प्रदेश नम्वर ६ कै जुम्लामा बन्यो ठूलो अस्पताल


हरिकृष्ण कुमाई, जुम्ला
माघ २
जुम्लामा प्रदेश नम्वर ६ कै ३ सय शैय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश नम्वर ६ कै ठूलो आयोजनामा अस्पताल जुम्लामा निर्माण भएको हो । ७६ करोड रुपैयाँको लागतमा अस्पतालको भवन पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँदै । केही उपकरण जडान र सरसफाइका कार्य अहिले जारी रहेकाले १५ माघबाट कम्पनीले अस्पताल हस्तान्तरण गर्ने र सोही दिनमा अस्पतालको उद्घाटन गरी सेवा विस्तार गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए ।

अत्याधुनिक सुविधा सम्पन्न सेवा प्रवाहमा प्रतिष्ठान हर सम्भवमा जुटिरहेको पनि रजिष्टार काफ्लेले जिकिर गरे ।
प्रतिष्ठान प्रदेश नम्वर ६ कैे चिकित्सा क्षेत्रमा आधुनिक, पहिलो र ठूलो अस्पताल बनेको हो । अस्पताल ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी रसुवा कन्ट्रक्सन कम्पनीसँग सम्झौता भएको र तोकिएको मिति भित्रै निर्माण कार्य सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार काफ्ले बताए ।

अहिले प्रतिष्ठानले १ सय शैय्याको अस्पताल, १७ जना विशेषज्ञ डाक्टरसहित १ सय ५० जना जनशक्तिले सेवा प्रवाह गर्दै आएका छन् । गतवर्ष २९ हजार ९ सय ३४ जना विरामीले अस्पतालबाट सेवा लिएको र जसमध्ये २ हजार ४ सय ९१ जनाको ठूलो शल्यक्रिया गरिएको थियो ।

त्यसैगरी विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा सुरु, स्टाफ नर्स चौंथो र हेल्थ असिष्टेन्ट तेस्रो व्याज सञ्चालन गरिहेको र ‘ऐनले व्यवस्था गरे बमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएको र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यमा अनुसन्धान गरिरहेकोे रजिष्टार काफ्लेले जानकारी दिए ।

प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा प्रभावकारी सञ्चालन गरिरहेको अवस्थामा स्वास्थ्यमा अनुसन्धान गरिरहेको प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले बताए ।

प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्यांक लिएर तथ्यांक अनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

सिनेट बैठक उपलब्धिमूलक

प्रधानमन्त्री अध्यक्षता रहेको प्रतिष्ठानको सिनेट बैठक उपलब्धिमूलक हुदै गएको छन् । २ वर्षम्म सम्पन्न हुन नसकेको सिनेट बैठकमा बहुसरोकारको स्थानीयवासीले निःशुल्क दिएको १ हजार ५ सय रोपनी जग्गा पास गराउन पहल गर्ने निर्णय भएको छ । त्यसैगरी स्वास्थ्य शिक्षाको ब्याचलर अफ मिडवाफ्री सञ्चालन गर्ने, ६ नं प्रदेशमा विशेषज्ञ सेवा शुरु गर्ने, बहिरंग विभाग सञ्चालन गर्ने जस्ता महत्वपूर्ण निर्णय भएको र नेपालगञ्जबाट आपूर्ति गर्दै आएको अक्सिजन प्लान्ट र ब्लड बैंक जुम्लामा पनि व्यवस्था गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।

आवश्यक उपकरण नहुँदा उपचारमा समस्या

२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक उपकरण नहुँदा उपचारमा तत्कालिन अवस्थामा चुनौति देखिएको छ । प्रतिष्ठानमा सिटीस्क्यान, आसियु, एमआरआई मेसिन लगायतका मेसिन नहुँदा उपचारमा समस्या भएको हो ।

सिटीस्क्यान र आइसियु मेसिन खरिद गर्नको लागि झण्डै ३ करोड रुपैयाँ आवश्यक पर्ने भएको र अस्पतालको लगानीमा खरिद गर्न नसक्ने भएकोले सरकारसँग माग गरिएको प्रतिष्ठानका रजिष्टार काफ्लेले बताए ।

पहिलो गासमै ढुङ्गा

पहिलो गाँस मै ढुङ्गा भने झै प्रतिष्ठानले प्रगति गर्दै गरेको अवस्थामा ओपिडि कक्ष पुरै ध्वस्त हुने गरी २०७२ पुस ३ गते आगलागी भएको थियो । आगलागी भएको २ बर्ष वितिसक्दा पनि अझैसम्म अनुसन्धानको प्रतिवेदन सार्वजनिक र दोषीलाई कारवाही हुन सकेको छैन । प्रतिष्ठानमा २०७२ पुस ३ गते राती २ बजे अज्ञात समुहद्वारा आगजनी गरिएको थियो ।

प्रतिष्ठानको प्रयोगशाला, एक्सरे, अल्ट्रा साउण्ड, डेण्टल, फार्मेसी, इण्डोस्कोपी सहित महत्वपूर्ण उपकरण र अन्तरंग विभाग नै पूर्णरुपले ध्वस्त भएका थिए । प्रतिष्ठानमा आगजनी किन र कसले गरेको हो भन्ने विषयमा केन्द्रीय अनुसन्धन व्यूरो (सिआईबी)ले अनुसन्धान गरेपनि अहिले सम्म दोषी पत्ता लगाएर कारवाही हुन सकेको छैन । प्रतिष्ठानमा आगजनी भएको अवशेष अझै पनि उस्तै अवस्थामा रहेको छ ।