कालिकोटमा माइकिङ्ग गर्दै बालबालिका स्याहार सम्बन्धि चेतना



बिस्नप्रसाद न्यौपाने
११ जेठ, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा माईकिङ्ग गर्दै बालबालिका स्याहार सम्बन्धि सचेतना दिने गरिएको छ ।

सेभ चिल्डेन र भिडिसेफ नेपालको साझेदारीमा संचालित शुभारम्भ परियोजनाको सहयोग तथा तिलागुफा नगरपालिकाको समन्वयमा नगरका ९ वटै वडाहरुमा बालबालिकाको स्याहार सम्बन्धि सचेतना माईकमार्फत दिन थालिएको हो ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले गरेको निरन्तर लकडाउने सबै बालबालिका घरमै रहेका बेला उनीहरुको स्याहारमा अभिभावकहरुले ख्याल गर्नु पर्ने कुराहरु माईकिङ गरेर जानकारी दिने गरिएको नगरपालिका प्रमूख रतनबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, लकडाउनले घरमै बसेका बालबालिकाको खानपिन र स्यहारको ख्याल गरी कुपोषणको समस्या न्यूनिकरण गर्ने लक्ष्य रहेको छ । त्यसै लक्ष्यलाई पुरा गर्न शुभारम्भ परियोजनाका सामाजिक परिचालकहरुलाई परिचालन गरी माईकिङ्ग मार्फत बालबालिका स्याहार सम्बन्धि अभिभावकलाई शिक्षा दिन थालिएको हो ।

शुभारम्भ परियोजना संयोजक सन्ध्या सुवेदीले कुपोषण न्यूनिकरणका लागि टोल टोलमा गएर संचालन गर्ने सम्पर्क कक्षालाई लकडाउनका बेला स्थानिय रेडियो र हरेक वडामा कर्मचारीहरु खटाएर माइकिङ समेत गर्ने गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, लकडाउनको अवस्थामा बालबालिकाहरुको स्याहारमा कमी नहोस भन्ने उद्देश्यले माईकिङ गरेर सचेतना दिने गरिएको हो । टेलिफोन, रेडियो लगायतका संचारका साधनहरु नभएका टोलहरुमा माइकिङ अभिभावक शिक्षाका लागि निकै उपयोगी साधन बनेको छ ।

उहाँका अनुसार शुभारम्भ परियोजनाका सामजिक परिचालक र एलआरपीहरुले हातमा माईक लिएर गाँउको अग्लो ठाउँ गएर कथा भनेर खेलिने खेल, स्नेह र सामिप्यता, बालबालिकालाई उचित मार्गदर्शन सहितको हेरचाह, बालबालिकाको बिचार र भावना बुझ्नु, बालबालिकालाई शान्त बनाउने, बिरामी बालबालिकको हेरचाहको बारेमा जानकारी दिने गरिएको छ । गर्भा अवस्थादेखी ३ बर्षमुनीका बालबालिकाहरुकोे पोषण अवस्था सुधार गर्ने उद्देश्यले गाँउ गाँउमा अभिावकहरुलाई सन्तुलित भोजनका बिषयमा पनि जानकारी दिने गरिएको छ । माईकबाट दिईने अभिभावक शिक्षा घरमा खान पकाउदै, खान खादै, घरको काम गर्दै गरेका मानिसहरुले सहजै सुन्ने र व्यवहारमा प्रयोग पर्ने गर्ने गरेका छन् ।

स्थानिय पूर्णकला शाहीले आफुहरुले गाँउमा बालबालिकाहरलाई कसरी स्याहार गर्ने भन्ने बिषयमा माईकबाट जानकारी दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, नगरपालिका र संस्थाका कर्मचारी पहिले गाँउमै आएर यसबारे सिकाउने गरेका थिए । अहिले लकडाउनका कारण माथि डाँडाबाट माईकबाट सल्लाह दिन्छन् । हामीले अहिले उनीहरुले सिकाए अनुुसार बालबालिकालाई समय दिएर स्याहार गर्ने गरेको उहाँले बताउनुभयो ।

भिडिसेफ नेपालका व्यवस्थापक राजेन्द्र सहकारीले लकडाउनका बेला बालबालिकाको खानपीन तथा अन्य स्याहारका बिषयमा ख्याल गर्नु पर्ने कुराहरु माईकबाट सिकाउने कार्य निकै उपयोगी भएको बताउनुभयो ।