९ नं. वडामा नवनिर्मित प्रहरी विट भवनको उद्घाटन


१४ चैत्र, सुर्खेत । वीरेन्द्रनगरको प्रमुख पर्यटकिय वडा नं. ९ मा रहेको अस्थाई प्रहरी विटको आज नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

२०७६ भाद्र २५ गतेबाट सञ्चालनमा रहेको अस्थाई प्रहरी विट आजबाट आफ्नै भवनबाट सञ्चालनमा आएको हो । नवनिर्मित भवनको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी उपप्रमुख मोहनमाया ढकाल र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले संयूक्तरुपमा शुभारम्भ गर्नुभएको हो ।

नवनिर्मित भवनको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख सुवेदी देश कै ऐतिहासिक क्षेत्र काँक्रेविहार भएकोले प्रहरी एक्लैले मात्र केही गर्न नसक्ने भन्दै यहाँका स्थानीयले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले एक फरक प्रसङ्गमा यो ९ नं.  वडामा विकासको क्षेत्रमा वडाले आफ्नो आधारशिला प्राप्त गरेको औल्याउनुभयो ।

त्यस्तै नगर उपप्रमुख मोहनमाया ढकालले बढ्दो जनसंख्या संगै सुरक्षा चुनौती राज्य संग भएकोले जनता संग प्रहरी छ भन्ने अनुभुति दिएर प्रहरीले काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ९ नं. वडाअध्यक्ष सुरेश मानन्धरले वडामा करिव ६ लाख ५० हजार अस्थाई प्रहरी विट स्थापनाकालागि काँक्रेविहारको मुल गेट संगै प्रहरी विट भवन निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो “यो प्रहरी विटले ९ नम्बर मात्र नभएर २ र १० नम्बर वडाको पनि केही क्षेत्र हेरिरहेको छ । यस क्षेत्रमा लागुऔधष नियन्त्रण गर्न प्रहरी र जनता उतिकै लाग्नुपर्छ ।”

राधा विकले सहजीकरण गर्नुभएको कार्यक्रममा स्थानीय समाजसेवी डम्मरविक्रम जिसी, गणेश वली, कर्णाली प्रदेश सरकारका पूर्व मुख्यन्याधिवक्ता विद्याभूषण मानन्धर वडा सदस्यद्वय जीवनकुमार शर्मा, टिका विक लगाएतको उपस्थिति रहेको थियो ।