नपढाउने शिक्षकलाई तह लगाउन अभिभावक विद्यालयमा बसेर शिक्षकलाई चौकिदारी


रमेश कुमार वली
सल्यान ९ असार । सल्यानको एक विद्यालयमा विद्यालय नआउने तथा आएर पनि नपढाउने शिक्षकहरुलाई तह लगाउन अभिभावकहरु नै शिक्षकको गोठालो लाग्न थालेका छन् । जिल्लाको दार्मा गाउँपालिका ४ भल्चौरमा रहेको कालिका आधारभुत विद्यालयमा विहान विद्यार्थिहरुसँग अभिभावकपनि विद्यालय जान थालेका हुन । पालैपालो विहान विद्यालय गएका अभिभावकहरु वेलुकी विद्यार्थिसँग घर फर्कने गरेका छन् ।
अभिभावकहरु विद्यार्थिको पढाइ सुधार्न र शिक्षकहरुको अनुगमन गर्न विद्यालय जाने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा दार्मा गाउँपालिका ४ का वडा अध्यक्ष चन्द्र बहादुर रावतले जानकारी दिनुभयो । अभिभावकहरु विद्यालयमा पुगेर शिक्षकहरु विद्यालयमा आए नआएको शुनिश्चित गर्छन् विव्यस अध्यक्ष रावतले भन्नुभयो आएका शिक्षकहरुलाई पनि कक्षा कोठामा गएकी गएनन् अनि कक्षा कोठामा पुगेर पनि कसरी पढाए त्यो कुरा हेर्ने काम हुन्छ ।
एक महिना अघिदेखि विद्यालयले यो अभियान थालेको हो । शुरुको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुले चौकीदारी गरिसकेका छन् । विद्यालयले यो अभियान थालेको छोटो समयमै विद्यालयमा शैक्षिक स्थीतिमा उल्लेख्य सुधार आएको विद्यालयका प्रधानाध्यापक चक्र बहादुर बोहराले बताउनुभयो ।
शिक्षकहरु विद्यालय नियमित आउने र कक्षाकोठामा ४५ मिनेट नै बसेर नियमित रुपमा पढाउन थालेपछि विद्यालयको पढाइ निकै सुध्रीएको छ उहाँले भन्नुभयो विद्यार्थिहरु पनि अहिले त नियमित रुपमा विद्यालय आउन थालेका छन् ।
विद्यालयको पढाइ सुधारको लागी अनेक उपाय गरेपनि नसकेपछि अहिले यस्तो विधि अपनाएका हौँ विव्यस अध्यक्ष चन्द्र बहादुर रावतले भन्नुभयो वल्ल अहिले विद्यालय नमुना देखिएको छ ।
कक्षा ८ सम्म संचालित विद्यालयमा साढे २ सय बढि विद्यार्थिहरुले अध्ययन गर्दै आएका छन् । विद्यालयलाई नमुना विपद्यालयको रुपमा विकास गर्नको लागी सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानद्धारा संचालित एकिकृत परियोजनाले सहयोग गरिरहेको छ ।
दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले विद्यालयले संचालन गरेको राम्रो अभ्यासलाई अन्य विद्यालयमा पनि लागु गरिने बताउनुभयो । राम्रो अभ्यास सवैले सिको गर्नुपर्छ उहाँले भन्नुभयो गाउँपालिकाको शैक्षिक सुधारको लागी हामीहरु निरन्तर लागिरहेका छौँ ।
परियोजनाको सहयोगमा विद्यालयले वालविकास केन्द्रमा प्रारम्भिक साक्षरता तथा गणितिय सिप विकास र कक्षा १ र २ मा नेपाली विषयलाई ९० मिनेट संचालन गरिरहेको छ । यस्तै परियोजनाले विद्यालयलाई वालमैत्री बसाइ व्यवस्थापन, शिक्षकहरुलाई तालिम र शिक्षक तथा विद्यार्थीको सहयोगमा विद्यालयको सुशासनमा सुधार ल्याउन विभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ ।