प्रहरीको लाठीचार्जबाट आन्दोलनमा उत्रिएका इन्जिनियरिङ्गका १ बिधार्थी घाइते, ६ पक्राउ


सुर्खेत, १५ असार । विगत ३ वर्षदेखि आन्दोलनमा रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थी तोडफोडमा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

संकाय स्वायत्त हुनुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई विश्वविद्यालयका उपकूलपतिले वार्तामा बोलाएर पनि वार्ता नगर्ने भनेपछि आक्रोशित विद्यार्थी तोडफोडमा उत्रिएका थिए । विद्यार्थी तोडफोडमा उत्रिएपछि विश्वविद्यालयको गाडीको सिसा फुटेको छ भने उपकूलपतिको कार्यालयका झ्याल फुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले विद्यार्थी रामकुमार शाह, निकुञ्ज पाण्डे, न्युटन ओली, केशव खड्का, रामचन्द्र भण्डारी र निर्मल विसीलाई पक्राउ गरेको छ । प्रहरीको लाठीचार्जबाट निकुञ्ज पाण्डेको टाउकोमा ४ टाँका लागेका छन् । पक्राउ परेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।
साभारःलोकान्तर अनलाईन ।