मुख्यमन्त्री तथा मन्त्रीहरुले विपद कोषमा १ महिनाको पारिश्रमिक जम्मा गर्ने


१३ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारको २३औं मन्त्री परिषद बैठकले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणकालागि मुख्यमन्त्री तथा सबै मन्त्रीहरुले १ महिनाको पारिश्रमिक प्रदेश विपद व्यवस्थापनकोमा जम्मा गर्ने निर्णय गरेको छ ।

बैठकले जनप्रतिनिधिहरू, राष्ट्रसेवक, उद्योगी, व्यवसायी एवं अन्य ईच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई उक्त कोष वृद्धिको लागि सहयोग गर्न अपिल गर्ने, अत्यावश्यक स्वास्थ्य सामाग्रिहरू आपूर्तीकालागि नेपाल सरकार समक्ष माग गर्ने, नेपाल सरकारले तत्काल उपलब्ध गराउन नसक्ने भएमा प्रदेश सरकार आफैले खरिद तथा आपूर्तीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित विरामीहरूको उपचारका गर्नकालागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिमका अस्पतालहरुलाई आइसोलेसन अस्पतालका रूपमा तोक्ने तथा उक्त अस्पतालहरूको समन्वय तथा परिचालन गर्न मन्त्रीहरूको संयोजकत्वमा अस्पताल समन्वय तथा परिचालन समिति गठन गर्नुको साथै तत्काल आवश्यक व्यवस्थापनका आर्थिक व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।