६ दिनमा नौ हजार सात सयको स्वास्थ्य परिक्षण, कोरोनाको लक्षण देखिएन


६ चैत्र, सल्यान। कर्णाली प्रदेशको प्रवेशद्वार सल्यान कपुरकोटमा गत चैत्र १ गते देखि शुरु भएको हेल्थ डेस्कमा विहिबार दिउँसो सम्म नौ हजार सात सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

कोरोना भाइरसबाट जोगिन र रोगीको पहिचान गर्न भन्दै कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

६ दिनको अवधिमा नाकाबाट प्रदेश भित्रने एक हजार ७ सय ५२ यातायातका साधन रोकेर ६ हजार ७ सय ४५ पुरुष र तीन हजार ४० जना महिलाको जाँच गरिएको डेस्कका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारि दिनुभयो । हाल सम्म कुनै पनि कोरोना संग सम्बन्धीत लक्षण फेला नपरेको उहाँले बताउनुभयो ।

गत शनिबार ९०२ जना पुरुष र ४११ जना महिला गरी १३१३ जना, आइतबार १०५७ पुरुष र ४५७ महिला गरी १५१४, सोमबार १२२७ पुरुष र ४५६ गरि १६८३ जना, मंगलबार ११११ पुरुष र ४३९ महिला गरी १५५० जना, बुधबार ११४२ पुरुष र ५४४ महिला गरी १६८६ जना व्यक्तिहरुको कोरोना स्क्रिनिङ परीक्षण गरिएको सेनले जानकारि गराए । यस्तै विहिबार दिउँसो सम्म पुरुष १३०६, महिला ७३३ जनाको जाँच गरिएको उहाँले बताउनुभयो ।

भारत लगाएत विभिन्न देशबाट फर्किएका नेपालीहरु कपुरकोट नाका भएर कर्णालीका विभिन्न जिल्लामा भित्रने भएकाले उच्च सतर्कता अपनाइएको गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले जानकारी दिनुभयो ।

कपुरकोटमा पालिका र वडास्तरिय सतर्कता समिति गठन हुने

विहिबार नै कपुरकोट गाउँपालिकामा स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकी प्रमुखहरु सहितको बैठक सम्पन्न भएको छ । बैठकले गाउँपालिकाभित्र रहेका स्वास्थ्यकर्मीहरुलाई समेत परिचालन गरेर हेल्थ डेस्कमा चौँबिसै घण्टा चेकजाँच गर्ने, गाउँपालिका स्तरिय र वडा स्तरिय कोरोना भाइरस सतर्कता समिति गठन गर्ने निर्णय गरेको छ । पालिका स्तरिय समिति ९ गते कार्यपालिका बैठकबाट गठन हुने र वडा स्तरिय समिति शुक्रबार नै सबै वडामा गठन हुने स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले बताउनुभयो ।

बैठकले सतर्कता सम्बन्धी आवश्यक क्रियाकलापहरु सञ्चालनका लागी बजेट ब्यवस्थापन गर्न कार्यपालिकालाई अनुरोध समेत गरेको छ । हेल्थ डेस्कमा सुरक्षाकर्मीको समेत आवश्यकता पर्ने तर अहिले अभाव रहेकाले जिल्ला प्रहरी कार्यालयलाई थप जनशक्ति ब्यवस्थापनका लागि अनुरोध गर्ने, आवश्यक औषधि तथा उपकरणका लागी प्रदेश तथा संघीय सरकारसंग माग गर्ने निर्णय पनि गरेको फोकल पर्सन सेनले जानकारी दिनुभयो ।