दिल्लीको मेदान्तमा भर्ना गरिएका राष्ट्रकवि घिमिरेले भने- ‘अब निको भएर फर्कन्छु’


जेष्ठ १०, नयाँदिल्ली — आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल ल्याइएका राष्ट्रकवि माधव घिमिरेले आफू निको हुनेमा ढुक्क रहेको बताएका छन् ।

राष्ट्रकविका छोरा इन्दिबर घिमिरेले उनलाई उद्धृत गर्दै भने, ‘बुबा ढुक्क हुनुहुन्छ, नेपालीहरु समेत थप उपचारका लागि आउने यति ठूलो अस्पतालमा आफ्नो समस्या पहिचान हुन्छ र आफू निको भएर फर्कन्छु भन्नुभएको छ।’
बिहिबार साँझ ६ बजे जेट एअरवेजको विमानबाट नयाँदिल्ली ल्याइएका राष्ट्रकवि घिमिरेलाई नयाँ दिल्लीको गुडगाँवस्थित मेदान्त अस्पतालको ११ तल्लामा रहेका ५१३२ नम्बरको ‘हाइ केयर युनिट’मा भर्ना गरिएको छ।

घिमिरेलाई एयरपोर्टबाट सोझै मेदान्त पुर्‍याइएको थियो। भर्ना लगत्तै उनको स्वास्थ्य परीक्षण पनि शुरु गरिएको छोरा इन्दिबरले बताए। उनका अनुसार बिहीबार राति करीब १२ बजे बसेको चिकित्सकहरुको आपत्कालिन बैठकले रक्तश्राव कहाँबाट भइरहेछ भन्ने पत्ता लगाउन इन्डोस्कोपी, क्लोनोस्कोपी र क्याप्सुल इन्डोस्कोपी गर्ने निर्णय गरेको थियो। त्यसका लागि नाकबाट पाइप छिराएर पेट र आन्द्रा सफा गर्ने प्रक्रिया शुरु गरिएको समेत उनले जानकारी दिए।

उच्च रक्तचाप र दिशामा रगत देखा पर्ने समस्या कारण विगत दुईसातादेखि घिमिरेको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार हुँदै आएको थियो। तर, सानो आन्द्राबाट नियमित रक्तश्राव हुने ठाउँ पत्ता नलागेकाले चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। ९९ वर्षीय राष्ट्र कवि घिमिरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय सरकारले गरिसकेको छ।

७ असोज १९७६ मा लम्जुङको पुस्तुन गाउँमा जन्मेका घिमिरेका चर्चित खण्डकाव्य गौरीलगायत स्वर किन्नरी, राष्ट्रनिर्माता लगायतका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्। शास्त्रीय छन्द शैलीमा कविता लेख्ने घिमिरे चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै ‘फूलको थुगाँ बगेर गयो’ र ‘आजै र राति के देखे सपना’ जस्ता कालजयी गीतका रचनाकार पनि हुन्। कान्तिपुरअनलाइनबाट