राष्ट्रिय सहकारी बैंकका दुई प्रवन्धकलाई उपकार बहुउद्देश्यीय सहकारीद्वारा सम्मान



६ मंसिर, सुर्खेत । उपकार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–१०, सुर्खेतले राष्ट्रिय सहकारी बैंकका दुई जना प्रवन्धकलाई सम्मानित गरेको छ ।

बिगत लामो समयदेखि राष्ट्रिय सहकारी बैंक शाखा सुर्खेतमा कार्यरत रहित नेपालगंजमा प्रवन्धकको जिम्मेवारीका साथ जानुभएका सागरनाथ योगीलाई र राष्ट्रिय सहकारी बैंक सुर्खेतमा प्रवन्धकको जिम्मेवारीका साथ आउनुभएका हिरालाल सुनारलाई उपकार सहकारीले कार्यालयमा एक कार्यक्रमका बीच सम्मान तथा स्वागत गरेको हो ।
राष्ट्रिय सहकारी बैंक सुर्खेतमा सरुवा भइ आउनुभएका प्रवन्धक हिरालाल सुनार सुर्खेतबासी हुनुका साथै राष्ट्रिय सहकारी बैंक सुर्खेतमा स्थापनाकालका प्रवन्धक समेत हुनुहुन्थ्यो । उहाँ यस अघि विभिन्न जिल्लामा प्रवन्धक हुँदै राष्ट्रिय सहकारी बैंक केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँले उपकार बहुउद्देश्यीय सहकारी संस्था स्थापनामा आफ्नो सल्लाह र सुझाव भएकाले आगामी दिनमा सहकारीलाई राष्ट्रिय सहकारी बैंक सुर्खेतबाट थप सहयोग गर्ने बताउनुभयो ।

सहकारीमा आर्थिक कारोबार मात्र नहुने भन्दै प्रवन्धक हिरालाल सुनारले तालिम, सहजीकरण, योजना आदिमा समेत उपकार बहुउद्देश्यीय सहकारी संस्थालाई थप बलियो बनाउन आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले यसका लागि आफू र आफ्नो कार्यालयको तर्फबाट पूर्ण सहयोग हुने समेत बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंक सुर्खेतमा विगत लामोसमयदेखि प्रवन्धकको जिम्मेवारी सम्हाल्नुभएका सागरनाथ योगी भर्खरै सरुवा भएर नेपालगञ्ज बाँकेमा जानुभएको छ । उहाँले सुर्खेतमा रहँदा सहकारी आन्दोलन र सहकारी गतिविधिमा अतुलनीय योगदान गरेको ठहर गर्दै सहकारीले सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै प्रवन्धक योगीले उपकार बहुउद्देश्यीय सहकारी युवा र केही गरौ भन्ने व्यक्तिहरुले सञ्चालन गरेकाले दिनप्रतिदिन प्रगति गर्दै गइरहेको बताउनुभयो । सञ्चालक समितिका सदस्यहरु आफै क्रियाशील भएर सहकारीका गतिविधि सुक्ष्म तरिकाले अगाडि बढाएकाले सहकारीको आर्थिक कारोबारो सकारात्मक भएको बताउँदै प्रवन्धक योगीले आगामी दिनमा पनि थप क्रियाशील भएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रवन्धकद्वय योगी र सुनारलाई सम्मान गर्दै उपकार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णुविक्रम जिसीले राष्ट्रिय सहकारी बैंकको साथ र सहयोगले सहकारीलाई थप अगाडि बढाउन सजिलो भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा समेत राष्ट्रिय सहकारी बैंक सहकारीहरुको अभिभावक समेत भएकाले आगामी दिनमा समेत थप सल्लाह, सुझाव र मार्गनिर्देशन निरन्तर हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

सहकारीका सञ्चालक समितिका सदस्यहरु र कर्मचारीहरु उपस्थित रहेको कार्यक्रमको सञ्चालन सहकारीका सचिव यज्ञप्रसाद आचार्यले गर्नुभएको थियो भने उपकार सहकारीका उपाध्यक्ष शशी आचार्यले सहकारीले गरिरहेका गतिविधि र आर्थिक कारोबारोका बारेमा जानकारी गराउनुभएको थियो ।
साभारः नेपालगाथामा ।