सिम्ता एमालेको किल्ला भत्काउदै कांग्रेस


सिम्ता, २२ बैशाख । सुर्खेतमा एमालेको पकडक्षेत्रको रुपमा परिचित सिम्तामा काँग्रेसले आफ्नो प्रभाव बढाउन थालेको छ । सिम्तालाई एमालेले आफ्नो भोट बैकंको रुपमा प्रयोग गर्दैआएको थियो ।

तर अहिले त्यो परिस्थित रहन सकेन । यसअघि सिम्ताबाट नेकपा एमालेले संसदिय निर्वाचनमा ४५ सय देखी पाँच हजार सम्म बढि मतको अग्रता लिने गरेको थियो ।

एमाले नेता ऋृषिप्रसाद शर्माले सुर्खेत क्षेत्र नम्बर १ बाट संसदिय निर्वाचनमा भाग लिदैगर्दा सिम्तालाई एमालेको किल्लाको रुपमा हेर्ने गरिन्थ्यो । शर्माको जन्मस्थल रहेको सिम्तामा उनको प्रभाव निकै बलियो थियो ।

यतिसम्म कि सिम्ताको घोरेटा र आग्रीगाँउ मतदानस्थलमा कांग्रेसले आफ्नो निर्वाचनमा एजेन्ट राख्न समेत नस्कने परिस्थित हुन्थ्यो । दुइपटक संसदिय निर्वाचनमा सिम्ताबाट भारीमत ल्याएपनि शर्मा बिजयी हुन सफल भएनन् । कारण थियो, नेपाली कांग्रेका प्रभावशाली नेता पुर्णबहादुर खड्काको पडक क्षेत्र मानिने भेरीबेल्ड । जहाँबाट नेपाली कांग्रेसले अत्याधिक मत प्राप्त गरी विजयी हासिल गर्थो ।

२०६४ सालको निर्वाचनमा ऋृषिप्रसाद शर्माको मृत्युपछि उनकी श्रीमती कमला शर्मा निर्वाचनमा भाग लिदा सिम्ताबाट छ हजार मतले अग्रता लिएका थिए । त्यही समयमा उनले नेपाली कांग्रेसका उम्मेद्वार लालबहादुर घलेलाई पराजित गर्न सफल भएका थिए । २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेसका लालबहादुर घले एमालेका कमलासंग ६ हजार ४६९ मतान्तरले पराजित भए ।

शर्माले १८ हजार ८०४ मत ल्याई बिजयी हुदाँ १२ हजार ३३३ मत पाए । पहिले एमालेको लागि आधार क्षेत्र मानिने सिम्ता अहिले आएर कांग्रेसको लागि अनुकुल बनेको छ । २०७० को निर्वाचनमा भने कांग्रेसले साख फर्काउन सफल भयो भने एमालेले यस अघिको विजयलाई कायम गर्न सकेन ।त्यतिवेला नेपाली कांग्रेका नेता पुर्णबहादुर खड्काले १८ सय मत अन्तरले जित हात पारे ।

त्यो समयमा एमालेको पकड क्षेत्रको रुपमा रहेको सिम्ताबाटै मत कम आयो । त्यसको चारबर्षमा कांग्रेसले सिम्तमा आफ्नो संगठन विस्तार गर्दै प्रभाव पनि बढायो । देश संघिय संरचनामा गएपछि तत्कालिन सुर्खेत क्षेत्र नम्बर २ मा रहेको साविकको काफलकोट गाविस पनि सिम्तामा गाभियो । अनि कांग्रेसको संगठन थप मजबुद बन्न पुग्यो । २०७४ सालको निर्वाचनमा कांग्रेसले ९ वडा रहेको सिम्तामा ३ वडामा जित हात पार्यो । तर पालिको अध्यक्षमा भने ७५१ मतले एमालेका कविन्द्र केसीले जित हात पार्नुभयो । सिम्ता गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले ४ हजार ६०४, एमालेले ५ हजार ३५५ र माओवादी केन्द्रले ६ सय ६४ मत ल्याएका थिए ।

एमालेलाई साख जोगाउन कठिन

यही ३० गते हुने निर्वाचनमा एमालेलाई साख जोगाउन कठिन भएको छ । अहिले एमाले विभाजनको असर सिम्तामा पनि परेको छ । कांग्रेस भने एकढिका देखिएको छ । एमालेको पकड क्षेत्र मानिएको घोरेटमा कांग्रेसले समाजवादीलाई वडा अध्यक्षमा सघाएको छ । जसको कारण त्यहाँको मत विभाजन हुने देखिन्छ । २०७४ सालको स्थानियतहलाइ नै आधार मान्ने हो भने कांग्रेसको ४ हजार ६०४ र माओवादीको ६ सय ६४ जोड्दा ८७ मतको अन्तर हुन्छ । एमालेबाट समाजवादीमा २ सय भन्दा धेरै गएको देखिन्छ ।

त्यो समाजवादीको मत पनि कांग्रेसमा थपिने भएकाले यसपाली सिम्तामा कांग्रेसको जित सुनिश्चत भएको नेपाली कांग्रेस प्रदेश सदस्य गंगाराम सापकोटाले बतए । अहिले सिम्तामा कांग्रेसले आफ्नो आधार इलाकाको रुपमा काप्रेचौरलाई लिएको छ । जहाँ ६ सय मतले कांग्रेस अगाडी रहेकाले निर्वाचन जितिने आकलन गरिएको छ । चुनावी प्रचारमा भ्याईनभाई आसन्न स्थानियतहको निर्वाचनमा सबैदललाई यतिवेला चुनावी दौडदुवको भ्याईनभाई छ । कांग्रेस सिम्ताले अहिले टोलटोलमा घरदैलो अभियान नै संञ्चालन गरेको छ ।

काँग्रेसले तिन वटा वडामा वृह्त चुनावी सभाको आयोजना समेत गरेको छ । सिम्ताको ८ नम्बर वडाको डाडाँखाली, ९ को दुनिबजार र ५ को आलीमा सभाको आयोजना गरिएको छ । सभालाई निवर्तमान उपसभापति टेकबहादुर सिहँ,क्षेत्रिय सचिव मोहन राना सिम्ता गाँउ कार्यसमितिका सभापति तथा अध्यक्षका उम्मेद्वार विरवहादुर रावत लगायतले सम्बोधन गरेका छन् ।