथै स्थानीयस्तरमा भर्मि कम्पोष्ट, कम्पोष्ट मल र जैविक विषादी निर्माण कार्यलाई प्रोत्साहन गरिनेछ।
  • विरेन्द्रनगरको खेती जलवायूमैत्री प्रबिधि भन्ने नारा अनुरुप जलवायु तथा वातारणमैत्री कृषि उत्पादनका प्रबिधीहरु अबलम्बन गरी जलवायु परिवर्तनको असर न्युनीकरण गर्ने निति अबलम्बन गरिनेछ।
  • आयातित बिउ भगाऔं रैथाने बिउ जोगाऔं भन्ने नाराका साथ नगरभित्रै गुणस्तरीय खाद्यान्न बीउ उत्पादन तथा रैथाने बिउ संरक्षणका लागि कृषक समूह तथा कृषि सहकारी मार्फत सामुदायिक बीउ बैंक स्थापना गर्ने नीति अबलम्बन गरिनेछ।
  • हाम्रो रहर कौशि खेतीको शहर भन्ने नारालाई आत्मसाथ गर्दै नगरपालिकाभित्रका शहरिकरण भैरहेको वडाहरुको अवस्थालाई मध्यनजर गर्दै पोषण सुरक्षाको लागि कौशी खेती प्रबर्द्धन कार्यक्रम संचालन गरिनेछ।
  • किसान हाम्रो शान उत्पादनमा अनुदान भन्ने नारा अनुरुप कृषकले उत्पादन गरेको बस्तुको आधारमा कृषकलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराईनेछ।
  • कृषि भूमिको खण्डीकरण रोक्न तथा खेतीयोग्य जग्गा बाँझो रहन नदिन जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊ अभियानलाई आत्मसात गर्दे लिज र जग्गा करारमार्फत खेती गर्ने कृषकलाई जग्गा भाडामा अनुदान प्रदान गरिनेछ।
  • विदेशी आयात घटाउ महिला उद्यमी बढाउ भन्ने अभियानका साथ शहरी वडामा कौशी खेति र अन्य वडामा उत्पादन सम्भाव्यका आधारमा किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा मल, विरु, उपकरण तथा प्रविधि हस्तान्तरणका लागि मेयरसंग महिला किसान कार्यक्रम संचालन गरिनेछ ।
  • कृषि व्यवसायको माध्ययमबाट विपन्न पिछडिएको वर्गका महिलाहरुको जिवनस्तर सुधार तथा आय आर्जनमा वृद्धिका लागि महिलाहरुलाई कृषि समूहमा आबद्ध गराई व्यावसायिक खेती गर्नका लागि कृषि समूह निर्माण कार्य अभियानको रुपमा संचालन गरी मेयरसंग महिला कृषक कार्यक्रम संचालन गरिनेछ।
  • नगर कृषि विकास शाखाको समन्वयमा वडा तहमा कृषि कार्यक्रम संचालनका लागी एकद्वार प्रणाली अबलम्बन गरिनेछ र प्रत्येक वडामा एक वडा एक कृषि प्राबिधीक जनशक्तिको व्यवस्थापनका लागि पहल गरिने छ।
  • कृषकलाई उत्पादन सामग्रीको गुणस्तरीयता एवम् सहज उपलब्धताको सुनिश्चितताका लागि एग्रोभेटहरुको र कृषिजन्य उत्पादनको बजारीकरणमा सहजताको लागि कृषि हाट बजार कोल्ड स्टोरको अनुगमन नियमनलाई प्राथमिकीकरणमा राखी कार्यान्वयनमा ल्याईनेछ।
  • कृषि व्यवसायका लागि विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट उपलब्ध गराईने अनुदानमा दोहोरोपना हटाउनका लागि त्यस्ता सेवा प्रदायक संघ संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रमहरुको नियिमत रुपमा नियमन तथा अनुगमन गर्ने निती अबलम्बन गरिनेछ।
  • वैदेशिक रोजगारबाट फर्कि कृषि व्यवसाय गर्न चाहने युवाहरुलाई प्राथामिकतामा राखी पूँजी तथा प्रविधिमा अनुदान उपलब्ध गराईनेछ।
  • विभिन्न कृषि सहकारी तथा अन्य संघसंस्थाहरु संगको समन्वयमा नगरपालिकाभित्रका कृषकहरुको यथार्थ तथ्यांक संकलन गरी उत्पादनमा अनुदानको नीति लिइनेछ ।
  • कृषि सहकारी तथा कृषक समूहको माध्यमबाट सामूहिक खेती तथा संस्थागत खेती गर्ने समूह सहकारीलाई पूँजी तथा प्रविधिमा अनुदान उपलब्ध गराई नमुना कृषि फर्मको विकास गर्ने नीति अबलम्बन गरिनेछ।
  • रैथाने बालीका परिकारहरु बनाउनका लागि सम्भाब्य वडामा साना कुट्ने पिस्ने सानामिलहरु तथा प्याकेजिङ र स्टोरेज सामग्रीहरु अनुदानमा उपलब्ध गराई वीरेन्द्रनगरको लोगोसहित बजारीकरण गरिने नीति अबलम्बन गरिनेछ।
  • कृषि बाली बिमा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्वन गरिनेछ।
  • कृषकलाई उत्पादन तथा बजारीकरण प्रविधिमा थप ज्ञान तथा सिपका लागी विषयगत तालिम, सेमिनार, गोष्ठी तथा भ्रमण कार्यक्रम सञ्चालन गर्ने निति अवलम्वन गरिने छ ।
  • स्थानीय उत्पादनको वजार सुनिश्चित गर्न वजार क्षेत्रमा हाटवजार संचालन गरिनेछ ।
  • व्यावसायिक कृषकहरुको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषकहरुलाई उत्पादनको आधारमा कृषि यान्त्रिकीकरणमा आबश्यक सहयोग गरिनेछ ।

) पशुपन्छी विकास

  • पशुपालनमा लागत खर्च कम गरी पोषणमा सुधार ल्याउन बिभिन्न किसिमका हिउँदे, बर्षे, बहुबर्षे, डाँले तथा भुई घाँसहरु कृषकहरुको मागको आधारमा बितरण गरी उत्पादन र उत्पादकत्व बृद्धिमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पशुपन्छीसँग सम्बन्धित सम्पूर्ण गतिविधिको बारेमा जनचेतनामूलक कार्यक्रम बिभिन्न सञ्चार माध्यमबाट सम्बन्धित सरोकारवालाहरुलाई सन्देश प्रवाह गर्ने नीति लिइनेछ ।
  • पशु र पशुजन्य पदार्थहरुको आयातमा प्रतिस्थापन गरी निर्यातमा बृद्धि गरी कृषकको आर्थिकअबस्थामा सुधार ल्याउन पहिचान सहित एक वडा एक पशुपन्छी तथा मत्स्यपालन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पशु विकास क्षेत्रमा कार्यरत् कर्मचारीहरुको मनोबल उच्च राख्दै क्षमता बिकास हुने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • पशु र पशुजन्य पदार्थहरुमा आत्मनिर्भर हुनको लागि पशुपन्छी संख्याको आधारमा आबश्यक वडाहरुमा पशु सेवा प्राविधिकहरु राखी कृषकहरुलाई घरदैलो सेवाको पहुँचलाई बिस्तार गर्दै प्राविधिक भएको वडाहरुमा आभारभुत प्रयोगशाला तथा आबश्यक औजार उपकरण व्यबस्थापनको लागि भौतिक पूर्वाधार स्थापना गर्ने नीति लिइनेछ ।
  • पशुपन्छी स्वास्थ्यका लागि बिभिन्न किसिमका औषधी उपचार सेवा, पशु स्वास्थ्य शिविर र महामारीजन्य रोग नियन्त्रणका लागि पशुपन्छी खोप सेवा कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
  • गाई, भैंसी र बाख्राको प्राकृतिक तथा कृत्रिम गर्भाधान कार्यक्रमलाई प्राथमिकतामा राखी उन्नत जातका पशुपालनमा बिशेष जोड दिने नीति लिइनेछ ।
  • कृषकहरुको लगानी सुरक्षित र क्षति न्यूनीकरण गर्न नगर क्षेत्रमा पशुपन्छी बिमा कार्यक्रमलाई बिशेष प्रथमिकताका साथ कार्यक्रमलाई अगाडि बढाउन समन्वय र सहकार्य गरी थप प्रभावकारी बनाइनेछ ।
  • परम्परागत पशुपालन व्यबसायलाई व्यावसायिक पशुपालन पद्धतिमा रुपान्तरण गर्न पशुपन्छीको गोठ/खोर सुधार कार्यक्रम गरी कृषकहरुलाई व्यावसायिकता उन्मुख हुने कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पशुपन्छी सेवालाई कृषकले प्रत्यक्ष अनुभव गर्ने गरी डिस्पेन्सरी सेवाको बिस्तार गरी पशुपन्छी उपचार सेवा, प्राइमेरी ल्याब सेवा र कृत्रिम गर्भाधान सेवा सञ्चालन, व्यबस्थापन र बिस्तार गरिनेछ ।
  • उपभोक्ताहरुलाई स्वस्थ दुध र मासु उपलब्ध गराउन डेरी र मासु पसललाई करको दायरामा ल्याउन बजार अनुगमन कार्यलाई निरन्तरता दिदै व्यापक सूचना सम्प्रेषण गर्ने कार्यलाई निरन्तरता दिदै नगरपालिकाको राजस्व वृद्धिमा सहयोग पुग्ने बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • प्राविधिक तर्फ भेटेरिनरी बिषय अध्ययन गरी बेरोजगार रहेका युवायुवतीहरुलाई आत्मनिर्भर हुन पशुपन्छी तथा त्यससँग सम्बन्धित व्यवसाय प्रबर्द्धन कार्यक्रमहरु सञ्चालन गरी स्वरोजगार हुने अबसर सिर्जना गरिनेछ ।
  • वीरेन्द्रनगर ११ समझिघाट स्थित भेरी नदी किनारमा रहेको गौशालालाई व्यवस्थित र दिगोरुपमा सञ्चालन गर्ने गरी आत्मनिर्भरताको लागि थप व्यबस्थित गरिनेछ ।
  • परम्परागत पशुपन्छीपालन व्यवसायलाई व्यावसायिक पशुपालन पद्धतिमा रुपान्तरण गर्न पशुपन्छीको गोठ, खोर सुधार कार्यक्रम अन्तर्गत गाई/भैंसीको भकारो सुधार, बाख्रा तथा कुखुराको खोर सुधार गरी कृषकहरुलाई व्यावसायिकता उन्मुख हुने कार्यक्रम सञ्चालन गरिनेछ ।
  • नगर क्षेत्रमा रहेका सामुदायिक तथा घरपालुवा कुकुरहरुको संख्या न्यूनिकरण गर्नको लागि अभियानको रुपमा सञ्‍चालन गरिनेछ ।
  • पशुपन्छिपालन गरिरहेका र गर्न चाहने कृषकहरुलाई थप व्यावसायिक बनाउन व्यवसायप्रतिको लगाव बढाउन सेवा पहुँच कम भएको पशुपालन क्षेत्रहरुमा स्थलगत गाई/भैँसी/बाख्रा/कुखुरा/बंगुरपालन तालिम सञ्चालन गरी कृषकलाई व्यवसायप्रति थप उत्प्रेरित हुने नीति लिइनेछ ।
  • उन्नत पशु उत्पादन गरी उत्पादन बढाउनको लागि नगरपालिकामा सञ्चालित गाई/भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रमलाई थप प्रभावकारी बनाउन कृत्रिम गर्भाधानबाट पशु गर्भाधान भई व्याएको पशुलाई पोषणमा सुधार ल्याउन प्रमाणित प्रमाण सहित आएका कृषकहरुलाई सुत्केरी पोषण कोसेली प्रदान गर्ने नीति लिइनेछ ।
  • महिला, दलित, जनजाति तथा अन्य समुदायका बिपन्न परिवारबाट समूह सदस्य हुने गरी समूह गठन गरी लाभग्राही समूह सदस्य सम्बन्धित वडाले छनौट गर्ने र सोही समूहमा तालिम तथा मागको आधारमा एक समूह एक अनुदान कार्यक्रम सञ्‍चालन गरिनेछ ।
  • नगरपालिका क्षेत्रमा रहेका फर्म, समूह, डेरी पसल, मासु पसल, एग्रोभेट तथा पशुपन्छीपालनसँग सम्बन्धित व्यवसाय अनिवार्य रुपमा नगरपालिकामा सूचीकृत भई कार्य सञ्‍चालन गर्ने र सूचीकृत भएका उत्कृष्ट कार्य गर्ने व्यवसायीलाई उत्पादन र उत्पादकत्वको आधारमा कृषक पुरस्कार तथा प्रोत्साहन गर्ने नीति लिइनेछ ।
  • नगरको पशुपन्छी सम्बन्धी तथ्याङ्कलाई समय सापेक्ष सफ्टवेयरमा अध्यावधिक गरिनेछ ।

) उद्यम तथा सहकारी

  • वीरेन्द्रनगर नगरपालिकाको दीगो उद्यम विकास र रोजगारी सिर्जनाका लागि नगरप्रमुख दायित्व ग्रामिण उद्यम कार्यक्रम सञ्चालन गरिनेछ ।महिला तथा युवा उद्यमी हरुको नविन सोच ज्ञान र सीप उद्यम विकासका लागि उद्यम विकास वातावरण तयार गरिनेछ ।
  • सहकारीलाई संघीय सरकारको नीति अनुरुप एकीकरण तथा समायोजन गर्दै लैजाने नीति लिइनेछ ।अत्यावशकीय र उत्पादनमुखी सहकारीहरुलाई प्रेरित गर्दै एक उत्पादन र एक सहकारी नीति लिइनेछ ।
  • दर्ता गरी निष्कृय रहेका र नयाँ स्थापना भएका सहकारी संस्थाहरुको क्षमता विकासका लागि विभिन्न क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सहकारीको अनुगमन प्रणालीलाई व्यवस्थित गर्दै सहकारी नीति विपरित रहेका सहकारीहरुको दर्ता अनुमति खारेजी तथा विगठनको नीति लिइने छ ।
  • उत्पादन अनुपातमा अनुदान तथा प्राविधिक सहयोग गर्दै एक वडा एक उत्पादनको लागि सहकारीहरुलाई प्रेरित गरिनेछ ।
  • सहकारीलाई चुस्त दुरुस्त र पारदर्शी बनाउन कोपोमिस सफ्टवेयरमा आबद्ध गर्ने कार्यलाई निरन्तरता गर्दै थप व्यवस्थित गरिनेछ ।
  • सरकारी सहकारी र नीजि क्षेत्रलाई आर्थिक विकासको क्षेत्रमा जोड्ने नीति लिदै पूँजी परिचालनमा प्रेरित गरिनेछ ।
  • स्थानीय व्यापार वस्तुको माग आपूर्ति तथा अनुगमन उपभोक्ता अधिकार तथा हित सम्बन्धी कार्यक्रम संचालनमा ल्याईनेछ । साथै उद्यमशिलता रोजगारी र उत्पादन वृद्धि हुन्छ नगर समृद्धि भन्ने नीति अवलम्बन गरिनेछ । एक वडा एक उद्यमशिलता विकास गरिनेछ । कृषिको सम्भावना नभएको वडामा उद्यमशिलता विकास कार्यक्रम संचालन गरिनेछ ।
  • उपभोक्ता सचेतना अभिवृद्धि लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परिक्षण गरिनेछ ।
  • समस्याग्रस्त सहकारीको पहिचान गरी सदस्यको बचत जोखिम न्युनीकरण गर्न नीति तथा संरचना तयार गरिनेछ ।
  • सहकारी शिक्षालाई अभियानको रुपमा अघि बढाई सहकारी सुशासन स्थापना गरिनेछ ।

) भूमि व्यवस्था

  • स्वच्छ र सम्बृद्ध नगर निर्माणको लागि व्यवस्थित सहरको परिकल्पना सहित भूमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलन गर्ने कार्य पूरा भएको छ । नेपाल सरकारले भूमी आयोगको गठन गरी कार्य प्रारम्भ गरेमा नगरपालिकाले थप जनशक्तिको व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पूर्जा दिने कार्यलाई तीब्रता दिइनेछ ।
  • वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा रहेका र सुर्खेत उपत्यका नगर विकास समिति एवम् नेपाल सरकारको स्वामित्वमा रहेका सरकारी जग्गा संरक्षणको नीतिलाई निरन्तर अगाडि बढाइनेछ ।
  • नगरपालिकाको भू उपयोग नीतिलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउदै उपत्यका भित्रका खोलाको भाग एकीन गरी इत्राम नेवारे र खोर्के खोला करिडोर निर्माण प्रक्रिया अघि बढाइनेछ ।
  • अव्यवस्थित रुपमा गरिएका जग्गा प्लटिङको कार्यलाई पूर्ण रुपमा निरुत्साहित गर्दै व्यवस्थित वस्ति विकासको लागि जग्गा एकीकरण (ल्याण्डपुलिङ) को कार्य अघि बढाइनेछ ।

) सार्वजनिक प्रशासन, सेवा प्रवाह तथा न्याय सम्पादन

  • नगरपालिकाको संगठन तथा व्यवस्थापन (O&M) को प्रक्रिया यसै आर्थिक बर्षदेखि प्रारम्भ भै स्वीकृतको क्रममा रहेको छ।यसका आधारमा कर्मचारीको व्यवस्थापन गरी सेवा प्रवाहलाई चुस्त, दुरुस्त र छरितो वनाईनेछ ।
  • कार्यबोझको आधारमा कार्य विभाजन तथा कार्यसम्पादन नियमावली तयार गरी संगठन संरचना तयार गरी लागू गरिनेछ ।कर्मचारीलाई निश्चित सूचकका आधारमा कार्य विवरण सहितको कार्य सम्पादन सम्झौता गरी कार्यान्वयन पक्षको मूल्यांकनका आधारमा पुरस्कार र दण्ड नीति अवलम्वन गर्दै कार्य प्रति जवाफदेही बनाइनेछ ।कर्मचारी दरबन्दीका आधारमा नयाँ भर्ना, परामर्श सेवा खरिद लगायतको कार्यलाई व्यवस्थित गरिनेछ ।
  • काममा दोहोरोपना आउन नदिन र कार्य प्रक्रियालाई नियमित र सुचारु वनाउनका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई स्वीकृत गरी पूर्ण कार्यान्वयनमा ल्याईने छ।
  • आफ्नो भवन नभएका वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकताका दिदै चालू आर्थिक बर्षभित्र सबै वडा कार्यालयको भवनबाट सेवा प्रवाह गरिनेछ । प्रत्येक वडा कार्यालयहरुमा गुनासो सुनुवाई र सम्वोधनको संयन्त्र खडा गरिनेछ । सो का लागि नगर कार्यपालिकाको कार्यालयबाट टोल फ्री नम्बर स्थापना गरी गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यको थालनी गरी क्रमशः नगरपालिका अन्तर्गतका सबै वडाहरुमा विस्तार गरिनेछ ।
  • नगरपालिकाभित्रका नागरिकहरुको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्न र सोको सम्बोधन गर्न हेलो मेयर कार्यक्रम सञ्चालन गरी नगरपालिकामा टोल फ्री नम्बर सञ्चालन गरिनेछ भने अनलाईन माध्यमबाट गुनासो व्यवस्थापन प्रणाली (Citizen Governance Response) एप्स तयार गरी लागू गरिनेछ ।
  • समृद्ध वीरेन्द्रनगर सुखी वीरेन्द्रनगर बासीलाई आत्मसात गर्दै नगरबासीको गुणस्तरीय जिवन प्राप्तिका लागि नगरपालिकाबाट दिईने सेवा सुविधालाई चुस्त दुरुस्त बनाई सुशासन र पारदर्शितामा जोड दिईनेछ ।
  • मेरो कार्यालय, मेरो जिम्मेवारी अभियान सञ्चालन गरी कार्यालय परिसर र कार्यकक्षको सरसफाइ, असल सिकाइ आदान प्रदान मार्फत समृद्ध वीरेन्द्रनगरको सपना साकार बनाउन कर्मचारीहरुको पेसागत समर्पण, सिर्जनात्मक सोच अध्ययन अवलोकन भ्रमण तथा प्रतिभा प्रस्फुटन हुने लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • नगरपालिकामा कार्यरत अन्य सेवा तर्फका सवै कर्मचारीहरुको एकिकृत कर्मचारी व्यक्त्तिगत विवरण प्रणाली (PIS) स्थापना गरी कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त वनाउनका लागि कर्मचारी संकेत नम्बर कायम गरी सो का आधारमा व्यक्त्तिगत विवरण अध्यावधिक गरिनेछ।अध्यावधिक विवरणका आधारमा कर्मचारीलाई थप जिम्मेवारी वैज्ञानिक र वस्तुगत मापदण्डमा आधारित बनाईनेछ ।
  • नगरपालिकामा कार्यरत सबै सेवा समूह तर्फका कर्मचारीहरुलाई आफनो पेशागत मर्यादा र आचरण प्रदर्शनको आधारमा दण्ड र पुरस्कारको नीति अख्तियार गरिनेछ ।
  • सबै किसिमका कर्मचारीको क्षमता विकासका तालिम कार्यक्रममा एकद्वार नीति लिई प्रचलित कानून र मापदण्डमा आधारित तालिम कार्यक्रम सञ्चालन गरिनेछ । तालिममा स्थानीय लगायत राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ सेवा लिदै प्रविधिमैत्री कर्मचारी प्रशासनको विकास गरिनेछ ।
  • कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सिर्जना गर्नका लागि तालिम, गोष्ठी र भ्रमणलाई उपलब्धीमूलक हुने गरी सेवा प्रवाहसँग आबद्ध गरिनेछ । साथै शाखागत र वडागत जिम्मेवारी बाँडफाँडलाई थप व्यवस्थित गरिनेछ ।
  • नगरका कर्मचारी एवं पदाधिकारी, उपभोक्ता समिति र टोल विकास संस्थाहरुको पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।टोल विकास संस्थाहरुलाई वडा तहको राजश्व संकलन अभियान तथा सरसफाई अभियानको राजश्व संकलनमा समेत संम्लग्न गराईनेछ ।
  • नगरका विभिन्न बैठकहरु तथा कार्यक्रमहरुमा खर्च कटौतीको नीति अख्तियार गरी आर्थिक मितव्ययिता तथा खर्चमा एकरुपता ल्याई वैठक तथा कार्यक्रम सञ्चालन मापदण्डको लागि कार्य सञ्चालन निर्देशिका तयार गरी लागू गरिनेछ ।
  • सेवा प्रवाहमा सुधार ल्याउन नागरिक सहायता कक्षको व्यवस्था मिलाउने, सेवाग्राही विश्रामस्थल, शुद्ध पिउने पानी र गुनासो सुनुवाई संयन्त्र निर्माणसहित प्रविधिमैत्री सेवामा जोड दिईनेछ।
  • नगरपालिकामा लामो समयदेखि स्थायी सेवा अवधि पूरा गरी स्वास्थ्य र आधुनिक प्रविधिसंगको अभ्यस्ताजस्ता समस्याका कारण नियमित सेवा प्रवाह गर्न कठिनाई भोगिरहेका साविक स्थानीय तहका अन्य सेवाका कर्मचारीहरुलाई निजले चाहेमा निवृत्त हुन प्रोत्साहन गरिनेछ ।
  • साविक स्थानीय निकायमा करार नियुक्त भई लामो समयसम्म करार सेवामा कार्यरत कर्मचारीहरुको योगदानको कदर हुने गरी नगद प्रोत्साहन सहितको अवकास योजनाका लागि कानून वनाई स्वैच्छिक विदाईको अवसर दिइनेछ ।करार सेवाका कर्मचारीहरुको सेवा अवधिलाई बर्गीकरण गर्दै सेवा सुबिधाको व्यवस्था गरी योगदानमा आधारित निवृत्तिभरण कोषमा आवद्ध गरी काममा थप प्रोत्साहन गरिनेछ ।
  • नगरपालिकाको राजस्व संकलनको कामलाई लक्ष्य अनुसारको प्रगति हासिल गर्नका लागि राजस्व शाखामा कार्यरत तथा वडामा राजस्वमा संलग्न कर्मचारीहरु तथा अन्य नगरपालिकाका इच्छुक कर्मचारीहरुलाई समेत अतिरिक्त सेवा सुविधा उपलब्ध गराई परिचालन गरिनेछ ।
  • नगरको सुशासन प्रवर्दन तथा सुरक्षा लगायतका क्षेत्रमा काम गर्ने गरी नगर प्रहरीको सेवा गठन तथा पदपूर्तिको कार्यलाई यथासक्य पूरा गरी आन्तरिक व्यवस्थापनमा ध्यान दिइनेछ ।
  • नगरवासीको न्यायमा पहुँच स्थापित गरिनेछ । यसका लागि आर्थिक रुपले विपन्न तथा असहाय व्यक्तिहरु महिला जेष्ठ नागरिक अपांग लगायतलाई निःशुल्क कानुनी सहायताको व्यवस्था गरिनेछ ।
  • आर्थिक रुपमा कमजोर पीडित पक्षलाई नगरपालिकाको तर्फबाट निःशुल्क कानुनी सेवा प्रदान गरिनेछ । न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने मुद्दाहरुमा कानुन व्यवसायीद्वारा मुद्दा दर्ता बहस पैरवी लगायतको कानुनी उपचारको सुनिश्चितता गरिनेछ ।
  • विपन्न वस्ती तथा वडाहरुमा न्यायिम समितिको कार्य सम्पादन सम्बन्धमा अनुशिक्षण गरी विपन्न वर्गलाई निःशुल्क कानुनी उपचार प्राप्त गर्नका लागि उत्प्रेरित गरिनेछ । न्यायीक समितिको कार्यसम्पादनमा विद्युतीय प्रणालीको विकास गरी शिघ्र न्याय सम्पादन गरिनेछ ।
  • अन्तरपालिका तथा न्याय सम्पादनसंग सम्बन्धित निकायहरुसंग निरन्तर रुपमा अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरी न्यायिक समितिको कार्यसम्पादनलाई क्रमशः परिस्कृत गरिनेछ । नगरपालिकाका सूचिकृत मेलमिलापकर्ताद्वारा वडा स्तरमा विवाद समाधानका लागि परिचालन गरिनेछ ।

) सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता

  • ब्यक्तिगत घटना दर्ता समयमा नै गर्नका लागि प्रचार प्रसार तथा वडाहरुमा घटना दर्ता शिविर सञ्चालन गरिनेछ ।
  • सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य रुपमा गरिनेछ ।
  • सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको तथ्याङ्क अध्यावधिक गरिनेछ ।
  • ब्यक्तिगत घटना दर्ताका हस्तलिखित रजिष्टरहरु डिजिटाइजेसन गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
  • सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई बैंक खातामा नियमानुसारको भत्ता रकम इलेक्ट्रोनिक फन्ड्स ट्रान्सफर (EFT) मार्फत भुक्तानी गरिनेछ ।
  • घटना दर्ता सत प्रतिशत पुर्‍याई पूर्ण रुपमा घटना दर्ता पालिका घोषणा गरिनेछ ।
  • स्थानीय पञ्जीकाधिकारीहरुको पञ्जिकरणसंग सम्बन्धित विषयमा क्षमता विकास कार्यमा गरिने सहजीकरणलाई निरन्तरता दिइनेछ ।
  • राष्ट्रिय परिचय पत्र निर्माण र वितरणको अभियान वडा तहसम्म संचालन गर्न आवश्यक सहयोग एवं सहजीकरण गरिनेछ ।

शिक्षा, युवा तथा खेलकुद

  • वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने दूरदृष्टिका साथ निर्माण गरिएको १० बर्षे शिक्षा क्षेत्र योजनाका आधारमा शिक्षासम्बन्धी बजेट तथा कार्यक्रमहरु क्रमशः तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
  • वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा स्थायी बसोवास गर्ने लक्षित उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई आधारभूत र माध्यमिक शिक्षामा पहुँच अभिबृद्धि गरी विद्यालयमा निरन्तरता दिन म बनाउछु, मेरो नगर शिक्षा विकास कोषलाई प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
  • विद्यार्थी र शिक्षकको अनुपातका आधारमा विद्यालय समायोजन (एकिकरण) तथा दरबन्दी मिलान गर्ने नीति अबलम्बन गरिने छ ।
  • विपद् र संकटको समयमा बालबालिकाको सिकाइलाई सहज रुपमा निरन्तरता गर्न र अंग्रेजी, गणित तथा विज्ञान विषयमा रहेको शिक्षक अभावलाई पूर्ति गर्नका लागि स्थापित नगरपालिका स्तरीय सिकाइ सहजीकरण केन्द्रलाई थप आधुनिक र नतिजामुलक ढंगले सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
  • शैक्षिक गुणस्तरको सुधार बाल विकास कक्षाबाट शुरु गरौं भन्ने आदर्श वाक्यका साथ प्रारम्भिक बाल विकास कक्षाहरुलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने नीतिलाई कार्यान्वयन गरिनेछ ।
  • प्रारम्भिक बाल विकास कक्षामा अध्यापन गर्ने शिक्षकहरुको मनोबल बढाउनका लागि नगरपालिकाबाट थप गरिने सेवा सुविधामा बृद्धि गरिनेछ ।
  • विद्यालयको शैक्षिक र प्रशासनिक नेतृत्व निर्माण गर्नका लागि स्थायी शिक्षकहरु मध्येबाट योग्य र दक्ष शिक्षकलाई प्रधानाध्यापक व्यवस्थापन गर्ने कार्यलाई कार्यविधि बनाई अगाडि बढाइनेछ ।
  • सबै माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा जुनियर रेडक्रस र नेपाल स्काउटसम्बन्धी कार्यक्रमहरु सञ्चालन तथा व्यवस्थापन गर्न सहजीकरण गरिनेछ ।
  • हामी र हाम्रो वीरेन्द्रनगर नामको स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि कक्षा ८ सम्म पाठ्यपुस्तकको विकास तथा कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
  • विद्यालयहरुमा कार्यरत् शिक्षक र अध्ययनरत् विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलाप, खेलकूद, संगित, योग र ध्यान, करियर गाइडेन्स तथा मनोपरामर्श जस्ता सीपहरुको विकास गर्ने कार्यमा आवश्यक सहजीकरण गरिने नीति अबलम्बन गरिनेछ ।
  • वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा बसोवास गर्ने लक्षित उमेर समूहका प्रौंढहरुलाई साक्षर गराउनका लागि सामुदायिक सिकाइ केन्द्रमार्फत साक्षरता कक्षा सञ्चालन गर्ने कार्यमा आवश्यक सहजीकरण गरिनेछ ।
  • विद्यालयहरुमा कार्यरत् शिक्षक र कर्मचारीहरुको क्षमता विकासका लागि संघ र प्रदेश सरकार एवम् मध्यपश्चिम विश्वविद्यालयसंगको साझेदारीमा शिक्षक मेन्टरिङ कार्यक्रम तथा शिक्षक र कर्मचारी सहायताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • माध्यमिक विद्यालयहरुमा विद्यालयमा स्टेम एजुकेशन (STEM Education) लाई प्रबर्धन गर्नका लागि विज्ञान, सूचना प्रविधि, संगित र गणित विषयको प्रयोगशालाको निर्माण र कार्यान्वयन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक, कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि निःशुल्क दिवा खाजा कार्यक्रम, आधारभूत तहका बालिका र दलित विद्यार्थीलाई छात्रवृत्ति र किशोरीहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरण र प्रयोग गर्ने कार्यलाई प्रभावकारी र व्यवस्थित गरिनेछ ।
  • विद्यार्थी चाप बढी भएका र शून्य दरबन्दी भएका विद्यालहरुमा स्वयम् सेवक शिक्षक व्यवस्थापनका लागि अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
  • मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पससंगको साझेदारीमा स्नातक विद्यार्थीहरुलाई विद्यालयमा स्वयम् सेवक शिक्षकको रुपमा परिचालन गर्ने नीतिलाई लागू गरिनेछ ।
  • श्रम शोषणमा परेका, अभिभावक विहिन तथा आर्थिक रुपमा अति विपन्न एवम् सिमान्तकृत अभिभावकका बालबालिकाहरुलाई निःशुल्क रुपमा माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने उद्देश्यले नगरपालिका अन्तर्गतको एउटा सामुदायिक माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गरिनेछ ।
  • सामुदायिक विद्यालयमा कार्यरत् प्रधानाध्यापक, बाल विकास शिक्षक, विद्यालय कर्मचारी, आया र सामुदायिक सिकाइ केन्द्रका परिचालकहरुलाई उत्कृष्ट कार्यसम्पादनका लागि प्रोत्सहान र उत्प्रेरित गरिनेछ ।
  • नगरपालिकाका उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी एवम् अन्य शैक्षिक सरोकारवालालाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा पुरस्कृत एवम् सम्मानित गरिनेछ ।
  • विद्यालयको भौतिक पक्षमा सुधार गर्न र बालबालिकाका लागि उपयुक्त सिकाइ वातावरण निर्माणका लागि नगर प्रमुख शैक्षिक पुर्वाधार विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
  • विद्यार्थीको सिकाइमा देखिएको क्षति कम गरी सिकाइमा बढोत्तरी गर्न संघ र प्रदेश सरकारसंगको साझेदारीमा सिकाइ आपूरण एवम् द्रुत सिकाइ योजना (ReAL Plan) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
  • नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुको सेवा क्षेत्रमा रहेका बालबालिकाहरुलाई विद्यालयमा पहुँचको सुनिश्चितता गर्न आवश्यक सहजीकरण गरिनेछ ।
  • शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्रदान गरिने सेवा प्रवाहलाई अनुमानयोग्य र जनमुखी बनाउन शाखाको प्रशासनिक व्यवस्थापनमा सुदृढीकरण गरिनेछ ।
  • विद्यालयहरुमा सुशासन अभिबृद्धि गर्नका लागि नागरिक बडापत्र, आचार संहिताको निर्माण र कार्यान्वयन, गुनासो सुवाई समितिको निर्माण र परिचालन, सामाजिक परीक्षण र लेखा परीक्षणजस्ता कार्यलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिनेछ ।
  • संस्थागत विद्यालय, मन्टेश्वरी, ट्यूशन तथा कोचिङ सेन्टर आदिको नियमन गर्दै संस्थागत रुपमा सञ्चालन भएका विद्यालयहरुको मापदण्ड तयार गरी वर्गीकरण र स्तरीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
  • यस नगरपालिका अन्तर्गत सञ्चालित विशेष विद्यालय र श्रोत कक्षा सञ्चालन भएका विद्यालयहरुको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक सहजीकरण गरिनेछ । ।संघ र प्रदेश सरकारसंगको साझेदारीमा विद्यार्थी स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विद्यालय तथा निजी शैक्षिक संस्थाहरुको अनुगमन, नियमन तथा सुपरिवेक्षण गर्ने कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।
  • युवाको उमेर समूह (१६–४० बर्ष) को आवश्यकतालाई दृष्टिगत गर्दै शिक्षा आर्जन तथा वृत्तिको अवसरको खोजीमा रहेका युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • समाजमा विद्यमान गरिबी, अशिक्षा, छुवाछुत, कुरीति, लैङ्गिक हिंसा, विभेद र विषमता एवम् विपद् जस्ता समस्या वा जोखिम हटाउन युवा परिचालन गर्ने नीति लिइनेछ ।
  • नगरपालिकाभित्र रहेका युवाहरुलाई नगर समृद्धिको अभियानमा जोड्दै उत्पादनमा लाग्न चाहनेहरुका लागि नगरपालिकाको बैंक तथा वित्त संस्थाहरुमा सहजीकरण गरिदिनेछ ।
  • युवासंग उपमेयर कार्यक्रम मार्फत युवाहरुको सर्वाङ्गिण विकास गर्ने कार्यक्रम लागू गरिने छ ।
  • वीरेन्द्रनगर नगरपालिकाको प्रतिनिधित्व गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्न सफल खेलाडीहरुको प्रोफाइल तयार गरी नगरपालिकाको तर्फबाट सम्मान गरिनेछ ।
  • विद्यालयमा अध्ययनरत बालबालिकाहरुको खेलकुद क्षेत्रमा विकास गर्नका लागि नगरपालिकामा सञ्चालित सबै सामुदायिक माध्यमिक विद्यालयहरुमा क्रमशः खेलकुद प्रशिक्षकको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता तथा थप विस्तार गरिनेछ।
  • स्वास्थ्यका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ नगरपालिकास्तरमा राष्ट्रपति रनिङ सिल्ड, मेयर कप लगायतका विभिन्न खेलहरु सञ्चालन गर्ने कार्य गरिनेछ ।
  • एक वडा, एक खेलमैदान निर्माण गर्ने कार्यलाई क्रमशः सबै वडाहरुमा विस्तार गरिनेछ ।
  • नगर खेलकुद तथा नगर युवा परिषद गठनका लागि कानुन निर्माण गरी खेलकुद तथा युवा केन्द्रित गतिविधिहरु अगाडी वढाइनेछ ।नगर खेलकुद विकास समिति गठन गरी परिचालन गरिनेछ ।
  • प्राथमिक तह सञ्चालन भएका सबै सामुदायिक विद्यालयहरुमा एकै प्रकृतिको फर्निचर वा बसाइँ व्यवस्थापन गर्दे सवै बालबालिकालाई गुणस्तरीय शिक्षा सेवा लिन अवसर प्रदान गरिनेछ ।
  • दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षण, तालिम लगायतका अन्य व्यवस्थापकीय कार्यमा नगरपालिकाका तर्फवाट सहयोग गरिनेछ ।
  • कर्णाली प्रदेशबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई स्वर्ण, रजक र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगरपालिकाको तर्फवाट क्रमशः एक लाख, पचहत्तर हजार र पचास हजार र टिमलाई क्रमशः दुई लाख, एकलाख पचास हजार र एकलाख पुरस्कार उपलब्ध गराइनेछ ।

) जनस्वास्थ्य

  • स्वस्थ जीवन शैली र निरोगी हुने हाम्रो रहर, खुसी-सुखी र सम्वृद्ध वीरेन्द्रनगर भन्ने मूल नाराका साथ स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुर्याइनेछ ।
  • स्वास्थ्य संस्थाबाट निःशुल्क दिईने औषधी र आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन अटुट रुपमा मिलाईनेछ ।
  • नगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी रुपमा उपलब्ध गराईनेछ ।
  • यस नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको नगरस्तरीय महिला तथा बालबालिका अस्पताललाई प्रभाकारी रुपमा स्वास्थ्य वीमा कार्यमक्रम सहित अगाडी वढाइनेछ ।
  • स्वास्थ्य संस्थाहरुलाई बालबालिका, किशोर किशोरी, अपाङ्ग र ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य संस्थाको रुपमा विकास गरिनेछ ।
  • पालिका अन्तर्गतका वर्थिङ सेन्टरबाट सुत्केरी हुने महिलाहरुका लागि नगर प्रमुख सुत्केरी पोषण कार्यक्रम लागू गरिनेछ ।
  • गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनलाई निरन्तरता दिन सामुदायिक भिडियो एक्स रे सेवा सञ्चालन गरिनेछ ।
  • गर्भवती महिलाहरुलाई प्रसुति सेवाको लागी निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिने छ । साथै सुत्केरी महिलाहरुलाई घरमै गई स्वास्थ्य कर्मीहरुद्वारा निशुल्क उत्तर प्रसुती जाँच तथा परामर्श सेवा दिइने छ ।
  • अति विपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य विमाको कार्यक्रमलाई निरन्तरता दिदै सिकलसेल एनिमाया भएका विरामीहरुको पनि निःशुल्क स्वास्थ्य वीमा गरिनेछ।
  • मर्यादित महिनावारी र सरसफाईलाई महिलामैत्री र किशोरीमैत्री बनाई प्रभावकारी कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य संस्थाबाट निःशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिने व्यवस्था मिलाइनेछ ।
  • महिलाहरुका स्वास्थ्य समस्याहरुको पहिचान, निदान तथा उपचार गर्नका लागि नियमित तथा बिशेष शिबिरहरु मार्फत स्वास्थ्य संस्थाहरुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच, पाठेघर खस्ने समस्याको जाँच, स्तन क्यान्सरको जाँच तथा फिस्टुलाको जाँच तथा परामर्श सेवा दिइनेछ ।
  • स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड अनुरुप नियमितरुपमा लेखाजोखा गरी कार्ययोजना निर्माण र कार्यान्वयन गरिने छ ।
  • सबै स्वास्थ्य संस्थाहरुबाट दिइएको सेवालाई जवाफदेही बनाउन सञ्चालन गरिएको सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
  • मानसिक स्वास्थ्य तथा लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम समुदाय स्तर, विद्यालय र सुधार केन्द्रहरुमा सञ्चालन गरिनेछ ।
  • बिद्यालय स्वास्थ्य शिक्षा र विद्यालय नर्स कार्यक्रम कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । माध्यमिक तह सञ्चालन भएका संस्थागत विद्यालयहरुमा विद्यालय नर्स स्वयं विद्यालयले नै व्यवस्थापन गर्नका लागि आवश्यक सहजीकरण गरिनेछ ।
  • नगरपालिकाको एकीकृत स्वास्थ्य सूचना प्रणालीमा सूचनाको शुद्धता, समय बद्धता र पूर्णतामा निगरानी गरी गुणस्तरीय बनाइनेछ । साथै यस वर्ष थप स्वास्थ्य संस्थाहरुमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (eHMIS) विस्तार गर्दै लगिनेछ ।
  • स्थानीय सञ्चार माध्यम (छापा, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल) मार्फत नियमितरुपमा नगर स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सम्बन्धी जानकारी र सन्देशहरु प्रवाह गरिनेछ ।
  • उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग, मुटुरोग, अर्वुदरोग, दम, मोटोपना जस्ता नसर्ने रोगहरुको स्क्रिनिङका लागि उपप्रमुख स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिनेछ । वडा स्तरका आधारभूत स्वास्थ्य संस्थाबाट जेष्ठ नागरिकहरुका लागि विशेष एकीकृत अभियान संचालन गरिनेछ ।
  • दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्म यस पालिकालाई क्षयरोग मुक्त पालिका बनाउनका लागि क्षयरोग मुक्त पालिका अभियानको शुभारम्भ गरी क्षयरोग मुक्त पालिका घोषणा गर्नका लागि विभिन्न किसिमका क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
  • सरुवारोग, महामारी, प्राकृतिक प्रकोप तथा बिपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य एवम् पुनःस्थापनाको एकिकृत रुपमा व्यवस्थापन गरिनेछ ।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवालाई थप जनमुखी बनाउनका साथै नगरपालिकाका विभिन्न सरसफाइ तथा सामाजिक अभियानमा समेत स्ययंसेविकालाई परिचालन गराइनेछ । महिला स्वयम् सेविकाहरुको हौसला बढाउन मासिक प्रोत्सहान, बिमा, यातायात सुविधा, खाजा व्यवस्थापन, स्वेच्छिक अवकास हुँदा प्रोत्साहन लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • खोप अभियानलाई निरन्तरता दिदै पूर्ण खोप पालिका दिगोपना र सुनिश्चितता कायम गरिनेछ ।
  • नगरभित्रका स्वास्थ्य संस्था तथा खोप केन्द्र र गाउँघर क्लिनिकलाई सुव्यवस्थित बनाई सेवालाई गुणस्तरीय बनाउन भौतिक पूर्वाधार, फर्निचर तथा आवश्यक औषधि उपकरण औजारको व्यवस्था मिलाइनेछ ।शहरी स्वास्थ्य सेवा केन्द्र रतुदेवीस्थान र अलायाचौरमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिनेछ ।
  • थारु समुदायमा सिकलसेल एनिमिया रोगको परीक्षण तथा उपचार गर्न कर्णाली प्रदेश अस्पतालसंग सहकार्य गरिनेछ ।
  • नगरपालिका अन्तर्गत टाढा भएका वडाहरुमा विशेषज्ञ सहितको दाँत, आँखा र कान सम्बन्धी स्वास्थ्य शिवीर संचालन गर्ने व्यवस्था मिलाईनेछ ।
  • आयुर्वेदिक पद्धतिलाई जनसमुदायको पहुँचमा पुर्याउन आयुर्वेदिक शिविर सञ्चालन गरिने तथा आरोग्य केन्द्र थप सुविधा सम्पन्न गराईनेछ ।
  • स्तनपान कक्ष तथा पोषण कर्नर नभएका स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्षको व्यवस्थापन गरिनेछ ।
  • स्वास्थ्य संस्थाजन्य फोहोरमैलालाई उचित रुपमा विसर्जनको व्यवस्था मिलाईने छ ।
  • यस नगरपालिका अन्तर्गत मापदण्ड अनुसार नभएका स्वास्थ्य संस्थाको प्राथमिकता अनुसार भवन निर्माण गर्ने तथा पुराना संरचनाको मर्मत संभार फर्निचर र औजार उपकरणको व्यवस्था गरिने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
  • स्वास्थ्य क्षेत्रमा कामगर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसंग समन्वय गरी गुणस्तरीय स्वास्थ्य सेवालाई थप सुदृढीकरण गराईनेछ ।
  • अति विपन्न नागरिकहरुलाई वडाको सिफारिशमा सम्बन्धित अस्पतालमा निःशुल्क औषधि उपचारका लागि सिफारिस गरिनेछ । साथै तोकिएका दिर्घरोगीहरुलाई मासिक औषधि उपचार खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईनेछ ।
  • सरकारी तथा निजि लगानीमा सञ्चालित स्वास्थ्य संस्थाहरुको नियमन, अनुगमन र मूल्यांकन गरिने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
  • स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र उपयोग बृद्धि गर्नका लागि स्वास्थ्य आमा समूहलाई पुनर्जागरण गरिनेछ ।
  • स्वास्थ्य सम्बन्धी राष्ट्रिय अभियानहरुलाई संघ र प्रदेश सरकारसंगको सहकार्य र समन्वयमा सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
  • कार्यसम्पादनका आधारमा स्वास्थ्य संस्था र स्वास्थ्य कर्मचारीहरुको मूल्यांकन गरी उच्च कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र कर्मचारीलाई पुरस्कृत तथा प्रोत्साहन गर्ने व्यवस्था गरिनेछ ।

) सामाजिक विकास, सघं संस्था तथा समावेशीकरण

  • नगरपालिकाबाट सञ्चालन गरिने लक्षित वर्ग दलित, जनजाती, वादी, गाइन, राजी तथा मुक्त हलिया तथा अन्य लोपोन्मुख समुदायहरुलाई जनचेतनामूलक उत्पादन र सामाजिक सशक्तिकरण कार्यक्रमका अतिरिक्त सीप विकास, उद्यमशीलता र उत्पादनका क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • नगरपालिकालाई कार्यक्षेत्र तोकेका गैरसरकारी सघं संस्थाहरुको विषयगत क्षेत्र वर्गीकरण गरी एकद्वार प्रणालीमार्फत परिचालनको व्यवस्था मिलाईनेछ। साथै गैरसरकारी सघं संस्थाहरुलाई कार्यक्रम सञ्चालन गराउँदा नगरपालिकाले प्रथामिकता तोकेका कार्यक्रमहरु सञ्चालन गर्ने गरी योजना बनाइनेछ।
  • टोल विकास संस्थाहरुलाई व्यवस्थित बनाउनका लागि टोल विकास सञ्चालन कार्यविधी बमोजिम विकास निर्माण र सामाजिक परिचालनको एउटा सशक्त आधारभूत निकायको रुपमा विकास गर्न क्षमता विकासका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालनमा ल्याइनेछ।
  • टोल विकास संस्थाहरुलाई अधिकारमुखी कार्यक्रमका अतिरिक्त कर्तव्यमा आधारित कार्यक्रमका लागी समेत सहजीकरणमा जोड दिइनेछ । वडाबाट सञ्चालन हुने कार्यक्रमको अभियानका लागी सामुदायिक प्रशिक्षकहरुलाई परिचालन गरिनेछ ।
  • हाल सञ्चालनमा रहेका स्थानीय विकास कोष र साझेदारी विकास कोषको रकमलाई विभिन्न व्यवसाय गर्न चाहानेहरुका लागि उक्त कोषमा दायरा फराकिलो बनाई उद्योग, व्यापार र व्यवसाय सञ्चालनमा आकर्षित गरिनेछ।
  • जातिय छुवाछुत, सामाजिक कुरीति र कुसंस्कार विरुद्ध अभियानात्मक, उत्प्रेरणात्मक तथा प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरी समृद्ध न्याय र समतामूलक समाज निर्माणतर्फ उन्मुख गराइनेछ।
  • लक्षित वर्गका व्यक्तिहरुको सशक्तिकरणका लागि आवश्यक कार्यक्रम निर्माण र कार्यान्वयन गर्न कार्यविधि वनाई लागू गरिनेछ ।

) महिला, बालबालिका तथा जेष्ठ नागरिक

  • नगरपालिकाद्वारा निर्माण गरिएको सामाजिक सुरक्षा भवन (Safe House) सञ्चालन गरी कर्णाली प्रदेशबाट सेवा लिन आउने हिंशा प्रभावित महिलाहरुलाई सेवा दिने नीति लिइनेछ । कार्यविधि निर्माण गरी साझेदार निकायसंग समन्वय गरी सञ्चालनको प्रक्रिया अघि बढाइनेछ ।
  • एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगरको विकास र संबृद्धिको मूल आधार भन्ने आदर्श वाक्यका साथ नगरस्तरीय महिला स्वरोजगार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
  • महिला, बालबालिका माथि हुने घरेलु हिंसा अन्त्यका लागि समुदाय स्तरमा बहस, पैरवी तथा सचेतनामूलक अभियान कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • सामाजिक कुरीति, हानिकारक अभ्यास र कुसंस्कार विरुद्ध अभियानात्मक र प्रचारात्मक कार्यक्रमहरु संचालन गरी समृद्ध न्याय र समतामूलक समाज निर्माण तर्फ उन्मुख गराईनेछ ।
  • महिलाहरुलाई आत्म निर्भर बनाउन व्यावसायिक सीपमूलक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराईनेछ ।
  • बालमैत्री, बालश्रमुक्त र बालविवाहमुक्त नगरपालिका निर्माणका लागि अभियानात्मक कार्यक्रम संचालन गरिनेछ ।
  • जोखिममा रहेका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरुको विशेष संरक्षण र सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गरिनेछ ।
  • नगरस्तरीय बाल सञ्जाल र बाल क्लबका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
  • बालमैत्री नगर घोषणा गर्न आवश्यक सूचक पूरा गरी यस आर्थिक बर्षमा केही वडाहरुलाई बालमैत्री वडा घोषणा गरिनेछ ।
  • लैङ्गिक समानता, सामाजिक न्याय र समावेशीकरण केन्द्रित कार्यक्रमहरुको सञ्चालनमा प्राथमिकता दिइनेछ ।
  • जेष्ठ नागरिकको सम्मानको लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ । वडा समितिको सिफारिशमा ८० वर्ष माथिका नगरपालिकामा स्थायी बसोबासी सबै जेष्ठनागरिकलाई सम्मान गरिनेछ ।
  • जेष्ठ नागरिक सांगितिक सम्मेलन आयोजना गरिनेछ । जेष्ठ नागरिकको सिकाइ अनुभवलाई नगरपालिकाको समृद्धिमा अधिकतम प्रयोगमा ल्याउन सकिने गरी कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।
  • जेष्ठ नागरिक दिवा सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन गरी
  • सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्ने गरि विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।
  • वडा कार्यालयको जन्म दर्ताको सिफारिशमा छोरी जन्म वचतका लागि प्रोत्सहान रकम उपलब्ध गराई छोरीको नाममा बैक खाता खोल्न प्रेरित गरिनेछ ।
  • हिंसा प्रभावित महिलाका लागि संरक्षण केन्द्रको संचालन तथा ब्यवस्थापन गर्दे हिंसा प्रभावित विपन्न महिलाको लागि विशेष कोषको ब्यवस्था गरिनेछ ।

 

) पर्यटन, भाषा, कला, साहित्य तथा संस्कृति

  • नगरभित्र रहेका होमस्टेहरुको सेवा सुविधाको जानकारीमूलक व्रुसर निर्माण गरिनेछ । दशौं राष्ट्रिय खेलकूद प्रतियोगितामा विभिन्न जिल्लावाट आउने खेलाडीहरुलाइ वास वस्न सहजताका लागि होम स्टेमा वास तथा पेइड र नन् पेइड गेष्ट गराउन आवश्यक समन्वय गरिनेछ ।
  • नगरभित्र रहेका आदीवासी जनजातीहरुको भाषा, सस्कृति र संग्रहालयहरुको संरक्षणमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
  • राष्ट्रिय खेलकूदका समयमा हुन सक्ने पर्यटन प्रचारलाई मध्यनजर गरेर नगर भित्र नगर पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।
  • लोक कला संस्कृतिको जगेर्ना गर्न जेष्ठ नागरिक लक्षित भजन तथा नृत्य तालिम कार्यक्रम संचलन गरिनेछ ।
  • नगरभित्र रहेका विभिन्न सार्वजनिक मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जितर चर्चहरुको मर्मत सभार र संरक्षणमा जोड दिइनुका साथैस्थानीय लोक कलाको संरक्षण गर्न नगरभित्र रहेका पञ्चे बाजा रसारंगीको सम्बर्धन गर्दै वादन कला हस्तान्तरण तथा स्तरवृद्धिका कार्यक्रममा सहयोग गरिनेछ ।
  • कला साहित्यमा रुचि जगाउने तथा बालबालिका देखिनै लेखन शिप तथा पठन संस्कृतिको विकास गर्न वजार क्षेत्रलाई लक्षित गरेर लेखन पठन अभ्याश थलो निर्माण गरी संचालन तथा व्यवस्थापनमा स्थानीय संघ संस्थाहरु परिचालन गरिनेछ ।
  • वीरेन्द्रनगर नगरपालिका भित्रका ऐतिहासीक वस्ती कटकुवा, गढी, जर्वुटाजस्ता स्थानको ऐतिहासिक पक्षको खोज अनुसन्धान प्रकाशन गर्न संघ संस्थाहरुलाइ आवश्यक सहयोग एवं सहकार्य गरिनेछ ।
  • कला, साहित्य तथा संस्कृतिको प्रबर्द्धनमा विशेष योगदान पुग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका गतिविधिहरुमा सहकार्य गर्दै स्थानीय स्तरका विभिन्न क्लब, प्रतिष्ठान र समूहहरुलाई प्रोत्साहन गरिनेछ ।
  • वीरेन्द्रनगरको निकास खोला लगायत नगरका विभिन्न स्थानमा वन्जीजम्प जस्ता साहासिक पर्यटनका लागि सम्भाब्यता अध्ययन गरिनेछ ।
  • नगरभित्रका सार्वजनिक खाली जग्गाहरुमा पर्यटन प्रवर्धनमा टेवापुग्ने पार्क एवं व्यवसाय संचालनमा नीजि क्षेत्रसंग सहकार्य गरिनेछ ।

 

आदरणीय नगरसभा सदस्यज्यूहरु

अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रमको स्वीकृत र प्रभावकारी कार्यान्वयनका लागि यहाँहरुको रचनात्मक सल्लाह र सुझावको खाचो सदैव रहने नै छ । यस सभालाई गरिमामय र व्यवस्थित बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्नु हुने वडाध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु र विभिन्न विषयगत समितिप्रति धन्यवाद दिन चाहन्छु । यस नगरपालिकाको आगामी बर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमहरु तयारीका क्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने राजनितक दलका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार, साझेदार निकायका प्रतिनिधहरु लगायत सबै महानुभावहरुप्रति कृतज्ञता प्रकट गर्दै प्रशासनिक रुपमा सहयोग पुर्याउनुहुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखज्यूहरु लगायत अन्य सबै कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।