प्रदेश संग्रहालयलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन मन्त्रीको निर्देशन


३१ श्रावण, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश संग्रहालयलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिनुभएको छ ।

मन्त्री बुढाक्षेत्रीले कर्णाली धार्मिक, सांस्कृतिक र ऐतिहासिक पूरातात्विक महत्वको केन्द्र भएकाले संग्राहलयमा यसको प्रतिबिम्ब झल्कनुपर्ने बताउनुभयो । ‘कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक, प्राकृतिक, रहनसहन र पुरातात्विक महत्वको केन्द्र हो,’ उहाँले भन्नुभयो, ‘त्यसको प्रतिबिम्ब प्रदेश संग्रहालयमा झल्किनुपर्छ ।’ मन्त्री बुढाक्षेत्रीले कर्णालीको भाषा, संस्कृति र परम्पराको अध्ययन केन्द्रको रुपमा पनि संग्रहालयलाई विकास गर्नुपर्ने बताउनुभयो ।

‘कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रदेशको बारेमा जान्न र बुझाउन संग्रहालयको महत्वपूर्ण भूमिका रहन्छ,’ मन्त्री बुढाले भन्नुभयो, ‘सोही अनुसारको पूर्वाधार, अध्ययन सामाग्री र संग्रहहरु हुन आवश्यक छ ।’ मन्त्री बुढाक्षेत्रीले संग्रहालय मार्फत कर्णालीका १० वटै जिल्लाका पर्यटकीय, सांस्कृतिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।

‘कर्णालीका सबै जिल्लाहरु सांस्कृति, धार्मिक, पुरातात्विक महत्वका स्थलहरु हुन्,’ उहाँले भन्नुभयो, ‘ति क्षेत्रहरुका बारेमा संग्रहालयमा आएका पर्यटकहरुलाई जानकारी दिने गरेर तयारी गर्न आवश्यक छ ।’ मन्त्री बुढाक्षेत्रीले चालू आर्थिक वर्षभित्र सबै कर्णालीका पर्यटकीय, धार्मिक, सांस्कृति र पुरातात्विक क्षेत्रको भिडियो डकुमेन्टी तयार गरेर संग्रहालयमा आउने पर्यटकहरुलाई देखाउने वातावरण बनाउन पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा संग्रहालयका प्रमुख डबलप्रसाद शर्माले कार्यालयले गरिरहेका कामहरु र भावी योजनाका बारेमा जानकारी गराउनुभयो । उहाँले पुस्तकालय भवन नबन्दा संग्रहालयमा आउने पर्यटकहरुलाई कर्णालीका बारेमा बुझाउन समस्या भइरहेको बताउनुभयो । कार्यालय प्रमुख शर्माले अघिल्लो वर्ष बजेट भएर पनि कर्णालीका धार्मिक, पर्यटकीय, सांस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको संग्रह तयार गर्न नसकेको जानकारी दिनुभयो ।