कर्णालीका विद्यालय र गाउँ सुनसान


जुम्ला :  कर्णालीको हिमाली क्षेत्र पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न यहाँका लाखौं स्थानीय पाटनतिर लागेका छन्। जेठ १ गतेबाट मुगु, डोल्पा र जुम्लाका यार्सा पाटन खुला गरिएपछि यस क्षेत्रका विद्यार्थीदेखि युवा÷युवती र वृद्ध÷वृद्धासम्म बच्चा बोकेर यार्सा संकलन गर्न पाटनतिर लागेका हुुन्। विद्यार्थीदेखि गाउँका सबै स्थानीय यार्सा टिप्न पाटन गएपछि यहाँका गाउँघर र विद्यालय सुनशान देखिन्छन्।

बेरोजगार व्यक्तिका लागि आर्थिक आम्दानीको मुख्य स्रोत मानिने यार्सागुम्बा संकलनका लागि ज्यानै जोखिममा राखी स्थानीय पाटनतिर लागेपछि कर्णालीका गाउँमा कोही मर्दा वा साह्रो–गाह्रो पर्दा सहयोग गर्नेको समस्या छ। तर, चिसो र भोकभोकै पाटनमा यार्सा संकलन गर्नु यहाँका स्थानीयको रहर नभई बाध्यताको सिजनल व्यापार हो।

कर्णालीका पाटनमा यार्सा संकलन गर्न सिंगो कर्णाली प्रदेशसँगै बजाङ, बाजुरा र अछामलगायत अन्य जिल्लाबाट पनि उत्तिकै भीड लाग्ने गर्छ। मुगुका पाटनमा मात्रै ३० हजारभन्दा बढी संकलनकर्ता प्रवेश गरेका छन्। त्यस्तै, जुम्लाका पाटनमा २० हजारभन्दा बढी र डोल्पाका पाटनमा लाखौं संख्यामा यार्सा संकलन गर्नेको भीड लाग्छ। कर्णालीका विद्यालय र गाउँ नै सुनसान पारी अधिकांश १२ देखि ५० वर्ष उमेर समूहका व्यक्तिले पाटनमा यार्सा संकलन गरिरहेका छन्।

कर्णालीका मुगु, डोल्पा, जुम्ला र हुम्लाका अधिकांश विद्यार्थी यार्सा टिप्न पाटन गएपछि उनीहरूको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय नै सुनशान भएका छन्। ‘यार्सा संकलनको समय दुई महिना विद्यार्थी विद्यालय नै आउँदैनन्। यसले वार्षिक परीक्षामा समेत असर परिरहेको छ। ऋणमोक्ष मावि डिल्लीचौर जुम्लाका प्रधानाध्यापक बलराज आचार्यले भने, ‘जति सूचना गरे पनि विद्यार्थी–अभिभावक मान्दैनन्, पछि पाठ्यपुस्तक सक्नै मुस्किल पर्छ।’

विशेष गरी जिल्लाको अन्य क्षेत्रको तुलनामा पातारासी गाउँपालिकामा रहेका विद्यार्थी पाटन गएपछि पठनपाठन बढी प्रभावित भएको छ। बर्सेनि पठनपाठन प्रभावित गरी यस क्षेत्रका विद्यार्थी पढाइ छाडेर यार्सा संकलनका लागि पाटनतिर जाने समस्या बढ्दै गएकाले आगामी वर्षमा विद्यार्थीलाई बाहिर जान नदिनका लागि गाउँपालिका केही वैकल्पिक उपायको खोजी रहेको पालिका अध्यक्ष लछिमन बोहराले बताए। अन्नपूर्णबाट