अनुदानको चामल बीच बाटोमै बिक्री, गोदाम रित्तो


व्यापारी भन्छन् ’सेटिङ मिलाएर काम गरेको हूँ’


रमेश रावल
फागुन १८, कालिकोट

नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्रि हुनु पर्ने चामल बीच बाटोमा नै बिक्रि गर्ने गरेको पाइएको छ । नेपाल खाद्य संस्थान डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पु डिपोमा नौँ सय २० रुपैयाँमा बिक्रि गर्नु पर्ने बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिदार्थ ढुवानी सेवाले पचालझरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमा बिक्रि हुने गरेको छ ।

चालु आर्थिक वर्षको हालसम्म ६९९ क्वीन्टल ८० केजी ढुवानी भएकोमा सबै बीच बाटोमा नै बिक्री भएको पाइएको छ । ठेकेदारहरुले बढी मूल्यमा बीच बाटोमा चामल बेच्दा डिपो भने रित्तै छ । स्थानीय ब्यापारीसँगको मिलेमतोमा पचालझरना गाउँपालिकाको जारकोटबाट एक हजारसम्म संस्थानका ठेकेदारहरुले बिक्रि गर्ने गरेको स्थानीय सिकुका जौन विकले बताउनुभयो । ‘जारकोटमा खाद्य संस्थानको डिपो छैन । खाद्य संस्थानले त्यहीबाट दिने गरेको सुनेर म जारकोटमा गएँ ’। उहाँले भन्नुभयोे, ‘१ हजार रुपैयाँ दिएको एक प्याक चामल र दुई प्याकेट चाउँचाउ चामल दिए ।’ ठेकेदारसँगको मिलेमतोमा पचालभरना जारकोटका स्थानीय व्यापारी बसन्त शाहीले जारकोट बजारमा चामल बिक्री गर्दै आएका छन् । उनलाई विशाल निर्माण सेवा र सिदार्थ ढुवानी सेवाले बिक्री वितरणको जिम्मा दिएका हुन् । नेपाल खाद्य संस्थान कालिकोटले दुई वटा र्फम चामल ढुवानीका लागि ठेक्का स्वीकृत गरेको थियो । विशाल निर्माण सेवा कालिकोटले जिल्लाको सदरमुकाम मान्मदेखि पलाँता गाउँपालिकाको थिर्पु डिपोसम्मको चामल ढुवानी जिम्मा पाएको छ । त्यस्तै सिदार्थ ढुवानी सेवा सुर्खेतले सुर्खेतदेखि थिर्पु डिपोसम्म संस्थानको चामल ढुवानी जिम्मा लिएको छ । विशाल निर्माण सेवाका प्रतिनीधि निलो तिरुवाले ६९९ क्वीन्टल, ८० किलोग्राम पहिलो किस्तामा ढुवानी गरेर बिक्रि गरिसकेका छन् । सिद्धार्थ ढुवानी सेवाका प्रतिनीधि कमल गुरुङले ७९९ कुइन्टल ८० किलो चामल ढुवानी गरेर बिक्री गरिसकेका छन् ।
थाहै छैन संस्थानलाई ।
व्यापारी बसन्त शाहीले खाद्य संस्थानलाई समेत छलेर चामल बिक्री गर्ने गरेको आरोप लगाएका छन् । नेपाल खाद्य संस्थान शाखा कालिकोटले चामल ढुवानीका लागि गत मंसिरमा ठेक्का आह्वान गरेको थियो ।
नेपाल खाद्य संस्थानलाई आपुर्ति मन्त्रालयले तोकेको बिक्री मूल्य भन्दा धेरै रुपैयाँले चामल बिक्री गरेको बारे नेपाल खाद्य संस्थान शाखा कार्यालय बेखवर रहेको छ । नेपाल खाद्य संस्थान कालिकोटका प्रमुख छक्कु आचार्यले आफु जिल्लामा भर्खरै आएकाले ठेकेदारले के गरे भन्नेबारे थाहा नभएको बताए । ‘थिर्पु डिपोका लागि भर्खरै सुदर्शन प्रसाईलाई डिपो प्रमुखको रुपमा खटाएको छु ।’ शाखा प्रमुख आचार्यले भने,‘कर्मचारी अभावका कारण डिपोमा समयमा कर्मचारी खटाउन नसकिएको छैन ।’
शाही भन्छन् ’सेटिङ मिलाएर काम गरेको हूँ’ ।
व्यापारी शाही भने सेटिङ मिलाएर काम गरेको बताउछन् । ९ सय २० रुपैया पर्ने चामलमा १ हजार रुपैयाँ लिनुको कारण आफुले ८० रुपैयाँ बापतको नगद नभई चाउचाउ दिएको व्यापारी उनले बताए । ‘मैले सबै सेटिङ मिलाएर बिक्रि गर्ने गरेको छु ।’ उनले भने,‘तपाईले सोध्नुको कुनै अर्थ छैन ।’