बृहत बुद्ध सर्किटको खाका तयार


१४ असार, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धकालीन सभ्यतासँग जोडिएका नेपालका सबै क्षेत्रहरुलाई जोडेर पर्यटकीय विकास गर्ने उद्देश्यले बृहत बुद्ध सर्किटको खाका तयार गरिएको छ ।

लुम्बिनीलाई केन्द्रमा राख्दै कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धकालीन सम्पदाहरुलाई सर्किटमा समेटिएको छ । साथै नेपालका पूर्व-पश्चिम, उत्तर-दक्षिणका हिन्दु-बौद्धसँग सम्बन्धित क्षेत्रहरुलाई सर्किटको रुटमा समावेश गरेर विशेष सर्किट बनाउने उल्लेख गरिएको छ ।

लुम्बिनीदेखि कैलाश मानसरोवरसम्मको रुट सर्किटमा समेटिएको छ । यस्तै चीनले सुरु गरेको वान वेल्ट वान रुटको रेशम मार्गमा समेत यो बुद्ध सर्किटको रुटलाई जोडिएको छ ।

सरकारले गत वर्ष बृहत बुद्ध सर्किटको खाका बनाउन विशेष टोली गठन गरेको थियो । सोही टोलीले एक वर्षको समय लगाएर खाका तयार पारेको हो ।

टोलीले यही असार मसान्तसम्म अन्तिम खाका तयार पार्ने छ । बुद्ध सर्किटलाई मुलुकभर फैलाउने उद्देश्यका साथ खाका बनाइएको समितिका सदस्य रामचन्द्र सेढाईले बताए ।

अहिले तयार पारिएको दस्तावेजमा ग्रेटर लुम्बिनी बुद्धिष्ट सर्किटलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

यसमा लुम्बिनी-कपिलवस्तु-सैनामैना-बुटवल-तानसेन-देवदह-रामग्राम क्षेत्रलाई समावेश गरिएको छ । योसहित पूर्वको हलेसी हुँदै कोरला, सगरमाथा क्षेत्र, कञ्चनजंघा र मानसरोवर सम्मको आठ वटा रुटको खाका तयार पारिएको छ ।

नेपालका प्रमुख तीर्थस्थलहरू लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्ध बीचमा बन्ने बौद्ध सर्किटलाई राष्ट्रिय बौद्ध सर्किट मानिएको छ ।

स्थानीय बौद्ध सर्किटमा लुम्बिनी, कपिलवस्तु, कुदान, गोटिहवा, निग्लिहवा, सागरहवा, सैनामैना, बुटवल, रामग्राम, देवदह लगायतका लुम्बिनी वरिपरिका प्रमुख बौद्ध तीर्थस्थलहरू बीचमा बन्ने बौद्ध सर्किटलाई मानिएको छ ।

यस्तै लुम्बिनी बृहत् परिक्रमा (सर्किट)मा लुम्बिनी-कपिलवस्तु-सैनामैना-जितगढी-बुटवल-देवदह-नवलपरासीको रामग्रामलगायत लुम्बिनी गुरुयोजनाले चर्चेको तीन वर्ग माइल क्षेत्रको वरिपरि परिक्रमा गर्ने गरी अर्को सर्किट बनाइने छ ।

हिन्दु-बौद्ध सर्किटमा हिन्दु र बौद्ध दुबै धर्मावलम्बीहरूले सामुहिक तीर्थस्थलको रूपमा लिने लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, पाल्पा-पोखरा, रुरु-रेसुंगा, मनकामना, बेनी-मुक्तिनाथ-कागबेनीजस्ता तीर्थस्थलहरू बीचमा बन्ने बौद्ध सर्किटलाई लिइएको छ ।

अनलाइनखबरबाट