लिंगको विकास गर्न के गर्नुपर्छ ?


– .डा.राजेन्द्र भद्रा

लिंग कत्रो हुनुपर्छ ? 
लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक–फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो भने कसैको पातलो अनि त्यसको आकार पनि फरक हुन सक्छ । एक अध्ययनले सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च हुने कुरा उल्लेख गरेको छ । त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च भएको बताइन्छ ।
अहिले देशअनुसार लिंगको नापसम्बन्धी अध्ययन पनि गरिएका छन् । अध्ययनअनुसार केही विविधता भए पनि कङ्गो (७ दशमलव १ इन्च), इक्वेटरको (६ दशमलव ९ इन्च) भने, हल्यान्डको (६ दशमलव २ इन्च), फ्रान्सको (५ दशमलव ७ इन्च), बेलायतको (५ दशमलव ५ इन्च), संयुक्त राज्य अमेरिकाको (५ दशमलव १ इन्च), पाकिस्तानको (४ दशमलव ८ इन्च), दक्षिण कोरियाको (४ दशमलव ४ इन्च), जापानको (४ दशमलव ३ इन्च), थाइल्यान्डको (४ इन्च), भारतको (४ इन्च), उत्तरी कोरियाको (३ दशमलव ८ इन्च) देखिएको छ । नेपालको सन्दर्भमा लिंगको नापको तथ्यांक उपलब्ध नभएका कारण यसै भन्न नसकिए पनि हाम्रो वरिपरिको देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरामा मिल्ने भएकाले तुलना गर्न मनासिव नै होला ।

आफ्नो लिंगको नाप नलेख्नु भएका कारण तपाईंको लिंग साँच्चिकै सानो छ कि छैन भन्न सकिने स्थिति भएन । उचित तरिकाले लिंगको नाप लिनु जरुरी छ, तर कतिपय व्यक्तिलाई आफ्नो लिंगको नाप सामान्य नै भए पनि सानो भएजस्तो लाग्छ । यस्तो स्थितिलाई हामी Small Penis Syndrome भन्छौं ।

लिंग कसरी नाप्ने ?
सर्वप्रथम नाप्न आवश्यक सामग्री रुलर (स्केल) अनि नाप्ने फित्ताको व्यवस्था गर्नुहोस् । उत्तेजित लिंगको नाप लिन सर्वप्रथम लिंगलाई पूर्ण उत्तेजनामा ल्याउनुपर्छ । लम्बाइ नाप्न लिंगको फेद अर्थात् लिंग शरीरमा टाँसिएको स्थानमा राख्नुहोस् र जघनास्थीमा थिचेर उत्तेजित लिंगको समानान्तर राख्दै लिंगमुन्डको टुप्पोसम्म नाप लिनुहोस् । यही नै लिंगको लम्बाइ हो । जघनास्थीमा राम्रोसँग नथिची नाप लिँदा विशेष गरेर मोटो व्यक्तिमा छालामा बोसो हुने हुँदा लिंग लम्बाइभन्दा छोटो लाग्न सक्छ ।

लिंगको मोटाइ नाप्न लचिलो नाप्ने फित्ताले उत्तेजित लिंगको बीचतिरको सबैभन्दा मोटो भागलाई बेर्नुहोस् र नाप लिनुहोस् । यो नै लिंगको मोटाइ हो । लचिलो नाप्ने फित्ता छैन भने कुनै पातलो डोरीले यसरी नापेर रुलरमा कति छ भनेर हेर्न सकिन्छ ।

Small Penis Syndrome (लघु लिंग सिन्ड्रोम) के हो ?

लिंग एक विशेष अंग हो र यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएर पनि यस्तो भएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाईलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँगै जोडिएको मान्छन् । त्यसैले कतिपय व्यक्तिमा आफ्नो लिंग नापप्रति निकै चासो र चिन्ता हुन्छ । चिकित्सा विज्ञानका दृष्टिले सामान्य नापको लिंग भए पनि आफ्नो लिंग सानो भयो भनेर बढी अत्यधिक चिन्ता लिनुलाई नै Small penis syndrome वा Penis dysmorphophobia भनिन्छ । लिंग सानो हुने समस्यालाई अंग्रेजीमा Micropenis वा Micro-phallus भनिन्छ ।

लिंगको नाप सामान्य नै हुने भएकाले यो समस्या समाधानका लागि मानसिक समस्या समाधान गर्न ध्यान दिनुपर्छ । त्यसका लागि मनोपरामर्शको आवश्यकता पर्छ । बुझ्नुपर्ने कुरा के भने हामी सबैको शरीर तथा अङ्ग–प्रत्यङ्ग एकै नासका छैनन् । व्यक्तिअनुसार केही न केही फरक त हुन्छ नै । उदाहरणका लागि हाम्रो उचाइ पनि एकनासको हुँदैन, तर केही अग्लो वा होचो हुँदैमा जीवनमा आइपर्ने कार्य गर्नै नसक्ने पनि होइन । यो कुरा लिंगमा पनि लागू हुन्छ । साथी वा अरू कसैको जस्तो वा छापा वा विद्युतीय माध्यममा विज्ञापन गरिएजस्तो लिंगको लम्बाइ–मोटाइ हुनुपर्छ भनेर दिग्भ्रमित नहुनुहोस् । कतिपयलाई केटीसाथी वा श्रीमतीले सानो लिंग भएकाले हेयदृष्टिले हेर्लिन वा यौन सुख दिन नसकिएला भन्ने चिन्ता पनि होला, तर यसमा सत्यता छैन भन्ने कुरा पनि बुझ्नुपर्छ ।

अध्ययनहरूले देखाएका छन् कि धेरैजसो महिलाले यौनसम्पर्कका बेला पुरुष यौनसाथीको लिंगको लम्बाई वा आकारलाई खासै चासोको विषय पनि बनाउँदैनन् । लिंग प्रदर्शित गर्दै हिँड्नुपर्ने कुरा होइन, त्यसैले कहीँ कतै जाँदा पीर गर्नुपर्ने कारण छैन ।

सबैभन्दा महत्वपूर्ण कुरा महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुर हो र यो बाहिरै हुन्छ । महिलाले यही अङ्गको घर्षणबाट नै यौन सन्तुष्टि प्राप्त गर्छन् । योनि–लिंग मैथुनमा लिंगको लम्बाइ वा मोटाइ बढाए पनि यसले भगांकुरको घर्षणमा खासै फाइदा पुग्ने होईन, बरु त्यसका लागि एकातिर लिंगभन्दा औंला नै बढी सहयोगी सावित हुनसक्छ भने अर्कातिर आसन परिवर्तन ।

महिलाको योनिको बाहिरी (योनिद्वारतिरको एकतिहाइ) भाग यौन संवेदनशील हुन्छ न कि भित्री भाग । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सजिलै सक्नुभएको छ र हातले अँठयाउन सक्नुभएको छ भने यो लम्बाईको लिंग योनिको बाह्य भागमा घर्षण गर्न पर्याप्त हुन्छ । 
साभार : विश्व खबर डट कम