भ्रष्टाचार आरोपमा वडा अध्यक्ष निलम्वित


नगेन्द्र उपाध्याय

२५ जेठ सुर्खेत

सेवाग्राहीलाई स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने औषधि बिक्री गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भेरीगंगा नगरपालिका–१२ का वडा अध्यक्ष निलम्वनमा परेका छन् ।

भेरीगंगा नगरपालिका–१२ को छिन्चु स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष हरिप्रसाद कँडेल र स्वास्थ्य चौकीका इन्चार्ज नेत्रप्रसाद देवकोटाले सरकारले निःशुल्क उपलब्ध गराएका औषधि सेवाग्राहीलाई नदिएर नक्कली विलका आधारमा ५० हजार पाँच सय ८० रुपियाँ भ्रष्ट्राचार गरेको ठहरसहित अख्तियारले जेठ १० गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

‘सेवाग्राहीले स्वास्थ्य चौकीबाट निःशुल्क रुपमा पाउनुपर्ने औषधि र अन्य सेवन–सुविधा सेवाग्राहीलाई उपलब्ध नगराई नक्कली तथा फर्जी विल भरपाईको आधारका ५० हजार पाँच सय ८० रुपियाँ भ्रष्ट्राचार देखियो’ अख्तियारले भनेको छ, ‘भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम विगो असुल उपर गरी कसुरको मात्रा हेरेर जरिवाना र कैद सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरेका छौं ।’ नागरिक न्यूजबाट