डडेल्धुरामा बस दुर्घटना : १६ को मृत्यु, ३० भन्दा बढी घाइते


धनगढी : डडेल्धुरामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ। उग्रतारा मन्दिरको जात्रा हेरेर घर फर्किरहेका यात्रु चढेको स्कुल बस केआई सिंह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका ११ मा पर्ने रडुवा भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा ३० बढी घाइते भएका छन्।

जिल्लाप्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार बिहीबार  साँझ पौने ७ बजेतिर डोटीमा रहेको पीसजोन विद्या निकेतन स्कुलको से १ क २९३ नम्बरको बस रडुवाको मोडमा दुर्घटनामा परेको हो। घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले बस सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको जानकारी दिए ।

डडेल्धुरामा हरेक मंसिरमा पर्ने पुर्णाीमाका दिन जात्रा लाग्ने गर्दछ। सुदूरपश्चिमका ९ जिल्लाका अतिरिक्त भारत र अन्य प्रदेशबाट पनि दर्शनार्थी उग्रताराको दर्शन गर्न आउने गर्दछन्।

डोटीबाट सार्वजनिक यातायातका साधनमा बढी भीड हुने भएकाले त्यहाँका स्थानीयले जात्रा हेर्न स्कुलको गाडी लगेकाे प्रहरीले बताएको छ। बसमा क्षमताभन्दा बढी यात्रु रहेका  दुर्घटना भएकाे प्रहरीले जनाएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले २५ भन्दा बढी गम्भीर घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरा उपचार भइरहेको छ ।

मृतकको सनाखत हुन सकेको छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीयको साथमा अबेर रातिसम्म उद्धार भइरहेको छ। गहिरो खेलामा गाडी पुगेकाले उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

‘घटनास्थलमा १६ जनाको शव भेटिएको छ। अहिलेसम्म कसैको पनि सनाखत हुन सकेको छैन’, जोशीले भने।

अन्नपूर्णपोष्ट अनलाइनबाट